समाज

धनुषाबाट ६२१ फरार प्रतिवादी पक्राउ

सुभाष कर्ण |
बैशाख २०, २०८० बुधबार १६:३३ बजे

जनकपुरधाम- धनुषा प्रहरीले चालू आर्थिक वर्षमा विभिन्न मुद्दाका फरार ६ सय २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पुसदेखि वैशाख १० गतेसम्म मात्रै ५ सय ३९ जनलाई पक्राउ गरिएकाे प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताएका छन् ।


फरार प्रतिवादीहरूबाट जरिवाना बापत ३७ लाख ४९ हजार ७९० रुपैयाँ र कैद सजायतर्फ १९८ वर्ष १० महिना २९ दिन असुल गरिएकाे एसपी खड्काले जानकारी दिए । उनका अनुसार हाल चालू मुद्दा ३३ र पेण्डिङ्ग मुद्दा ६०९ वटा रहेकाे छ ।

पक्राउ पर्ने प्रतिवादीहरू बैकिङ्ग कसूर मुद्दा, हातहतियार खरखजाना कर्तव्य ज्यान, अंगभंग र जबरदस्ती करणी मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार  रहेका हुन् ।

अदालतबाट फैसला कार्यान्वयनका लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यले सञ्चालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत तिनीहरूलाई पक्राउ गरिएकाे उनले बताए ।

लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएकाे एसपी खड्काले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x