समाज

यो मेरो अन्तिम लडाइँ हो, कि न्याय दिलाएर बाँच्न देऊ होइन भने मर्न देऊ : विनु यादव

सदिक्षा आचार्य |
जेठ १०, २०८० बुधबार २०:३९ बजे

काठमाडौं – माइतीघर मण्डलामा आफ्ना ६ बुँदे मागसहित आन्दोलनरत सोलुखुम्बुकी विनु यादवको आन्दोलनको आज १५ औँ दिन हो । वैशाख २७ देखि सुरु भएको अन्सनसहितको सत्याग्रह अझै कति दिन लम्बिने हो थाहा छैन् ।

७ वैशाखमा २०७९ भएको जिल्ला अदालतको फैसलाविरुद्ध उनी निरन्तर आन्दोलनमा छिन् । कहिले उनको आन्दोलनले रातो रंग बोल्छ त कहिले मौनता । हाल उनको सत्याग्रहले अनसनको बाटो रोजेको छ । जुन बाटोमा हिँड्दा उनलाई भोकले रोकेन, तिर्खाले रोकेन, असिनापानीले रोकेन, रजस्वलाले पनि रोकेन । विनु भन्छिन्, ‘रजस्वलाको पीडालाई मनको पीडाले छाँया पारिदिने रहेछ, अन्नको भोकलाई न्याय प्राप्तिको भोकले जित्ने रहेछ ।’ 


उच्च अदालत पाटनमा मंगलबार न्यायाधीश सुवास पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासमा उनको मुद्दाको सुनुवाइ भयो । यसअघि जिल्ला अदालत रामेछापले सम्बन्ध विच्छेद गर्नुपर्ने माग लिएर गएका विनुका श्रीमान् प्रदीप कठायतको मागलाई सदर गर्दै निवेदककै पक्षमा निर्णय गरेकोमा उच्च अदालत पाटनले भने उक्त निर्णय उल्टाएर सम्बन्ध विच्छेद गर्नुपर्ने कुनै यथेष्ट कारण नभएको भन्दै सुरु अदालतको निर्णय उल्टाएको हो । उक्त फैसलाले विनुको सत्याग्रहमा आशा त थपेको छ तर विनुको न्याय प्राप्तिको लडाईमा भने कत्ति पनि हलचल ल्याएको छैन । 

यसअघि जिल्ला अदालतले गरेको सम्बन्धविच्छेदको निर्णयलाई सहन नसकेर उनले इजलासमा नै विष पिएकी थिइन् । 

पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित उनी महिला हिंसाविरुद्ध १६ दिने अभियानको बेला आफूमाथि परेको हिंसा दर्शाउन सर्वाेच्च अदालत पुगेर रातो रंग छेपेकी थिइन् । 

बढ्दो अनसन, आश्वासन र सत्याग्रह

अनसन बसेको पाँचौँ दिनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी श्याम उपाध्याय आएका थिए । गृहमन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसमेत आएर उनलाई भेटे । एसपी गोविन्द पुरी लगायतका व्यक्तित्व आएर भेटेका थिए । आन्दोलनको १२औँ दिनमा सहायक प्रमुख जिल्ला अधिकारीसमेत आएर भेटेका थिए । तिमीलाई के भयो, कसरी भयो भनेर उनीहरूले विनुको कहानी सुरुदेखि बुझेर गए । ‘बारम्बार हुने कुरा भनेको अनुसन्धानको कुरा अगाडि बढाउँछु भन्ने मात्रै हुन्छ बाँकी उपलब्धी शून्य छ’ विनुले भनिन् । उच्च अदालत पाटनले अदालतको निर्णय उल्टाएपछि पनि विनुका कदम भने अझै डग्मगाएका छैनन् । आज अनसनको १५औँ दिनमा पनि उनी उही माइतीघर मण्डलाको सडकमा आफ्नो लागि न्याय माग्दै छिन् । भोकै, टन्टलापुर घाममा, निरन्तर वर्षमा, हावामा र हुरीमा ।  

के कस्ता आश्वासन आए ? 

विनु यादवलाई अनसनको पाचौँ दिनदेखि आश्वासनका ओइरो आए । छानबिन आयोग गठन गरेर अनुसन्धान गर्छौँ भन्नेदेखि लिएर आफ्नै चेलीबेटी सरह नै हो हामी सहयोग गर्छौँ भन्नेसम्मका आश्वासन आएका छन् । अनुसन्धान भएपछि के कस्तो प्रक्रिया अपनाउनुपर्ने हो हामी सबै गर्न तयार छौँ भनेको समेत विनुले सुनेकी छन् । तर  महसुस गर्न पाएकी छैन ।

उच्चको निर्णय विनुकै पक्षमा आएपनि उनको अडान भने यथावत नै छ । अनुसन्धान प्रक्रिया अगाडि नबढेसम्म अनसनस्थलबाट नहट्ने बताएकी छिन् । भन्छिन्, ‘विभिन्न निकायबाट अनसन रोक्न भन्दै हुनुहुन्छ तर म मेरा यी अडानहरूमा स्पष्ट छु ।’

अनसन क्रममा बिनुको अवस्था कस्तो छ ? 

बिनु भन्छिन्, ‘बिहान फ्रेस छु, दिउँसो बोल्नै नसक्ने स्थिति आउँछ’। ‘दिनमा पाँच बोतल सलाइन पानी लगाएर बसेको छु’, उनले भनिन्, ‘एकदमै गाह्रो हुन्छ, सलाइनमा गुल्कोज हालेर कति दिन बस्ने ?, उहाँहरूको आश्वासन मात्रै भयो ।’ आश्वासन पनि जहिले अनुसन्धानको मात्रै हुने र बाँकी केही कुरा पनि अगाडि नबढेको बिनुले बताइन् । 

सरकारले न्याय दिन आनाकानी गरेर तमासा बनाएको विनुको गुनासो छ । 

‘उहाँको अनुसन्धान कहिले अगाडि बढ्छ ? आज १५ दिन भइसकेको छ ’, उनले भनिन्, ‘मेरा ६ बुँदे माग छन् । कि भने यी मागहरू पुरा हुँदैनन् कानुनसम्मत नै छैनन् भन्न पर्यो, होइन भने बलात्कार जस्तो जघन्य अपराधको मुद्दामा सरकारले गम्भीरतापूर्वक केही त कदम अगाडि बढाउन पर्‍यो ।’ 

‘कति सजिलै वीर अस्पतालमा बस, त्यही गर अनसन भन्ने मान्छेहरू छन्’, , उनले भनिन्, ‘मलाई यिनीहरूले गंगा चौधरी जस्तै बनाउने भए ।’

विनुका मागहरू के कस्ता छन् ?

विनुका छ बुँदे मागहरू छन् । २०७५मा जबरजस्ती करणीको उजुरी फिर्ता गर्न लगाएको भन्दै पहिलो बुँदामा उनले तत्कालीन डिएसपी सुरज कार्की र आफ्नै श्रीमान् प्रदीप कठायतसमेतलाई कारबाही गरि पाउँ भनेकी छिन् । 

उनले बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र र प्रपञ्च रचेको र इच्छा विपरीत मिलापत्रको कागजसमेत पढ्नै नदिएर सम्बन्ध विच्छेद गर्न लगाएको भन्दै न्यायाधीश बद्रीप्रसाद ओलीसमेतलाई कारवाही गरि पाउँ भनेर उनले जिकिर गरेकी छिन् । जसमा ओली वर्खास्त समेत भएका छन् । 

साथै उनले आफ्नै काका ससुरा पवन कठायतले आफूलाई पटकपटक बलात्कारको प्रयास गरेको भन्दै उनी माथि पनि कारबाहीको माग गरेकी छिन् । 

उनले रामेछाप जिल्ला अदालतबाट बलात्कारीले सफाई दिएको भन्दै तत्कालीन न्यायाधीश इन्दिरा शर्मासमेतलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग राखेकी छिन् । त्यसैगरी यस मुद्दामा सुरुदेखि नै अनुसन्धान गरिनुपर्ने कुरामा उनको जोडदार माग रहेको छ । 

विनुले आन्दोलन सुरु गरेपछि काठमाडाैंमा लगातार हावाहुरी, असिनापानी समेत परेको थियो । त्यो घाम, पानी, हुरी नभनेरै विनु न्याय र मात्रै न्यायका लागि लडेकी छिन् ।। उनी त्यहाँका दुईचार रूखहरूका सहारामा घामपानी हावाहुरीसहित सत्याग्रह गर्न बाध्य छिन् । 

राष्ट्रिय मानवअधिकार आयोग के गर्दैछ ? 

राष्ट्रिय मानवअधिकारको टोली सोमबार अर्थात् अनसनको १३औँ दिन विनु यादवको सत्याग्रहस्थल माइतीघर पुगेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले बुधबार विनु यादवको अनसनको विषयलाई लिएर विज्ञप्ति आउने बताएका छन् । 

राष्ट्रिय महिला आयोग के गर्दैछ ?  

जेठ नौ गते राष्ट्रिय महिला आयोगबाट विनुलाई भेट्न भनेर सावित्रा कुमारी शर्मा पुगेको प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन् । आयोगकी सदस्य सावित्रा शर्मा भने विनुको अनसनको अडान रहेको र आयोगले उनकै वकिललाई अन्य कुराको जिम्मा लगाएको र कुनै ठोस निष्कर्ष आइ नसकेको बताएकी छिन् । 

जेठ नौ गतेको उच्च अदालतको निर्णय स्वागतयोग्य छ । जेठ १० गतेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद हर्कमाया विश्वकर्माले विनु यादवका लागि न्याय दिनुपर्ने भन्दै आफ्ना भनाई राखिन् ।
 


Author

थप समाचार
x