समाज

महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

सुभाष कर्ण |
बैशाख २२, २०८० शुक्रबार २०:५१ बजे

जनकपुरधाम- बाराको महागढीमाई नगरपालिकामा स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को पुतला दहन गरेका छन् । नगरपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नभएका कारण कामकाज ठप्प हुँदा पनि सरकारले चासो नलिएकाे भन्दै स्थानीयले प्रधानमन्त्री ’प्रचण्ड’को पुतला दहन गरेका हुन् ।

शुक्रबार सयौंको संख्यामा रहेका स्थानीयले प्रमुख प्रशासकीय अधिकृतकाे मागसहित प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका थिए । प्रधानमन्त्री प्रचण्डको पुतला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए ।


प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ जनाले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको विकास सम्बन्धी योजनाको काम समेत प्रभावित बनेको छ ।

यसअघि नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्र र गढीमाई मन्दिरभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए ।

प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि प्रवेश निषेध गरेको मेयर यादवले बताएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x