समाज

जनकपुरधाममा प्रहरीकै घरमा डकैती

सुभाष कर्ण |
बैशाख १८, २०८० सोमबार २१:४१ बजे

जनकपुरधाम- केही दिनयता जनकपुरधाममा चोरी डकैतीको घटना बढ्दै गएका छन् । गएराति जनकपुरधाम उपमहानगरपालिका-८ मा एक प्रहरीकै घरमा डकैती भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-८ मौनीवावाको आश्रम जाने एरियामा प्रहरी वरिष्ठ हवल्दार निरजकुमार साहलाई घाइते बनाई उनको घरमा डकैती गरिएको हाे । प्रादेशिक अस्पतालको डिउटीमा रहेका प्रहरी वरिष्ठ हवल्दार साहको घरको छतबाट सिँढीको घर हुँदै कोठामा प्रवेश गरेका डाँकाहरूले लाखौँको धनमाल लुटेर लगेका छन् ।


राति करिब साढे १ बजेको समयमा डाँकाहरूको एक समूहले प्रहरी वरिष्ठ हवल्दार साहको घरमा लुटपाट गर्नुका साथै भाटा प्रहार गरेर उनलाई गम्भीर घाइते समेत बनाएका छन् ।

यसैबीच आइतबार अबेर राति जनकपुरधाम-८ मै स्थानीय जितेन्द्र ठाकुरको घरमा चोरी भएकाे छ । साे क्रममा दुई जना चोर पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

वैदेशिक रोजगारमा रहेका ठाकुरको संकटमोचन मन्दिर पछाडि रहेको घरमा उनको परिवारका सदस्यहरू काठमाडौँ गएको मौका छोपी चोरहरूले घरको ताल्चा फोडेर चोरी गर्नै लाग्दा गस्तीमा खटिएका प्रहरी टोलीले ती चोरहरूलाई पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

घरमा चोर छिरेको बारे ठाकुरले विदेशबाटै सिसिटीभीको मद्दतले थाहा पाएपछि प्रहरीलाई खबर गर्दा समयमै प्रहरी पुगेर तिनीहरूलाई पक्राउ गरेको उनको पारिवारिक सदस्यले बताएका छन् । ती चोरहरूको समूहमा अझै अरु व्यक्तिहरू पनि रहेकाले अनुसन्धान प्रभावित हुन सक्ने भनेर प्रहरीले पक्राउ परेकाहरूको नाम खोल्न चाहेको छैन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x