समाज

महामारीमा बिहेवारी : न जीवन रह्यो, न जीवनसाथी

सृजना खड्का |
बैशाख २३, २०७८ बिहीबार ७:१८ बजे

बैशाख १२ गतेको साँझ भक्तपुर अस्पतालको इमरजेन्सीमा एकजना युवती भर्ना भइन् । उनमा ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पताल आइपुग्दा उनको अवस्था गम्भिर भइसकेको थियो ।

अस्पतालका डा.सुनिल ढुंगेलका अनुसार अस्पताल ल्याउँदै उनमा अक्सिजनको लेभल घटिसकेको थियो । एक्स-रे गरेर हेर्दा दुबै फोक्सोमा निमोनिया देखिएको थियो । एन्टीजेन परीक्षण गर्दा उनमा कोभिड-१९ पोजेटिभ देखियो ।


अस्पताल आएको अघिल्लो दिन उनको विवाह थियो । काठमाडौँ, कपनकी २३ वर्षीया उनको भक्तपुर, सुडालका युवकसँग मागी बिहे भएको थियो । बिहेकै भोलिपल्ट श्वास फेर्न समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ‘हामीले हाम्रोतर्फबाट सक्नेजति सबै प्रयास गर्‍यौँ,’ डा. ढुंगेलले भन्छन्, ‘भेन्टिलेटरमा राखेर उपचार गर्‍यौँ, कोभिडमा चलाउनुपर्ने सबै औषधि चलायौँ । प्लाज्माथेरापी विधि पनि अपनायौँ । तर, हाम्रा सबै प्रयास असफल भए ।’

अस्पतालका अनुसार कोभिडका कारण बैशाख २० गते उनको मृत्यु भयो । यसअघि उनमा कुनैपनि किसिमको रोग नभएकाले उनको मृत्युको कारण कोभिड नै भएको डा. ढुंगेल बताउँछन् । उनका परिवारका केही सदस्यमा कोभिड पोजेटिभ देखिएर होम आइसोलेसनमा बसिरहेका छन् ।

०००
काठमाडौँ, मनमैजुकी २७ वर्षीया एक युवतीको बैशाख १० गते  गोंगबुस्थित बीजी बैंक्वेटमा विवाह भइरहेको थियो । वैवाहिक कार्यक्रम चलिरहेको बेला उनलाई एक्कासी श्वास फेर्न गाह्रो हुन थाल्यो । ज्वरोले च्याप्यो । परिवारका सदस्यले उनलाई उपचारका लागि तुरुन्तै बसुन्धारास्थित वीपी स्मृति अस्पताल लिएर गए ।

गोरखा पुर्‍याउनुपर्ने बिहे अस्पताल पुग्यो । श्वास-प्रश्वासमा झनै समस्या देखिएपछि अस्पताल लगेको तेस्रो दिन उनलाई आईसीयूमा राखेर उपचार गरियो । अस्पतालको हर प्रयासले उनलाई बचाउन सकेन । अस्पतालका अनुसार भर्ना भएको आठौँ दिन अर्थात् बैशाख १८ गते उनको मृत्यु भयो । उनकी बहिनीमा समेत कोभिड संक्रमण देखियो । उनी अहिले होमआइसोलेसनमा बसिरहेकी छिन् ।

०००
त्यस्तै, केही दिन पहिले काभ्रे, पनौतीमा बिहेको भोजमा सहभागी भएका १५ जनामा कोभिड पुष्टि भएको थियो । बिहे भोजमा सहभागी एकजनामा कोभिड पोजेटिभ देखिएपछि अन्यमा परीक्षण गर्दा कोभिड संक्रमण देखिएको थियो ।

निषेधाज्ञामा सरकारले बिहेमा १५ जना सहभागी हुन पाउने नियम तोकेको छ । तर, जनस्वास्थ्य विज्ञहरू यसलाई १५ सय जना बराबरको जीवनमाथिको खेलवाड ठान्छन् ।

जनस्वास्थ्य विज्ञ डा. शरद् वन्त भन्छन्, ‘यो भयावह अवस्थामा १५ जना भेला हुनु भनेको १५ सय जना भेला हुनु बराबर हो । ती १५ जनाले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा १५ सयभन्दा बढी मानिस जोखिममा पर्छन् ।’

अर्का जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेको तर्क पनि उस्तै छ । उनी भन्छन्, ‘पाँच जना पनि भेला हुन नमिल्ने यो समयमा १५ जना ठूलो संख्या हो । ती १५ जनाले १५ सयलाई संक्रमित बनाउने संभावना हुन्छ । तीमध्ये एक प्रतिशतको मात्रै मृत्यु भयो भने पनि कोभिडको कारण मृत्यु हुनेको संख्या बढ्छ ।’

गत सालको भाइरस समूहमा एक दुई जनामा सर्ने खालको भएपनि अहिलेकाले समूहमा एकजना संक्रमित भए सबैलाई सर्न सक्ने संभावना बोकेको उनी बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा.वन्त जोखिममा आस्था र विश्वासको नाममा गैरजिम्मेवारीपूर्ण लापरर्वाही हुनुलाई क्षम्य ठान्दैनन् । ‘यस्ता लापरर्वाही भएका छन् भने राज्यले कारबाही गर्नुपर्छ,’ उनी भन्छन्, ‘अहिलेको परिवेश सामाजिक आस्था र मान्यताभन्दा धेरै गम्भीर किसिमको छ । बिहे र भोजमा जाँदा कोभिड सर्‍यो भनेर थुप्रै केसहरु रिपोर्ट भएका छन् । यस्तै हो भने भोलिका दिनमा पश्चताप गर्नेबाहेक हामीसँग अर्को विकल्प हुँदैन ।’

यो अवस्थामा एकजनाको लापरर्वाही कैयौँको जीवनसँग जोडिएको डा. वन्त बताउँछन् । सरकार गैरजिम्मेवार भयो भन्दैमा नागरिक स्वयम् गैरजिम्मेवार हुनु आफैमा दुखलाग्दो कुरा भएको उनी बताउँछन् । ‘हामी सरकारले जिम्मेवारी बोध गरेन भनेर आलोचना गरिरहेका छाँै,’ उनी भन्छन्, ‘सरकारको जिम्मेवारी र दायित्व आफ्नो ठाउँमा छ तर, नागरिकले पनि गैरजिम्मेवार काम गर्नु दुखलाग्दो कुरा हो । सरकार गैरजिम्मेवार भएकै कारण हामी जोखिममा बस्नुहुँदैन । हामीले पनि सकेको गर्नुपर्छ ।’

बिहेमात्रै हाम्रो सामाजिक रितिरिवाज नभएको भन्दै उनी गएको दशै र तिहारलाई सम्झिन्छन् । ‘गएको दशैँ र तिहार निकै जिम्मेवार ढंगबाट मनाइएको थियो, उनी भन्छन्, मानिसहरू जिम्मेवार भए । भर्चुअल टिका लगाए । दशैँ तिहापछि अर्को वेभ आउँछ भनेर जुन खालको कल्पना गरिएको थियौँ त्यो भएन । हामी सामान्य दैनिकीमा फर्कियौँ ।’ विवाहलाई पनि यसरी नै जिम्मेवार भएर सम्पन्‍न गर्न उनको आग्रह छ ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे यो जटिल परिस्थितीमा बिहे, ब्रतवन्ध जस्ता क्रियाकलापलाई सार्न सुझाउँछन् । ‘यो वर्ष नभए अर्को वर्ष गरेपनि हुन्छ,’ उनी भन्छन्, ‘सरकारले यसलाई अत्यावश्यक क्षेत्रमा नतोकेको भए हुन्थ्यो । यो अत्यावश्यक होइन । किनमेल र खानपान गर्नुपर्ने भएकाले जति नै सावधानी अपनाए पनि बिहेमा संक्रमण सर्ने संभावना उच्च हुन्छ ।’

बिहे गर्नैपर्ने अवस्था आए पनि दुबै परिवारका सदस्यले पीसीआर परीक्षण गराएर मात्र बिहेमा सहभागी हुन उनको सल्लाह छ । ‘परिवारका सदस्य मात्र बसेर सामान्य टिकोटालो लगाएर बिहे गर्न सकिन्छ,’ उनी भन्छन्, ‘जन्ती जाने, भोज खाने काम पटक्कै नगरौँ । महामारी सक्किएपछि भेटघाट, भोज र रमाइलो गरौँला ।’

यस्तो बेलामा बिहेमा बोलाउँदा ‘नो’ भन्‍न सिक्नुपर्ने उनी बताउँछन् । ‘हाम्रो जीवनभन्दा अमुल्य औपचारिकता होइन,’ उनी भन्छन्, ‘हाम्रो सानो गल्तीले हामीलाई आईसीयूसम्म पुर्‍याउन सक्छ ।’

दुबै जनस्वास्थ्य विज्ञहरूलाई समर्थन गर्दै भक्तपुर अस्पतालका डा. सुनिल ढुंगेल पनि भन्छन् - ‘यो समय कोट पाइन्ट र साडीचोलो लगाएर भोज खान जाने समय होइन ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x