समाज

चिप्लेकीरादेखि सावधान !

सृजना खड्का |
बैशाख २६, २०८० मगलवार ९:२८ बजे

लगातार खोकी लाग्ने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, खान मन नलाग्ने, तौल घट्दै जाने भएपछि रामेछापकी कविता खड्का उपचारका लागि काठमाडौँ आइन् ।

उनलाई यी लक्षण देखिएको करिब चार महिना बितिसकेको थियो । यसबीच उनले घरेलु उपचार गरिन् । स्वास्थ्य चौकीबाट औषधि ल्याएर पनि खाइन् । तर, स्वास्थ्य अवस्था ज्यूँका त्यूँ नै रह्यो । व्यथाले झन्-झन् च्याप्न थाल्यो । 


काठमाठौँ आएपछि सुरुमा उनी मध्यपुरथिमीस्थित नेपाल-कोरिया मैत्री अस्पताल पुगिन् । छातीको एक्स-रेमा फोक्सोमा पानी जमेको देखियो । रगतको रिपोर्ट पनि गडबड थियो । छाती रोग विशेषज्ञ डा. राजेश किशोर यादवले उनलाई क्षयरोग भएको शंका गरे ।

क्षयरोग हो/होइन थाहा पाउन उनी भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र पुगिन् । कवितालाई २५ वर्ष पहिला पनि क्षयरोग भएको थियो । त्यो बेला पनि अहिले देखिएका जस्तै लक्षणहरू देखिएका थिए । त्यसैले, पक्कै क्षयरोग नै होला भन्दै छातीको एक्स-रे र  खकार टेस्ट गर्न दिइन् । तर, केही दिनपछि क्षयरोगको रिपोर्ट नेगेटिभ आयो । यता अवस्था भने झन्-झन् नाजुक बन्दै गयो ।  

कविता फेरि केही उपाय लाग्ला कि भन्ने आशले डा. यादवकहाँ गइन् । आफूबाट थप उपचार नहुने भन्दै उनले रक्त रोग विशेषज्ञ (हेमाटोलोजिस्ट)लाई भेट्न सुझाए । रगतमा इन्फेक्सन देखिएकाले उनले ब्लड क्यान्सरको शंका गरेका थिए ।

‘ब्लड क्यान्सर सुन्नेबित्तिकै हामी सबैजना आत्तियौँ,’ कविताले सुनाइन्, ‘तैपनि, रोग पत्ता लाग्ने आशले हामी टिचिङ अस्पताल पुग्यौँ । त्यहाँ हेमाटोलोजिस्ट डा. अन्जन श्रेष्ठलाई भेट्यौँ । फेरि छातीको एक्स-रे र रगत जाँच गरायौँ । तर, रिपोर्टमा केही सुधार आएको थिएन ।’

रिपोर्टमा केही नदेखिएपछि हेमाटोलोजिस्ट डा. श्रेष्ठले कविताको विगत कोट्याउन थाले । उनले आफूलाई पहिला पनि एकपटक टिबी भइसकेको बताइन् । तर, अहिले जाँच गर्दा टिबी नदेखिएको पनि सुनाइन् । 

यत्तिकैमा उनका श्रीमान्‌ले डा. श्रेष्ठलाई साधे- डाक्टर साप उनको हात भाँच्चिएको थियो । कतै त्यही भाँच्चिएकै ठाउँबाट त इन्फेक्सन फैलिएन ? ‘हामीले त्यसो भन्ने बित्तिकै डाक्टरले ‘तपाईंले हात भाँच्चिदा गंगटो/चिप्लेकीरा केही खानुभएको थियो ?’ भनेर सोध्नुभयो,’ कविताले सुनाइन्, ‘मैले ए, चिप्लेकीरा त कति खाइयो-खाइयो भनेँ । मेरो कुरा सुनेर डाक्टरले हाँस्दै, ‘हो त्यसैले हो तपाईंलाई थलाएको’ भन्नुभयो ।’ 

ग्रामिण भेगमा चिप्लेकीरा र यसको फुल औषधिको रूपमा खाने चलन रहेको कविताले बताइन् । ‘चिप्लेकीरा खाँदा हाडजोर्नी दुखेको, चोटपटक लागेको ठीक हुन्छ भन्ने विश्वास छ,’ उनले सुनाइन्, ‘कोही-कोही त शरीरमा ताकत बढ्छ भनेर यत्तिकै पनि खान्छन् ।’

शाकाहारी कवितालाई चिप्लेकीरा देख्दा नै घिन लाग्थ्यो । तर, हात छिट्टै निको हुने लोभले उनले खाइदिइन् । ‘कहिले दूध  कहिले पानीमा घोलेर पिउँथेँ,’ उनले सुनाइन्, ‘दूध/पानीमा घोल्दा चिप्लेकीरा बिलाउँथ्यो । चिप्लेकीरा नभेटेको दिन त्यसको फुल पनि खाएँ । बिरामी निको होला भनेर खाएको झनै थलिएँ ।’

कविताका यी सबैकुरा हेमाटोलोजिस्ट डा. श्रेष्ठलाई नौलो लागेन । किनकि, उनीकहाँ यस्ता केस बारम्बार आइरन्छन् । हड्डी जोड्छ, भाँच्चिएको ठीक गर्छ भनेर चिप्लेकीरा खाएर थला परेका थुप्रै बिरामी उनले देखेका छन् । उनीहरूको उपचार गरेका छन् । यस्ता बिरामी सुरुमा खोकी र फोक्सोमा पानी लिएर आउने उनले बताए । कसैलाई भने फोक्सोको इन्फेक्सन र निमोनिया नै भइसकेको उनले पाएका छन् । ‘फोक्सोमा हावा वा पानी भरिएर विभिन्न रोग बोकेर आउँछन् । यसलाई हेलचेक्य्राइँ गरेर बिरामीको जीवन नै खतरामा परेको छ । कति त आईसीयूूमा समेत पुगेका छन् ।’

चिप्लेकीरा खाएर बिरामी भएर आएकाहरूलाई सुरुमा के भएको हो पत्ता लगाउन निकै गाह्रो हुने डा. श्रेष्ठको अनुभव छ । ‘रोग पत्ता लगाउन एक्स-रे सिटिस्क्यान, खकारको जाँच, सेरोलोजिकल टेस्ट आदि गर्छौँ,’ उनले सुनाए, ,‘यति गर्दा पनि रोग पत्ता लागेन भने बिरामीको हिस्ट्री खोतल्छौँ । उसको जीवनशैली र खानपानबारे कुराकानी गर्छौँ । यदि चिप्लेकीरा र गंगटा जस्ता चिज खाएका रहेछन् भने जाँचमा केही नभेटिए पनि औषधि सुरु गर्छौँ ।’ 

यस्ता केसमा बिरामी अस्पतालसम्म आइपुग्दा नै निकै ढिला भइसकेको हुने डा. श्रेष्ठले बताए । कहिलेकाहीँ बिरामीको विगत राम्रोसँग खोतल्न नसक्दा अस्पतालसम्म आइसकेका बिरामीले पनि उपचार नपाउने उनले बताए । 

यसै सन्दर्भमा उनी एउटा केस सम्झिन्छन् । रोग पत्ता नलागेर एकजना बिरामी उनीकहाँ आएका थिए । तौल घट्ने, भोक नलाग्ने, ज्वरो आउने, कमजोर महसुस हुने, छाती दुख्ने जस्ता लक्षण उनमा थिए । ‘रोग पत्ता नलागेपछि उनी टिबी होला भनेर औषधि खाइरहेका रहेछन्,’ उनले भने, ‘उनको पनि हिस्ट्री खोतल्दा चिप्लेकीराले नै दुःख दिएको रहेछ । यसको लक्षण टिबीसँग मिल्दोजुल्दो भएकाले धेरैले रोग पत्ता नलागेपछि टिबीको औषधि खाएको पाइन्छ ।’

नेपालमा चिप्लेकीरा काँचै खायो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने अन्धविश्वास रहेको डा. श्रेष्ठले बताए । ‘त्यसमा सबैभन्दा धेरै प्यारासाइट्स हुन्छ,’ उनले भने, ‘प्यारागोनिमस प्यारासाइट एकपटक पेटमा छिरेपछि वर्षौसम्म लुकेर बस्छ । समयमा उपचार भएन भने वर्षौसम्म दुःख दिइरहन्छ ।’

वीर अस्पतालका हेमाटोलोजिस्ट डा. निरजकुमार सिंहकहाँ पनि सड्केको, मर्केको, भाँचिएको ज्यानलाई जोड्ने काम गर्छ भन्दै चिप्लेकीरा खाएर थला परेर उपचारका लागि बिरामीहरू आइरहन्छ ।

‘गंगटा र चिप्लेकीरा खाएर आफ्नै ज्यानलाई सास्ती दिएर थुप्रै बिरामी आउँछन्,’ उनले भने, ‘त्यसमा भएको किटाणुले इयोसिनोफिल बढाएर फोक्सोमा पानी जमाउँछ ।’ उनका अनुसार यसले सुरुमा फोक्सोलाई असर गरेपनि बिस्तारै शरीरका अरु अंगमा पनि हानी पु¥याउँछ । ‘उपचारमा ढिलाइ हुँदा बिस्तारै मुटु, आन्द्रा, कलेजो आदि अंगमा पनि हानी पुग्छ ।’ 

हेमाटोलोजिस्ट डा. श्रेष्ठका अनुसार यो रोगलाई ‘इयोसिनोफेलिया’ भनिन्छ । ‘इयोसिनोफिल्स बढ्नुलाई इयोसिनोफिलिया भनिन्छ,’ उनले भने, ‘सामान्यतया यो पाँच सय हुनुपर्छ । पाँच सयभन्दा बढी भएको अवस्थालाई इयोसिनोफिलिया भनिन्छ । पाँच सयदेखि १५ सयको अवस्था ‘माइल्ड’, १५ सयदेखि पाँच हजारसम्मको ‘मोडरेट’ र त्यसभन्दा माथिको अवस्था ‘सिभियर’ हो ।’

उनका अनुसार ब्लड सेल तीन प्रकारका हुन्छन् । ह्वाइट, रेड र प्लेटलेट्स । ह्वाइट ब्लड सेलभित्र धेरै खाले सेल हुन्छन् । जस्तैः न्यूट्रोफिल्स, लिम्फोसाइट्स, मोनोसाइट्स, इयोसिनोफिल, बेसोफिल । यी सबैको आ-आफ्नै काम हुन्छ । कसैले इन्फेक्सनसँग लड्ने, कसैले प्रतिरक्षा प्रणालीमा काम गर्ने, कसैले विभिन्न अंगलाई सुरक्षा दिने काम गर्छन् ।

विशेषगरी इयोसिनोफिलले इन्फेक्सन हुन दिँदैन र प्रतिरक्षा प्रणालीमा पनि काम गरिरहेको हुन्छ । यसले शरीरलाई सुरक्षा दिने काम पनि गर्छ । इयोसिनोफिलमा इयोसिनोफेलिक ग्रानेल्सहरू हुन्छन् । यो धेरै हुँदा त्यसले शरीरलाई दुःख दिन्छ । शरीरलाई सुरक्षा दिएपनि यदि त्यो धेरै भयो भने शरीरलाई हानी गर्छ । 

इयोसिनोफिल प्यारासाइटबाहेक एलर्जी, दम, छालासम्बन्धी रोग, बाथ, क्यान्सर आदि कारणले पनि बढ्ने डा.श्रेष्ठले बताए । यी विभिन्न रोगविरुद्ध लड्न खोज्दा इयोसिनोफिल बढ्ने उनले बताए । तैपनि, यीमध्ये नेपालमा धेरैजसो प्यारासाइट्का कारण इयोसिनोफिलिया भएर आउनेहरू उनले पाएका छन् ।

‘चिप्लेकीरासँगै अस्वस्थ र काँचो खानुकुरा, फिल्टर नगरेको पानीबाट पनि शरीरमा प्यारासाइट पुग्छ र इयोसिनोफिलिया हुन्छ । एन्टी प्यारासाइटिक ड्रग खाएपछि बिरामीको अवस्था बिस्तारै सुधार हुँदै जान्छ । जति छिटो उपचार भयो, बिरामीले उति चाँडो राहत पाउँछन् ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x