समाज

जनकपुरधाममा विद्यार्थीहरूले जलाए मेयर साहको पुत्ला

सुभाष कर्ण |
बैशाख १७, २०८० आइतबार २०:२६ बजे

जनकपुरधाम- आदिकवि भानुभक्त आचार्यको स्मारकको पुनः निर्माणका लागि शिलान्यास गरिएको भन्दै संयुक्त युवा विद्यार्थी मोर्चाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको पुत्ला दहन गरेको छ ।

जनकपुरधामको भानु चोकमा भानुभक्तको स्मारक निर्माण नगरी मधेश आन्दोलनका शहीद रमेश महतोको स्मारक निर्माण हुनुपर्ने माग गर्दै मोर्चामा आबद्ध विद्यार्थी नेताहरूले नगर प्रमुख साहको तस्बिर जलाएका हुन् ।


शनिबार जानकी नवमीको अवसरमा जनकपुरधाम उपमहानगरले विरोध र विवादका बीच स्मारकको शिलान्यास गरेको थियो । नगर प्रमुख मनोजकुमार साहले कडा सुरक्षाका बीच स्मारक शिलान्यास गरेका थिए ।

विगतमा भानुचोकमा भानुभक्तको स्मारक रहेकोमा मधेश आन्दोलनका क्रममा आन्दोलनकारीहरूले सो स्मारक भत्काएका थिए । भानुभक्तको प्रतिमा भत्याइएपछि जनकपुरधाममा भएको सडक विस्तारमा बाँकी रहेको स्मारक समेत भत्काइएको थियो ।

लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले आफूहरूलाई भानुभक्त आचार्यसँग कुनै द्वेषभाव नरहेको बताए । उनले भने, ‘भानुभक्तप्रतिको हाम्रो सम्मान पहिला पनि थियो र सदैव रहिरहने छ । तर, मधेश आन्दोलनका क्रममा शहिद रमेश महतो नामकरण गरिएको चाेकमा पुनः भानुभक्त आचार्यको स्मारक राख्नु मधेश आन्दोलन तथा सहिदप्रतिको सम्मानमा ठेस पुगेकाले हामीले विरोध गरेका हौं ।’

उनले नगर प्रमुख साहले वार्तामार्फत यस समस्याको समाधान गर्ने बताए पनि वार्ताको वातावरण अझै नबनाएको आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरले स्मारक निर्माणका लागि करिब साढे २० लाख रुपैयाँ विनियोजन गरेको हो । उक्त स्मारक निर्माण गर्न प्रभु जालानको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन गरिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x