समाज

गाउँमा देखिएन श्रमिक दिवसको रौनक

श्रमिक भन्छन् : हामीलाई दिवस नआएकै राम्रो, एक दिन भए पनि घाटा लाग्छ

धनबहादुर गुरुङ |
बैशाख १८, २०८० सोमबार २२:३ बजे

पोखरा- सोमबार विश्व श्रमिक दिवस । विभिन्न देशमा मनाइएको यो दिवस नेपालमा पनि मनाइयो । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।

बिहानैदेखि विभिन्न संघसंस्थाले दिवसका दिन कार्यक्रम आयोजना गर्‍यो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकीले र्‍याली र नेपाल ट्रेड युनियन कांग्रेस, कास्कीको अधिवेशन गर्‍यो । यी बाहेक सहरी क्षेत्रमा सानातिना अन्य कार्यक्रम पनि भए ।


तर, मजदुर दिवसको रौन‍क ग्रामीण क्षेत्रमा भने देखिएन । गाउँमा अर्मपर्मदेखि विकास निर्माणका काम विनाप्रवाह चलिरहेको थियो । पोखरा महानगर कै २३ नम्बर वडामा यसको कुनै प्रभाव नै थिएन । पोखरा-२३ बराङ गाउँका स्थानीयलाई काम कै चटारो थियो । उनीहरूलाई दिवसको कुनै सुर्ता नै थिएन ।

उक्त गाउँका १० जना स्थानीय बिहानैदेखि बालुवा उठाउन, बोक्न अनि गाह्रो लगाउन व्यस्त थिए । ६ जनाले बालुवाको काम गरिरहेका थिए भने ५ जना मसला घोल्न र गाह्रो लगाउन व्यस्त देखिन्थे । उनीहरूलाई दिवसको कुनै सुर्ता थिएन । उनीहरूको बुझाइमा मजदुर भनेका शहरमा काम गर्नेहरू हुन् भन्ने थियो ।

‘मजदुर भनेको शहरमा काम गर्नेहरूलाई भन्ने हो,’ मजदुरी गरिरहेका युवराज पराजुलीले भने, ‘हामी गाउँमा काम गर्नेहरू मजदुर कहाँ हो र खेताला लाए जस्तो हो । त्यही भएर हामीले मजदुर दिवस किन मनाउनुपर्‍यो ।’

दिवस गाउँका लागि नभएर शहरका लागि भएको उनको तर्क थियो ।

त्यही काम गरिरहेका बराङ गाउँकै स्थानीय गमबहादुर नेपालीले सोमबार मजदुर दिवस भन्ने नै थाहा नभएको बताए । बिहानदेखि काम कै चटारो परेकाले त्यता ध्यान नै नभएको उनको भनाइ थियो ।

‘यहाँ काम गरेपछि एक दिनमा हजार रुपैयाँ कमाइन्छ । दिवस के-के भन्न लागियो भने त त्यो पैसा कसले दिन्छ,’ उनले भने, ‘हामीलाई त दिवस नआएकै राम्रो एक दिन भए पनि घाटा लाग्छ ।’

यो दिवसको महत्व हुने खानेले भन्दा हुँदा खानेले बुझ्ने बरेङका स्थानीय एकनाथ पराजुलीले बताए ।

‘यो दिवसले मलाई नछोएको होइन छोएको हो । मनाउनका लागि पोखरा जाउँ कि भन्ने नि भएको हो,’ उनले भने, ‘तर, रहर गरेर मात्र पनि भएन यहाँ त बाध्यता छ ।’

मजदुर दिवस मनाउनेहरू अधिकांश नेता कार्यकर्ता हुने भएकाले उनीहरू वास्तविकतामा पुग्न नसक्ने उनको तर्क थियो ।

‘काम गर्ने विषयमा गाउँ-शहर, धनी-गरिब भन्ने हुँदैन । काम सबैले गरिरहेका हुन्छन्,’ उनले भने, ‘तर, दिवस मनाउनेहरूले मजदुरको समस्या राम्रोसँग बुझिदिनुपर्‍यो ।’


Author

थप समाचार
x