समाज

१२ वर्षीया बालिका बलात्कृत, ३ महिनाको गर्भ रहेको खुलेपछि बाहिरियो घटना

सुभाष कर्ण |
असार २५, २०८० सोमबार २१:११ बजे

सांकेतिक तस्बिर

जनकपुरधाम- धनुषामा एक १२ वर्षीया बालिकाको बारीमा गएका बेला बलात्कार भएको घटना बाहिरिएको छ । 

गत वैशाख १७ गते जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१ मुसरिटोलस्थित आफ्नै बारीमा गएकी स्थानीय बालिकालाई सोही ठाउँ बस्ने ३२ वर्षीय महेश साहले मुख बाँधेर बलात्कार गरेको घटना बालिकाको पेटमा ३ महिनाको गर्भ रहेपछि बाहिरिएको छ ।


बालिकाको पेटमा ३ महिनाको बच्चा हुँदा घटना बाहिरिएपछि आरोपित युवक फरार भएका छन् । आफ्नै बारीबाट आउँदै गरेका बेला बालिकालाई महेशले जबर्जस्ती मुख छोपेर बलात्कार गरेको पीडित पक्षले प्रहरी समक्ष दिएको जाहेरीमा भनिएको छ । महेशले घटनाबारे कसैलाई बताए घरपरिवारसहित सबैलाई ज्यान मार्ने धम्की दिएपछि अहिलेसम्म कसैलाई नभनेको पीडित बालिकाले बताएकी छिन् । 

पीडित पक्षले घटनाबारे इलाका प्रहरी कार्यालय सबैलालाई जानकारी गराउँदै मद्दत नगरेको आरोप लगाएका छन् । फरार रहेका साहलाई पक्राउ गर्न सबैला प्रहरीलाई निरन्तर पीडितले सम्पर्क गरे पनि राजनीतिक दबाबमा उनलाई पक्राउ नगरिएको पीडित परिवारको गुनासो छ । इलाका प्रहरी कार्यालय सबैलामा ती युवकमाथि जबर्जस्ती करणीको जाहेरी दिए पनि कुनै चासो नलिइएको गुनासो पीडित पक्षको रहेको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले अनुसन्धान भइरहेको बताउँदै पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएका छन् । इन्स्पेक्टर देवकोटाले फरार युवकको खोजबिन जारी रहेको समेत बताए । 

यता, घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले पनि अनुसन्धान थालिएको र फरार युवकलाई पक्राउ गर्न प्रहरी खटाएर खोजी कार्य तीव्र पारिएको जनाएको छ । बालिकाको पेटमा रहेको बच्चालाई इलाका प्रहरी कार्यालय सबैलाको रोहबरमा गर्भपतन गराइएको पीडित परिवारको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x