समाज

अमृतपाल नेपाल पस्‍न सक्ने भन्दै सीमामा भारतीय सुरक्षा अलर्ट

इकागज |
चैत ११, २०७९ शनिबार ७:५० बजे

फाइल तस्बिर

काठमाडौँ- भारतमा खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ । 

पछिल्लो दिनमा लन्डन र सन फ्रान्सिसको लगायत भारतमा समेत खालिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकामा सिमाना सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 


वारिस दे पञ्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर पत्ता लगाएको भारतीय सुरक्षा अधिकारीले उनी सोही क्षेत्रबाट नेपाल पस्ने सक्ने आशंकामा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको हो । भारतीय सुरक्षा स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार उत्तराखण्डबाट नेपालभित्र पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको छ भने पछिल्ला दिनमा शंका लागेका मुख्यतः शिख समुदायका मानिसहरूलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ ।

अमृतपाल सिंह सम्पर्कबिहीन भएपनि खालिस्तान समर्थकहरूलाई भने भारतीय प्रहरीले देशैभरीबाट धमाधम पक्राउ गरिरहेको छ भने हिंसा भड्‌कने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सीमाभित्र केही दिन इन्टनेटसमेत पनि अवरुद्ध गरेको थियो । 

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समूहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपालविरुद्ध कारबाही सुरु गरेको हो । प्रहरीले उनीमाथि लूकआउट नोटिस तथा विना धरौटीको पक्राउ पुर्जी जारी गरेको छ ।

उता अमृतपालमाथि धरपकड हुने थालेपछि पश्चिमा मुलुकमा रहेका खालिस्तान समर्थकहरूले भारतीय नियोगमा राखिएका झण्डाहरू निकालेर खालिस्तानी झण्डासमेत राखेका थिए । खालिस्तान समर्थकलाई झण्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको छ । 
 


Author

थप समाचार
x