समाज

‘प्रहरीले मेरो हात भाँच्यो केही छैन, मिटरब्याज पीडितको माग पूरा होस्’

कमल विष्ट |
बैशाख २५, २०८० सोमबार १७:१९ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

आइतबार साँझ मिटरब्याजविरोधी अभियन्ता सौरभ श्रेष्ठलाई भेट्न शान्तिवाटिका पुग्दा उनी पुस्तकमा घोत्लिरहेका थिए । उनलाई पढ्न भने निकै सकस भइरहेको थियो । कारण, उनको एउटा हातमात्र सद्दे छ– दाहिने । त्यही एउटा मात्र सद्दे हातको सहाराले पन्ना पल्टाउँदा पुस्तक असन्तुलित भएर हातबाट झर्थ्यो । पढ्नमात्र होइन, दैनिक जीवनका अन्य काम गर्न पनि श्रेष्ठलाई कठिनाइ भइरहेको छ । 

देब्रे हात ?


उनको देब्रे हात प्रहरीको लाठी लागेर भाँचिएको छ । 

कसरी ? 

गत ४ वैशाखमा प्रहरीले देशका विभिन्न जिल्लाबाट मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्न काठमाडौं आएका पीडितमाथि बल प्रयोग गर्दा अभियन्तासहित ५० जना किसान–मजदुर घाइते भए । तीमध्ये एक हुन्, श्रेष्ठ । टाउकोतर्फ सोझिएको प्रहरीको लाठी छल्न खोज्दा उनको देब्रे हात भाँचिएको हो । कुइनाको भित्री हड्डीमै गम्भीर चोट लागेपछि उनलाई सामान्य उपचारले निको भएन । शल्यक्रिया नै गर्नुपर्यो । बिहीबारमात्र राष्ट्रिय ट्रमा सेन्टरमा उनको हातको शल्यक्रिया भयो । 
थप उपचारपछि उनको स्वास्थ्य सुधाराेन्मुख छ, तर पूर्ण निको हुन भने अझै केही महिना लाग्नेछ । 

‘डाक्टरले पूरै निको हुन केही महिना लाग्छ भनेका छन् । औषधि खाइरहेको छु,’ उनले गोजीबाट भिटामिन, क्याल्सियमलगायतका ट्याब्लेट देखाउँदै भने । 

‘जे होस्, अप्रेसन सफल भयो, यसैमा खुसी छु । बिस्तारै निको भइएला,’ उनी आशावादी देखिए । 

आफ्नो हात निको हुनेमा ढुक्क भए पनि सरकारसँग भने उनी ढुक्क हुन सकेका छैनन् । गत बुधबार सरकारले मिटरब्याजसम्बन्धी ल्याएको अध्यादेशले पीडितका सम्पूर्ण माग पूरा नगर्ने उनी बताउँछन् । ‘नयाँ कानुनले मिटरब्याजलाई गैरकानुनी करार गरेको छ । यसले पीडितलाई राहत मिल्ने देखिन्छ । यो सकारात्मक हो,’ उनले भने, ‘तर, यसले पीडितका सम्पूर्ण माग पूरा गर्दैन । पहिलो कुरा त यसले वैशाख २० अघिको समस्यालाई समाधान गर्दैन । हजारौँ किसान–मजदुरहरू भूमिहीन भइसक्नुभएको छ, कोही हुने क्रममा छन् ।’

उनले अगाडि भने, ‘मिटरब्याज पीडितको समस्या समाधानका लागि राजनीतिक घोषणा नै चाहिन्छ । हाम्रो मुख्य माग नै यही हो । सरकार यसप्रति थप गम्भीर हुन जरुरी छ । आन्दोलन रोक्ने बहानामा ल्याइएको अध्यादेशको ठूलो अर्थ छैन ।

मधेशमा किसान–मजदुरहरू मिटरब्याजको ठूलो दलदलमा परेको उनी बताउँछन् । मिटरब्याजी साहुको ज्यादतीमा परेर हजारौँ किसानको बासै उठेको उनको भनाइ छ । मिटरब्याजको समस्या काठमाडौंबाट देखिएभन्दा विकराल भएको उनको ठहर छ ।

‘गत फागुनमा हामीहरू मिटरब्याजी साहुको ज्यादतीमाथि डकुमेन्ट्री बनाउन मधेश गएका थियौँ । साहुले किसानमाथि धेरै अत्याचार गरेका छन् भन्ने हामीलाई थाहा थियो । तर, किसानमाथि त्यो स्तरको दमन होला भन्ने चाहिँ सोचेका थिएनौँ,’ उनले भने, ‘मिटरब्याजको नाउँमा हजारौँ किसानको घर–जग्गा हडपिएको छ । उनीहरू माथि चरम श्रम र यौन शोषण छ ।’

साहुहरूले किसानको घरमा रातिराति आएर दुःख दिएको श्रेष्ठले देखे । कतिसम्म भने मिटरब्याजीहरूले किसानका छोरी–चेली र श्रीमतीमाथि यौन शोषण गरेको पनि आफ्नै आँखाले देखे । ‘साहुहरूले किसानलाई पैसा तिर्न सक्दैनौँ भनेर तिम्रा श्रीमती र छोरीसँग सुत्न देऊ भन्थे,’ उनले सुनाए ।

मधेशीहरू मिटरब्याजसँगै अन्य थुप्रै समस्याहरूबाट पनि जेलिएको उनी बताउँछन् । उनीहरूका समस्याप्रति सरकार र प्रहरी प्रशासन दुवै उदासिन रहेको श्रेष्ठको अनुभव छ । ‘बिहान खाएपछि बेलुका के खाने भन्ने समस्याले उनीहरूलाई गाँज्छ । पूरै शरीर ढाकिने लुगा छैन । स्वास्थ्य, शिक्षा, रोजगारीलगायत यावत समस्याबाट उनीहरू प्रताडित छन्,’ उनले सुनाए ।

मधेश अनेक समस्याले गाँजिएको देख्दा उनको मन छियाछिया भयो । कैयौँ दिन विक्षिप्त भए । त्यसपछि उनलाई लाग्यो, कम्तीमा मिटरब्याजको पीडाबाट भए पनि उनीहरूलाई मुक्त गराउनुपर्छ । मिटरब्याजविरुद्धको आन्दोलन अझ संगठित र पेचिलो रूपमा अगाडि बढाउनुपर्छ । 

‘मधेश जाँदा उहाँहरूले हामीलाई भगवानको दर्जा दिनुभयो । हामीबाट ठूलो आशा गर्नुभएको छ,’ उनले भने, ‘यो आन्दोलनलाई जसरी भए पनि सफल बनाउनुपर्छ ।’

उनी कसरी जोडिए आन्दोलनसँग ? 

२४ वर्षीय श्रेष्ठ व्यवस्थापन संकायका विद्यार्थी हुन् । हाल उनी ललितपुरस्थित पाटन क्याम्पसमा बीबीए पढिरहेका छन् । तर, समाजशास्त्र र राजनीतिमा विशेष चासो छ । उनी राजनीतिक रूपमा एकदमै सचेत छन् । समाजमा विद्यमान जातीय विभेद, धर्मका नाममा अभ्यास गरिने तमाम कुप्रथाको सख्त विरोधी हुन् उनी । स्थायी घर पर्वत भएका उनी सानैदेखि कुप्रथा र कुरीतिबारे सचेत थिए । विभेदका अग्लाअग्ला पर्खाल भत्काउनुपर्छ भन्ने सोच्थे । 

‘जातीय छुवाछुत, धर्मका नाममा अभ्यास गरिने कुप्रथालगायत मलाई सानैदेखि मन पर्दैन्थ्यो । म यस्तो किन हुन्छ भनेर सोचिबस्थेँ,’ उनी बाल्यकालतिर फर्किए ।
उमेरसँगै उनमा यी कुराप्रति असन्तुष्टि पनि बढ्दै गयो । प्लस टूमा पुगेपछि उनी सडकमा हुने विभिन्न सामाजिक, राजनीतिक तथा आर्थिक आन्दोलनमा सरिक हुन थाले । अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्न थाले । स्नातक पढ्न थालेपछि आन्दोलनमा उनको सक्रियता अझ बढ्यो । यही क्रममा गत भदौमा उनी मिटरब्याजविरुद्धको आन्दोलनमा जोडिए । उनी हरेक नागरिकमा राजनीतिक सचेतना हुनुपर्ने मान्छन् । 

‘हामी सबैले राजनीति गर्नुपर्छ भन्ने छैन, तर राजनीतिक रूपमा सचेत चाहिँ हुनुपर्छ,’ उनले भने, ‘लोकतन्त्र र सामाजिक न्यायका लागि लड्नु हरेक नागरिकको कर्तव्य हो ।’

वैशाख ४ को प्रहरी दमनमा परेर श्रेष्ठ घाइते भएको गाउँमा बस्ने बाबुआमालाई थाहा छैन । परिवारले चिन्ता लिन्छ भनेर उनले भनेका छैनन् । बेलाबखत घरबाट फोन आउँदा उनी भन्छन्, 'चिन्ता नलिनू सबै ठीक छ ।' 

‘बाबुआमाले थाहा पाउनुभयो भने चिन्ता त गर्नुहोला, तर छोरा पीडितको न्यायका लागि लड्दा घाइते भएको हो भनेर मन बुझाउनुहोला,’ मुस्कुराउँदै उनले भने ।

करिब ३ महिना लामो आन्दोलनले धेरै थोक हासिल गरेको उनको भनाइ छ । तर, सम्पूर्ण माग पूरा नहुँदासम्म आन्दोलन स्थगित नहुने र त्यसका लागि जतिसुकै ठूलो मूल्य चुकाउन पनि तयार रहेको उनी बताउँछन् । ‘प्रहरीले मेरो हात भाँच्यो केही छैन, मिटरब्याज पीडितको माग पूरा होस्,’ उनले भने ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x