समाज

संस्कृति जोगाउन तल्लीन गन्धर्व समुदाय

धनबहादुर गुरुङ |
बैशाख १६, २०८० शनिबार २१:३१ बजे

पोखरा- तनहुँकी २२ वर्षीया अरुणा गन्धर्व संस्कृति जोगाउन तल्लीन छिन् । उनले सारंगीको तारसँग साइनो जोड्न थालेको धेरै भएको छैन । अहिले सारंगी वादन उनको आदत बनिसकेको छ । उनी आफू मात्र होइन, जानेको सीप स–साना भाइबहिनीहरूलाई पनि सिकाउन व्यस्त छिन् ।

उनी शुक्रबार र शनिबार पोखरा सभागृहमा भेटिइन् । अरुणा लोक गायक स्व. झलकमान गन्धर्वको ८८ औं जन्मजयन्तीको अवसरमा भएको सारंगी वादन प्रतियोगितामा भाग लिन आएकी हुन् । प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३६ जना सारंगी वादकहरूको सहभागिता थियो ।


अरुणा उत्कष्ट प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भइन् । यो पुरस्कारले आफ्नो संस्कृति जोगाउन थप प्रेरणा मिलेको उनी बताउँछिन् । तनहुँ जामुने क्षेत्रमा सारंगी वादनमा अझ सक्रिय भएर लाग्ने उनको प्रतिबद्धता थियो । तनहुँ जामुनेमा अहिले ७ घर गन्धर्व रहेकामा आफ्नो उमेर समूहकाले कसैले पनि सारंगी नबजाउँदा चिन्ता लागेको उनको भनाइ छ ।

तर, केहीले आफूसँग सिक्न थालेकामा उनी खुसी छिन् । ‘बाबाहरूले गाउनुहुन्थ्यो । मैले पनि बीचमा वास्ता गरेको थिइनँ । पछि हाम्रो संस्कृति जोगाउन हामी नै लाग्नुपर्छ भन्ने मनमा जाग्यो अनि सिकेर बजाउँदै आएको छु,’ उनले भनिन् । युवा पुस्ताले संस्कृति जोगाउन ध्यान नदिने हो भने लोप भएर जाने उनको तर्क थियो । 

नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारंगी पाठशाला संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, सारंगी संरक्षण हाम्रो अभियान’ नारासहित भएको प्रतियोगितामा बर्ता गन्धर्व पनि आएकी थिइन् । बर्ता उनै गायिका हुन्, जसले भ्वाइस अफ नेपाल टिभी रियालिटी सोमा आफूलाई सारंगी वादक र गायिकाका रूपमा स्थापित गरिसकेकी छिन् ।

भोजपुरबाट काठमाडौँमा गायन यात्रामा सहभागी उनी शुक्रबार र शनिबारको माहोल देखेर निकै खुसी थिइन् । गन्धर्व समुदाय पनि यसरी एकीकृत भएर संस्कृति बचाउन लागिपरेको देख्दा उनको खुसीको सीमा नै थिएन । ‘म त बालखा मै भोजपुरबाट काठमाडौँ आएँ । सानैबाट सारंगी बजाउने म हाम्रो समुदायमा पनि यति धेरै प्रतिभा रहेछ । सबैलाई देखेर निकै खुसी लाग्यो,’ उनले भनिन् ।

संस्कृति संरक्षणका लागि भएको प्रतियोगितामा भाग लिन नभइ अरूलाई प्रेरणा दिनका लागि प्रस्तुति दिन आएको उनको भनाइ थियो । ‘यस्तो राम्रो कामको थालनी भएको छ । हाम्रो संस्कृति जोगाउनका लागि प्रस्तुति मार्फत नै भएपनि योगदान दिनुपर्छ भन्ने लाग्यो र आएँ,’ उनले भनिन्, ‘मैले मसँगै भ्वाइस अफ नेपालमा गएका मेरा भाइ तेजेन्द्र गन्धर्वसँगै अरू ३ जनालाई लिएर आएको हुँ ।’ यस्तो खालको प्रतियोगिता र कार्यक्रम समय समयमा हुने हो भने नयाँ पुस्ताले पनि सारंगी संस्कृतिबारे जानकारी पाउने बर्ताको तर्क थियो । 

नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सुनिलबहादुर गायकले पनि गायन र सारंगी वादन संस्कृति जोगाउन प्रतियोगिता गरिएको जानकारी दिए । ‘हामी र हामीभन्दा तल्लो पुस्ताले पछिल्लो पुस्ताले मंगल, महाल, कर्खा, पिडुल, मालश्री, नौराग, बाहमासे गीत बिर्सँदै गएका छन् । यि गीतहरू जोगाउन २०६४ सालमा कर्खा गायन प्रतियोगिता गर्यौं,’ उनले भने, ‘अहिले सारंगी वादन प्रतियोगिता सक्यौँ । यो संगै ७ वर्षभन्दा माथिका बच्चाहरूलाई सारंगी वादन तालिम दिइरहेका छौं ।’

सारंगी बजाउन जानिसकेकाहरूलाई गन्धर्व गीतको प्रशिक्षण दिइरहेको उनले सुनाए ।


Author

थप समाचार
x