समाज

'क्लासिक’, ‘सुपरम्यान’ र ‘टेन्डम’

तिहार मनाउन धुलिखेल ‘जीपलाइन’

सृजना खड्का |
कात्तिक ३०, २०७७ आइतबार १५:१६ बजे

काठमाडौँ : शनिबार काभ्रेको धुलिखेल जीपलाइनमा कौशिला सुनुवार भेटिइन् । काठमाडौँ कपनबाट तिहार मनाउन गाँउ (रामेछाप) हिँडेकी कौशिलाले बाटैमा पर्ने जीपलाइनको मजा लिइन् । अनि स्कुटरमा आफ्नो गाँउतर्फ लागिन् । 

‘कोभिडले गर्दा यो वर्ष कतै घुम्न जान पाएको थिइनँ,’ उनले भनिन्, ‘घर जाँदै थिएँ । बाटैमा जीपलाइन देखेँ । एकचोटी ट्राइ नगरि जानै मन लागेन ।’जीपलाइनपछि आफ्नो अनुभव साट्दै सुनुवारले भनिन्,‘साह्रै मज्जा आयो। नगरी गएको भए पछुतो हुने रहेछ ।’ यसपटक ‘सुपरम्यान’ जीपलाइनको मजा लिएकी उनले अर्कोचोटि ‘क्लासिक’ गर्ने सोच बनाएकी छिन् । 


‘जिपलाइन’ अर्थात् डोरीमा झुण्डिएर खेलिने खेलको कारणले पनि धु्लिखेलको  ख्याति  बढ्दो  छ ।

कलंकीदेखि आएकी लक्ष्मी बरालले पनि जीपलाइनको मजा लिदै यसवर्षको तिहार मनाइन् । कोभिडले गर्दा उपत्यकाबाट टाढा जान असुरक्षित लागेर उपत्यका नजिकैको जीपलाइनमा मजा लिन आएको उनले बताइन् । ‘यो वर्ष कहाँ-कहाँ जाने योजना थियो,’ उनले भनिन्, ‘कोरोनाले सबै सत्यानास गरिदियो । टाढा जान नपाएपनि यतै भएपनि यसो रमाइलो गरौँ भनेर आएको ।’

साहसिक खेल खेल्न रुचाउने बरालले यसअघि कुनैपनि साहसिक खेल खेलेकी थिइनन् । जीपलाइन खेलेपछि अरु साहसिक खेल खेल्न समेत आँट आएको उनले बताइन् । ‘योभन्दा पहिला कुनैपनि एड्भेन्चरस गेम खेलेको थिइनँ,’ उनले भनिन्, जीपलाइन खेलेपछि अरु गेमहरू पनि खेल्ने आँट आएको छ । अब छिट्टै प्याराग्लाइडिङ र बन्जी जम्प पनि गर्छु ।’

बनेपाबाट दिदी र दाइसँग जीपलाइन खेल्न आएका अमिर गौतमलाई पनि जीपलाइन खेल रमाइलो लाग्यो । उनी पनि दिदी र दाइसँग तिहार मनाउन जीपलाइन आएका हुन् । ‘तिहारमा दिदी र दाइसँग रमाइलो गरौँ भनेर आएको,’उनले भने, ‘सुरुमा अलि डर लागेपनि पछि साह्रै रमाइलो भयो । अर्कोपटक फेरि साथीहरूसँग आउनुपर्ला ।’

धुलिखेल जीपलाइन २०७५ फागुनदेखि सञ्चालनमा आएको हो । ‘जिपलाइन’ अर्थात् डोरीमा झुण्डिएर खेलिने खेलको कारणले पनि धु्लिखेलको ख्याति  बढ्दो  छ । काभ्रेपलाञ्चोकको धुलिखेल-८, थाक्लेडाँडाबाट सुरु हुने जीपलाइन पाँचखाल-५, खावामा गएर अन्त्य हुन्छ । करिब ११ सय मिटरको दूरीमा रहेको जीपलाइनमा दिनमा ६० जनासम्मले खेल्न सक्छन् । 

‘क्लासिक’, ‘सुपरम्यान’ र ‘टेन्डम’ अर्थात् जोडी गरि तीन प्रकारका जीपलाइन धुलिखेलमा खेल्न पाइन्छ । कोभिडको कारण केही समय जीपलाइन बन्द भएको थियो । तर, फेरि असोज १७ गतेदेखि सञ्चालनमा आएको छ । चाडपर्व लक्षित गरेर अहिले जीपलाइनको शुल्कमा ३० प्रतिशत छुट समेत गरेको छ । सामान्य समयमा धुलिखेल  जीपलाइनले ‘क्लासिक’को दुई हजार पाँच सय‘सुपरम्यान’ को तीन हजार पाँच सय र ‘टेण्डम’ अर्थात् जोडी जिपलाइनलाई चार हजार पाँच सय शुल्क लिंदै आएको छ । जिपलाइनसँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिइएको छ । छुटको अफर आइतबार (आज) देखि समाप्त भएको छ । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x