समाज

पहिला रामजी राम अहिले डाक्टर रामजी राम

सदिक्षा आचार्य |
जेठ २४, २०८० बुधबार १९:३६ बजे

काठमाडौं– जेठ १९ मा नेपाल मेडिकल काउन्सिलको नतिजा सार्वजनिक भयो । यो नतिजा सार्वजनिक हुँदा सबैभन्दा खुसी भए रामजी राम । रौतहट, इनरूवाका रामजी रामको डाक्टर बन्ने सपना साकार हुन धेरै वर्ष लाग्यो । यो बीचमा उनले लाइसेन्स लिन गरेको संघर्ष स्वयं उनैलाई मात्र थाहा छ । 

उनी हुर्किदैं गर्दा नेपालमा चरम जातीय विभेद थियो । जसकारण उनका बुवाले पढ्न पाएनन् । बुवाले आफू पढ्न नपाएपछि छोरालाई भने जसरी पनि पढाउने सपना बुनेका थिए । त्यही बुवाको सपनालाई मैले आफ्नो सपना बनाएर पछ्याएँ,’ उनले भने, ‘उहाँले आफूले कहिल्यै नटेकेको स्कुलको ढोका मेरा लागि खुला गरिदिनुभयो ।’


तर, स्कुलको यात्रा कम चुनौतीपूर्ण थिएन । पढेर के गर्छौ ? भन्नेहरू प्रसस्तै थिए । जवाफमा उनी भन्थे– यो मेरो बुवाको सपना हो । 
उनका साथीहरू माछा मार्न जाँदा रामजी भने स्कुलतिर लम्किन्थे । उनी पढाइमा निकै अब्बल थिए । दुई कक्षादेखि उनी सधैँ प्रथम भए । दुई कक्षामै हो उनले पहिलो पटक नयाँ लुगा लगाएको ।

त्यसताका रामजीका साथीहरू पञ्जाबमा पुगेर धान रोप्ने-काट्ने सपना देख्थे । तर, उनमा भने पढेर केही बन्ने हुटहुटी चढिसकेको थियो । ‘तर, स्कुलमा पनि दलित भएकै कारण साथीभाइ र शिक्षकबाट नमिठो वचन सुन्नुपर्थ्याे ,’ उनले सुनाए ।

रामजीकी दिदीलाई एक वर्षसम्म एउटा संस्थाले कापीकिताब जुटाउन मद्दत गर्थ्याे । त्यसैबाट रामजी पनि पढ्थे । एक वर्षपछि त्यो पनि बन्द भयो । उनीहरूलाई कहाँबाट कापी जुटाउने भन्ने चिन्ता हुन्थ्यो । उनी कहिले प्रथम हुँदा जितेको कापी चलाउँथे, कहिले स्कुलका प्रतियोगिताहरूले उनलाई पेन र रिफिल उपहार दिन्थ्यो । त्यही जित्नका लागि पनि उनी निकै मिहिनेत गर्थे ।  

उनलाई बुवाले पढाइमा प्रेरित गरे भने आमाको कामले डाक्टर बन्ने जोस चढ्यो । 

रामजीकी आमा गाउँका महिलालाई सुत्केरी गराउने काम गर्थिन् । उनको कामलाई सबैले स्वीकार्थे तर, उनीहरूलाई स्वीकार्दैनथे । ‘मेरी आमाले बच्चा जन्मिँदाको गोल्डन मिनेटमा निकै मेहनत गर्नुहुन्थ्यो,’ उनले भावुक हुँदै सुनाए, ‘नौ महिनासम्मको स्याहारलाई जोगाउने, प्राण भरिदिने काम गर्नुहुन्थ्यो । अहिले भए त्यो काम डाक्टरको हो । तर, काम सकिएर बच्चा सुम्पिएपछि आमा अछुत बन्नुहुन्थ्यो । उहाँलाई चमार भनेर अपमानजनक व्यवहार गरिन्थ्यो ।’

सानैदेखि यस्तो वातावरणमा हुर्किएका रामजी र उनका थुप्रै साथीहरू भने परिवर्तन चाहन्थे । सबैको हेपाइले उनीहरूको मस्तिष्कमा एकदमै नराम्रो असर परिसकेको थियो । रामजीसँग सानो बेलाको एउटा अनुभव छ । कलमा पानी खान जाँदाको । त्यसताका घरैपिच्छे कल थिएनन् । गाउँको कल प्रयोग गर्नुपर्थ्याे । त्यहाँ लाइन बस्दा कुन जातको हो ? भनेर सोधिन्थ्यो । ‘तिर्खा लागेको मान्छे पानी खान जाँदा समेत जातले राकिन्थ्यौँ,’ उनले आफ्नो जीवनका तिता अनुभव इकागजलाई सुनाए, ‘देशलाई जताततै जातको रोग लागेको थियो÷छ ।’

जातको रोगलाई रामजी राम नदेखिने रोग भन्छन् । उनलाई लाग्छ, शरीरको रोग त पत्ता लाग्छ, निको पनि हुन्छ । तर, समाजमा छ्यापछ्याप्ती देखिएको यो जातको रोग निको हुने छाँटकाँट उनी देख्दैनन् । 

उनीसँग इकागजका लागि गरिएकाे कुराकानीः

डाक्टर बन्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ? 

मलाई डाक्टर बन्न धेरै कुराले प्रेरणा मिलेको छ । डाक्टर बन्ने सपना देख्नु मेरा लागि असमान्य थियो । त्यो असामान्य सपना साकार गर्न धेरैले मेहनत गर्नुपरेको छ । मलाई आमाको कामले, बुवाको करले, अभावले, समाजले प्रेरणा दिएको छ । 

नतिजा आउनेबित्तिकैै के सोच्नुभयो ? 

आधिकारिक रूपमा डाक्टर भएर काम गर्न पाउने भएँ भन्ने लाग्यो । अब मैले बोलेको कुराले महत्व पाउने भयो जस्तो लाग्यो । डाक्टरले भनेको भनेर मेरो कुरामा ‘भ्यालू एड’ हुने भयो, खुसी लाग्यो ।

सुरुमा कसलाई सुनाउनुभयो ?

घरमा फोन गरेको थिएँ । तर आमा खेतमा जानुभएको रहेछ । बुवा पनि घरमा नभएको बेला परेछ । दिदीलाई सुनाएको थिएँ, उहाँ निकै खुसी हुनुभएको थियो । 

नतिजा हेर्दा भारी बिसाएको जस्तो पो लाग्यो कि ? 

होइन । भारी बिसाएको जस्तो भन्दा पनि यसलाई मैले ठूलो उपलब्धीको रूपमा लिएको छु । अर्को एउटा खुड्किला उक्लिएँ भन्ने लागेको छ । 
हामीले बाहिरी संसारसँग होइन, आफैँसँगै प्रतिस्पर्धा गर्ने हो । परीक्षामा आउने नजिता नै सर्वेसर्वा हुँदैन । आफू खुसी हुनुपर्छ, आफ्ना उपलब्धीहरू सेलिब्रेट गर्नुपर्छ । परिवारलाई भरोसा दिलाउनुपर्छ । त्यस्तै जीवनमा साथी संगत पनि उत्तिकै महत्वपूर्ण छ । मेरो दुईजना साथीको भरोसाले म यहाँ छु । उनीहरूले तिमी सक्छौ भनेर मलाई आडभरोसा दिए । 

अब म सक्दिँन भनेर पछाडि हटेको, पाइला सारेको अवस्था आयो जीवनमा ? 

पैसाका कारण डाक्टरी यात्रा पुरा गर्न सक्दिनँ कि भन्ने लाग्यो । मलाई पढ्नै दिँदैनन् कि भन्ने डर पनि थियो । बुवाले किन पढाएको होला, किन सपना देखाएको होला जस्तो पनि लाग्थ्यो । तर, पनि अगाडि बढिरहेँ ।

आधिकारिक रूपमा डाक्टर हुनुभएको छ, अबको बाटो के त ?

दुई वर्ष सरकारले जहाँ पठाउँछ त्यहाँ जान्छु । उनीहरूले दिएको काम, कर्तव्य, अधिकारभित्र बस्छु । सरकारले दिएको सुविधालाई उच्चतम प्रयोग गरेर सेवा दिने सोच छ । गरिरहेको कामलाई फरक ढङ्गले कसरी हेर्न सकिएला भन्नेमा मेरो ध्यान केन्द्रित छ । सबैको सहकार्यमा मात्रै काम गर्न संभव हुन्छ । स्वास्थ्यसँगै शिक्षामा पनि केही गर्न सकिएला कि भनेर सोचिरहेको छु । मैले दुखेको सपनाले मेरो समाजका कैयौँ समस्या समाधान हुँदै गएका छन् । समाज भनेको व्यक्ति–व्यक्ति मिलेर बन्ने हो । मलाई समाजले सबैथोक दिएको छ । म सबै समाजलाई नै समर्पण गर्छु । 

त्यसबारे थप केही बताउनुहुन्छ कि ? 

म जन्मिएको समाजमा अशिक्षाको रोग छ । ती रोगलाई निर्मुल गर्न मन छ । सरकारले डोम, वादी, मुसहर, चमारलाई छात्रवृत्ति दिएको छ । मैले सरकारले लगाएको गुण तिर्नु छ । सकेसम्म मान्छेका हितका लागि काम गर्ने मन छ । मेरो व्यवहार र बोलीले कसैको अहित नहोस् भन्ने छ । 

समग्रमा के भन्न चाहनुहुन्छ ?

सरकारले सरकारले डोम, वादी, मुसहर,चमारलाई डाक्टर पढ्न छात्रवृत्ति दिएको छ । तर, यो मात्रै पर्याप्त छैन । विद्यालय तहमा पनि उनीहरूलाई सहयोग गर्नुपर्छ । उनीहरूका के–कस्ता जटिलताहरू छन् हेरिदिनुपर्छ । खानलाई खाना छ-छैन, पढ्नलाई किताब कापी छ/छैन पनि विचार गर्नुपर्छ ।
 


Author

थप समाचार
x