समाज

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

सबैला तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा एक राउण्ड हवाई फायर

सुभाष कर्ण |
बैशाख १८, २०८० सोमबार २१:५३ बजे

जनकपुरधाम- टिपरको ठक्करबाट एक बालकको मृत्यु भएकाे छ भने एक बालिका घाइते भएकी छिन् । उक्त घटनापछि धनुषाको सबैला नगरपालिका तनावग्रस्त भएको छ ।

जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१२ रघुनाथपुर सिर्काटोलस्थित पोखरी नजिक प्रदेश–२–०३–००१ क. १६२१ नम्बरको ग्राभेल लोड गरेकाे टिपरले ठक्कर दिँदा सोही ठाउँ बस्ने धिरेन्द्रकुमार दनुवारका ७ वर्षीय छोरा रियान्सकुमार दनुवारको मृत्यु भएकाे हाे । भने, विरेन्द्र दनुवारकी ५ वर्षीया छोरी राधी्कुमारी दनुवार गम्भीर घाइते भएकी हुन् । 


घटनापछि स्थानीयवासी विरोध प्रदर्शनमा उत्रिएका छन् । बरमझियाबाट रघुनाथपुरतर्फ जाँदै गरेको तीव्र गतिको उक्त टिपर अनियन्त्रित भई दुवै बालबालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा २ सयको संख्यामा उपस्थित स्थानीवासीले बाटो अवरुद्ध गरी चक्काजाम गरेका थिए । सोही क्रममा स्थानीय र प्रहरीबीच केही चर्काचर्कीसमेत भएको थियो । आक्रोशित स्थानीयले टिपरमाथि तोडफोड समेत गरेका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायरसमेत गरेकाे छ । अहिले सो क्षेत्रको अवस्था तनावग्रस्त नै रहेको छ ।

स्थानीयले बोतलमा पेट्रोल राखी प्रहरीमाथि प्रहार गरेकाले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् । ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार दिउँसो विद्यालयमा छुट्टि भएपछि घर फर्किरहेका दुवै जनालाई तीव्र गतिमा रहेको सो टिपरले ठक्कर दिएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x