समाज

पढ्नलाई उमेरले छेकेन रत्नकुमारीलाई : ८० मा १२ कक्षाको परीक्षा

सृजना खड्का |
बैशाख २८, २०८० बिहिवार १२:४२ बजे

मंगलबार बिहान आठ बज्नै लाग्दा लठ्ठी टेक्दै कोटेश्वर बहुमुखी क्याम्पसको गेटभित्र एकजना वृद्धा छिरिन् । नाति उमेरका एक युवाले उनलाई डोर्‍याउँदै क्याम्पससम्म ल्याएका थिए । यो दृष्य नियालिरहेका क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले सोचे– वृद्धा १२ कक्षाको परीक्षा दिने नातिलाई पुर्‍याउन आउनुभएको होला । 

बूढी मान्छे कलेजसम्म आएको देखेर कार्कीले मनमनै ‘चिया खुवाएर पठाउनुपर्ला’ भन्ठाने । तुरुन्तै क्याम्पस सहयोगीलाई बोलाएर वेटिङ रूममा राख्न अह्राए । तर, वेटिङ रुममा बसिरहेकी उनी छटपटाउन थालिन् । ‘मलाई यहाँ किन राखेको?’ केही बेर कुरेपछि उनले थाम्न सकिनन् ।


क्याम्पस प्रमुखले ‘चिया खाएर जानुहुन्छ कि’ भनेर रोकेको बताए । यो सुनेर वृद्धाले आत्तिँदै भनिन् ‘म कहाँ चिया खान आएको हो त, म त जाँच दिन पो आएको’ भन्दै झोलाबाट इन्ट्रान्स कार्ड निकालेर देखाइन् ।
जसमा लेखिएको थियो, 

नामः रत्नकुमारी सुनुवार  
जन्मः २००१/०८/०१
क्याम्पसः बानेश्वर क्याम्पस, शान्तिनगर काठमाडौँ
संकायः मानविकी
विषयः नेपाली, अंग्रेजी, सामाजिक शिक्षा, ग्रामिण विकास, समाजशास्त्र र आम सञ्चार ।

कोटेश्वर क्याम्पस प्रमुख कार्कीलाई परीक्षाको एकदिन अगाडि– एकजना वृद्धा आमा हुनुहुन्छ, लेखन सहयोगी राखिदिनु होला भनेर बानेश्वर क्याम्पसबाट पत्र आएको थियो । उनले त्यो प्रस्ताव आउने बित्तिकै नकारेका थिए । ‘ज्येष्ठ नागरिक भएका हिसावले डिस्टर्ब नहुने ठाउँमा राखिदिन्छौँ, तातो–चिसो पानीको व्यवस्था गरिदिन्छौँ । तर, परीक्षा जसको हो उसैले लेख्नुपर्छ भनेर पठाएको थिएँ,’ उनले इकागजलाई सुनाए । त्यतिबेला उनले वृद्धा भनेको त्यही ५०–५५ वर्षको कोही होला भन्ने सोचेका थिए ।

तर, ७९ वर्षीया रत्नकुमारीको प्रवेशपत्र देखेर क्याम्पस प्रमुख कार्की आफैँ चकित परे । वृद्धाको शिक्षाप्रतिको मोह देखेर कार्की मनमनै नतमस्तक भए । ‘उहाँलाई तीन महिनादेखि खासै सन्चो रहेनछ,’ उनले भने, ‘सहयोगी नभई लेख्न सक्दिनँ भन्नुभयो । शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि, राष्ट्रिय परीक्षा बोर्डका प्रतिनिधि र म बसेर सल्लाह गर्‍यौँ । सम्बन्धित कलेजको सिफारिस पुनः मगायौँ र लेखन सहयोगी राखेर उहाँलाई परीक्षा दिन लगायौँ ।’

०००
बुधबार बिहान १०ः०० बजे कोटेश्वर कलेज पुग्दा रत्नकुमारी सहयोगी लोकेन्द्र शाहीलाई फटाफट प्रश्नको उत्तर बताइरहेकी  थिइन् । शाही उनले भनेअनुसार उत्तर पुस्तिका भरिररहेका थिए । सिम्बोल नम्बरअनुसार रत्नकुमारीको कोठा तीन तलामाथि पथ्र्यो । तर, सहजताका लागि उनलाई ग्राउन्ड फ्लोरको छुट्टै कोठामा राखिएको थियो ।

केही समयपछि परीक्षा सकेर उनी लठ्ठी टेक्दै लेखन सहयोगीको सहारामा कोठाबाट बाहिरिइन् । मिडियाका थुप्रै पत्रकार उनलाई कुरिरहेका थिए । उनी नेपाली विषयको जाँच दिएर निस्किएकी थिइन् । रत्नकुमारी बाहिर निस्किनेबित्तिकै पत्रकारदेखि प्राध्यापकहरू सबैले उनलाई एकैचोटी सोधे– परीक्षा कस्तो भयो त आमा ? उनले राम्रो भएको प्रतिक्रिया दिइन् ।

परीक्षा दिएर निस्किएपछि उनी गफिने मुडमा भने थिइनन् । तर बानीले बाध्य पत्रकारले प्रश्न गर्न भने छाडेनन् । सुरुमा उनले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी दिइन् । ‘मोतिबिन्दु भएर आँखा खासै देख्दिनँ,’ उनले भनिन्, ‘मुटुमा पनि प्वाल परेको छ । चक्कर लाग्ने, पेट पोल्ने भइरहन्छ । ६ महिना भयो घरमै सुतेर बसेको । जाँच दिनका लागि मात्रै यहाँसम्म लठ्ठी टेकेर आएकी हुँ ।’

रत्नकुमारीको पुख्र्यौली घर रामेछाप, बेताली हो । २०३६ सालमा बसाइँ सरेर उनीहरू कोटेश्वर आएका थिए । २० वर्ष नपुग्दै विवाह गरेकी उनको त्यसपछिको जिन्दगी डोको–नाम्लो, कुटो–कोदालो, लेक–बेसी, वस्तु र बालबच्चाको हेरचाहमा बित्यो । ‘तीनवटा छोरा, एउटी छोरीलाई पढाउनु/बढाउनु पर्‍यो,’ उनले सुनाइन्, ‘तैपनि, पहिला छोरीले पढ्यो भने पोइल जान्छन् भनेर पढाउने चलनै थिएन । महिलालाई कालो अक्षर भैँसी बराबर भनेर हेप्थे । त्यतिबेला मलाई अक्षर मात्रै चिन्न पाए पनि के–के न हुन्थ्यो जस्तो लाग्थ्यो ।’

२०५७ सालमा सबै घर–व्यवहार पार लगाइसकेपछि रत्नकुमारी फुर्सदिली भइन् । छोराछोरी जागिर गर्न, नातिनातिनी स्कुल पढ्न लागे ।  ५६ वर्षको उमेरमा उनलाई प्रौढ कक्षा पढ्ने जोश पलायो । त्यसबेला उनी कापी कलम बोकेर हिँडेको देख्दा धेरैले खिसी गर्थे । ‘यो उमेरमा लखर–लखर पढ्न हिँडेर के गर्छौँ’ भन्नेहरू धेरै थिए । ‘बुढेसकालमा पढेर जागिर खाने कि व्यवसाय गर्ने पनि भन्थे,’ उनले सम्झिइन्, ‘कतिले त पाकेको धानलाई पानी लगाएर के फाइदा, बुढेसकालमा खुरुक्क घाम तापेर बस्न छाडेर पनि भन्थे ।’

पढाइमा आफूलाई यसरी हतोत्साहित गर्नेलाई रत्नकुमारी भन्थिन्– म तिमीहरूजस्तो होइन, ओल्लो–पल्लो घर डुल्ने । छर–छिमेकका छोरी बुहारीको कुरा काट्ने । म त भोलि नै मर्ने रहेछु भने पनि एसएलसी दिएर मर्छु । केही समय प्रौढ कक्षा धाइसकेपछि उनले कोटेश्वर सूर्य क्लबमा ६ वर्ष पढिन् ।

त्यसपछि २०७४ सालमा तिनकुनेस्थित उत्प्रेरणा महिला माध्यमिक विद्यालयमा भर्ना भइन् । कक्षा ६ को विद्यार्थी बनेर । त्यहीँबाट उनले २०७८ सालमा एसईई दिइन् । एसईईपछि पनि पढाइप्रतिको उनको भोक मेटिएन ।

उनले बानेश्वर बहुमुखी क्याम्पसमा ११ कक्षामा भर्ना लिइन् । उनी स्वास्थ्यले साथ दिएका बेला क्याम्पस जान्थिन् । ‘नातिनातिनी उमेरका साथीहरू मलाई देखेर खुब खुसी हुन्थे,’ उनले भनिन्, ‘सर–मिसहरूले पनि धेरै हौसला दिनुभयो । घरमा पनि मेरो जोश देखेर सबैजना खुसी छन् । मेरो नाति पनि अहिले १२ कै परीक्षा दिइरहेको छ ।’

रत्नकुमारीलाई लेखनमा सहयोग गरिरहेका लोकेन्द्र शाही भर्खरै एसईई दिएर बसेका हुन् । उनी रत्नकुमारीलाई प्रश्न पढेर सुनाउँछन् । जे जवाफ आउँछ, उत्तरपुस्तिकामा त्यही लेखिदिन्छन् । परीक्षामा सहयोग गर्ने अवसर पाउँदा आफूलाई निकै खुसी लागेको शाहीले बताए । ‘बानेश्वर क्याम्पसमा मैले चिनेको एकजना दाइ हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले नै ८० वर्षकी आमालाई परीक्षामा लेख्न सहयोगी चाहियो भन्नुभयो । म फुर्सदमै भएकाले आमालाई सघाउने विचार गरेँ ।’

दुई दिनदेखि लोकेन्द्रको प्रश्न र रत्नकुमारीको जवाफको सिलसिला देखेर क्याम्पस प्रमुख कार्की बारम्बार आफ्नी आमालाई सम्झिन्छन् । ‘मेरी ८० वर्षकी आमा यत्तिको पनि खुट्टा टेक्न सक्नुहुन्न,’ उनले भने, ‘उहाँ यहाँ आएर जाँच दिइरहनुभएको छ । पढ्न छाडेर विदेश जान्छौँ भन्ने युवाहरूका लागि उहाँ एउटा उदाहरण हो । १२ कक्षा पास गरेर स्नातक पढ्ने इच्छा गर्नुभयो भने हाम्रो क्याम्पस उहाँलाई निःशुल्क पढाउन तयार छ ।’

रत्नकुमारीका उमेरका महिलाले विरलै पढ्न पाए । पढे पनि चुलोचौकोबाट टाढिन पाएनन् । ‘त्यो समय नै त्यस्तै थियो,’ उनले भनिन्, ‘तर, अहिले पढ्न पाएर पनि पढाइ छाडेरै विदेशिनेदेखि भने मलाई विरक्त लाग्छ ।’

उनले यो दुखेसो पोखिरहँदा परीक्षा सकिएको जनाउ घण्टी लाग्यो । कक्षाकोठाबाट हुरुरु विद्यार्थीहरू निस्किए । दोस्रो दिनको परीक्षा सकेर बाहिर निस्किरहेका विद्यार्थीहरू भनिरहेका थिए– कहिले १२ सकिएला र विदेश जान पाइएला । 

यता रत्नकुमारी भने हामीलाई भनिरहेकी थिइन्– नेपाल पनि विदेश भन्दा कम छैन । यहाँ नभएको चिज केही छैन । सुन, चाँदी, फलाम, पित्तल सबै छन् । निकाल्ने मान्छे मात्रै छैनन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x