समाज

आत्मदाह प्रकरण: आचार्यकी श्रीमतीले कसलाई के–कस्तो आरोप लगाइन् ?

किशोर बुढाथोकी |
माघ १२, २०७९ बिहीबार २१:३ बजे

प्रेमप्रसाद आचार्य/ तस्बिर साैजन्य, सागर लुँइटेल

काठमाडौं– आत्मदाह गरेर मृत्यु भएका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले नेपाल सरकारसहित १२ संस्था तथा व्यक्ति विरुद्ध किटानी उजुरी दिएकी छिन् । बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेकी हुन् ।

उनले विभिन्न संस्था र व्यक्तिमाथि आरोप लगाउँदै मुद्दा दर्ता गरेकी हुन् । विद्यालय, डिपार्टमेन्ट स्टोर, केही उद्योगसहित व्यक्तिलाईसमेत उनले आरोप लगाएकी छिन् ।
शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुअघि प्रेमले लेखेको फेसबुक स्टाटसलाई आधार मानेर उनले जाहेरी दिएको बताएकी छिन् । स्टाटसमा प्रेमले आरोप लगाएकाहरु कसूरदार भएको दाबी गर्दै आवश्यक कानुनी कारबाहीसहित क्षतिपूर्तिसमेत माग गरेकी छिन् ।


उनले काथबोर्ड इन्टरनेसनल कलेज, सान इन्टरनेसनल कलेज, सुजुकी सोरुम, इलाम सूर्याेदय नगरपालिका–११ टेकबहादुर राईको साङपाङ डेरी, नेपाल ग्रामोध्योग कम्पनी र त्यहाँका सञ्चालक उपेन्द्र महतो एवं समताप्रसाद, गोल्यान एग्रो, अनिल बस्नेत मेरो तरकारी डट कम, डाबर नेपाल प्रालि, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारमाथि जाहेरी दिएकी हुन् ।

आत्मदाह गर्नुअघि पोष्ट गरेको मृत्युकालीन घोषणालाई फेसबुकबाट उतारेको प्रमाण र शंकाको आधारमा १२ कसूरदारहरु रहेको किटानी जाहेरी पेस गरेको उनले बताएकी छन् । यिनैका कारण श्रीमान्ले आत्मदाह गर्नुपरेको उनको भनाइ छ ।

उनले काथबोर्ड कलेजलाई विद्धार्थीलाई 'टुर'मा लैजाँदा पाउनुपर्ने रकम भुक्तानी न दिएको र त्यसबापत १ लाख ७५ हजार रुपैयाँ जरिवानाको दाबी गरेकी छन् ।
उनले मुलुकी अपराध–संहिता २०७४ को दफा १८५ विपरीत ‘आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने’ कसूर लगाएकी छिन् ।

त्यस्तै सान कलेज नक्सालमाथि अधिकारीले मुलुकी अपराध–संहिता २०७४ को दफा १८५ विपरीतको कसूर लगाएकी छिन् । उनले सान कलेजमाथि विद्यार्थीलाई 'टुर प्याकेज'मा लैजाँदा पाउनुपर्ने रकम भुक्तानीको रकम नदिएको कसूर सविवरण जाहेरी पत्रमा जनाएकी छिन् । 

त्यस्तै सुजुकी सो रुमलाई श्रीमान प्रेमप्रसादसँग चार लाख रुपैयाँ खाएको आरोप लगाएकी छिन् । उनले कार खरिद गर्दा एनआइसी एसियाले फाइनान्स गरेको र ६ लाख डाउनपेमेन्ट गरेको र बाँकी किस्ता तिर्ने गरी गाडी निकाल्दा दुई लाख समयमा दिन नसकेपछि सुजुकीले गाडी फिर्ता गराएको कारण पनि श्रीमान् तनावमा परेको अधिकारीले बताएकी छिन् ।

जाहेरीमा उनले आफ्नै वडाका तत्कालीन वडाअध्यक्ष टेकबहादुर राईको साङपाङ डेरीले ३ लाख र १० लाख गरी दुई पटक अनुदान खाइदिएको आरोप लगाएकी छिन् । एउटै फर्मले पटक-पटक अनुदान लिएको तर हामीजस्ता उद्यमी गर्नेले भने नपाएको उनको भनाइ छ ।

नेपाल ग्रामोध्योग कम्पनीका सञ्चालक डा. उपेन्द्र महतो र समताप्रसादले आफ्नो लिनुपर्ने रकम नदिएकाले श्रीमानको यस्तो अवस्था आएको उनले बताएकी छिन् । सुरुमा लिनुपर्ने भन्दा बढी एड्भान्ससमेत दिने कम्पनीले पछि रकम नै दिन छाडेको उनको भनाइ छ ।

सो कम्पनीले आचार्यबाट लिएको घिऊ लामो समयसम्म राख्ने अनि पैसा माग्दा घिऊको समयअवधि सकिएकाले फिर्ता लैजान दबाब दिन थालेका थिए । प्रेमकी श्रीमती अधिकारीले सो कम्पनीले आफ्नो पैसा फिर्ता गर्नुपर्नेुसमेत बताएकी छिन् ।

मुलुकी अपराधसंहिता २०७४ को दफा १८५ विपरीत कसूर लगाउँदै उनले गोल्यान एग्रोका पवन गोल्यानविरुद्ध पनि जाहेरी दिएकी छिन् । कसूरको विवरण उल्लेख गर्दै उनले ११० कार्टुन घिउ अर्डर गरेर काठमाडौं ल्याएपछि अर्डर क्यान्सिल गरेको जनाएकी छिन् । ‘मार्केटमा डिमान्ड छैन भनेर ठूलो रकमको सामान बिगारिदिए, व्यर्थैमा तनाव दिए’ उनले भनिन्, ‘सामान बनाएर इलामबाट काठमाडौं र फेरि अर्डर क्यान्सिल गरेर काठमाडौंबाट इलाम फिर्ता गर्दा मलाई कति घाटा भयो होला ?’

त्यस्तै उनले अनिल बस्नेतमाथि पनि किटानी दिएकी छिन् । बस्नेत मेट्रो तरकारी डट कमका सञ्चालक हुन् । उनले आचार्यबाट गुन्द्रुक र तामा लगेका थिए । बस्नेतले सो सामान दुबईमा लगेर बेचेका थिए । उनले गुगल फेसबुकबाट प्रचार गरेर सामान लगेका थिए । तर पैसा आजसम्म नदिएको उनको भनाइ छ ।

आचार्यपत्नी अधिकारीले डावर नेपाल प्रालिका शंकर पन्तविरुद्ध पनि जाहेरी दिएकी छिन् । उनले भनेकी छिन्, ‘के तपाईहरुले सोझालाई लुट्न भनेर कम्पनी खोल्नुभएको हो ?’ उनले डाबर नेपाल बारामा घिउ पठाएबापत पन्तले कमिसन मागेर दुख दिएको बताएकी छिन् । लामो समयपछि अपुरो रकम भुक्तानी भएकोसमेत उनले उल्लेख गरेकी छिन् ।

त्यस्तै कन्याम इनबाट कम्तीमा १० लाखको पूर्ती दाबी गरेकी अधिकारीले जाहेरी पत्रको कसूरको विवरणमा लेखेकी छन्, ‘५ वर्षको करार ६ महिनामै भंग गरी होटल सञ्चालन गर्नबाट वञ्चित गराई अपुरणीय क्षति पुर्‍याएको ।’

त्यस्तै झापा धुलाबारीका अनिल भेटवालले कहिल्यै पास नहुने कवाडी गाडी दिएर सताएको उनले जाहेरीमा उल्लेख गरेकी छिन् । भेटवाललाई ५ लाख ५० हजारमा ४ लाख ५० हजार तत्काल दिने भन्दा उनले चेक बाउन्सको मुद्दा हालेर पक्राउ गर्न लगाउने भन्दै पूरै पैसा लिएको जाहेरीमा भनेकी छिन् ।

उनले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङमाथि पनि जाहेरी दिएकी छिन् । उनले जाहेरीमा कसूरको विवरणमा भनेकी छिन्, ‘गुरुङजी तपाईँलाई मैले ३० प्रतिशत मार्जिन दिनुपर्ने ? अनि साना उत्पादकले तपाईँको मार्ट भरिदिनूपर्ने, त्यो पनि उधारोमा ?’

गुरुङले १ महिनाका लागि भनेर सामान लिएपनि ३ महिनासम्म पैसा नदिने गरेको आरोप लगाएकी छिन् । भाटभटेनीमा सामान दिएबापत पैसा दिन झुलाउने, कहिले काठमाडौं, कहिले विराटनगर बोलाएर दुःख दिने गरेको उनको भनाइ छ । चेक दिँदा पनि नाम नमिलेको अनि सच्याउनुपर्ने चेक दिने गरेर हैरानी दिने गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

संसद् भवनअघि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती अधिकारीले नेपाल सरकारविरुद्धसमेत किटानी जाहेरी दिएकी छिन् । नेपालको संविधानले प्रदान गरेको प्रत्येक नेपालीलाई सम्मानपूर्वक बाँच्न पाउने लगायतका मौलिक हकको रक्षा गर्न नसकेको आरोप लगाएकी छिन् ।

उनले कसूर गर्ने व्यक्तिको आमा बुवाको नाम, थप हुलिया, ठेगाना अनुसन्धानबाट बुझ्नसमेत आग्रह गरेकी छिन् । आफ्ना श्रीमानको मृत्यु भएकाले संसद भवनमा भएको घटनाबारे उनले यथार्थ छानबिनकोसमेत माग गरेकी छिन् । ‘उक्त घटना कसरी भयो मलाई थाहा भएन, आवश्यक अनुसन्धान गरी पाउँ’ उनले भनेकी छिन् ।

कसुरदारहरुलाई पक्राउ वा आवश्यक सम्पूर्ण आनुसन्धान गरी, सत्य तथ्य पत्ता लगाइ, पीडित परिवारलाई प्रगति विवरण सम्बन्धी वास्तविकता जानकारी गराउँदै, आवश्यक कानुनी कारबाही सजाय गरी संहिताको दफा १८६ बमोजिम क्षतिपूर्ति समेत दिलाई भारी पाउन उनले माग गरेकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेश राज मैनालीले प्रेमकी श्रीमती नानुका अधिकारीले १२ जना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको जानकारी दिएका छन् । उनले यस विषयमा छिट्टै छानबिन गर्ने बताए ।

इलामका आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा आगो लगाइ आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर हस्पिटलमा निधन भएको थियो । उनले मृत्युपत्र फेसबुकमार्फत सार्वजनिक गर्दै आत्मदाह गरेका थिए । उनको शव अहिले टिचिङ अस्पताल महाराजगञ्जमा छ । 

मृतकका साढुभाई सागर लुईटेलले घटनाबारे उचित छानबिन गरी न्याय दिने वातावरण नबनेसम्म आचार्यको पोष्टमार्टम नगर्ने बताएका छन् । उनले भने, 'विभिन्न व्यक्तिहरूले दिएको तनावका कारण दाइको यो अवस्था भयो, कम्तीमा उहाँले फेसबुकमार्फत सार्वजनिक गर्नुभएकाहरूलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो । सरकारले हाम्रा माग पुरा गरेर न्याय दिने वातावरण तयार नभएसम्म हामी शवको पोष्टमार्टम गर्दैनौं ।' 

यस्ता छन् परिवारका मागहरू

सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार मार्फत माननीय गृहमन्त्रीज्यू,
सिंहदरवार काठमाडौं ।
सम्माननीय ज्यु,
विषय  मागपत्र पेश गरेको सम्बन्धमा

सम्पूर्ण नेपालि देश विदेश स्थित रहनु भएका शुभचिन्तकहरूलाई अवगत नै भएको विषय नै हो( बानेश्वर स्थित भएको कृषि युवा व्यवसायीको बिद्रोह स्वरूप गरेको आत्मदाह । प्रस्तुत सन्दर्भमा हामी परिवारजनलाई जति पिडा भएको छ यहाँहरुलाई शव्दमा व्यक्त गर्ने कुरा नै रहेन । मृतकको परिवारजन गरिखाने स्थितिमा रहन राज्यले तत्कालिन सहयोग युवा व्यवसायीलाई राज्यले गर्नुपर्ने सम्बोधन लगायतका मागहरू देहाय अनुसार प्रस्तुत गर्दछौ ।
१. स्व. प्रेमप्रसाद आचार्यले उठाउनु भएको २५ बुदे सुझावहरू मागहरू सम्बोधन हुनुपर्ने । 
२. स्व. प्रेमप्रसाद आचार्यले बाध्य बनाएर आत्मदाह गर्न उत्प्रेरित गर्नेलाई कानुनी कारवाही गर्नुपर्ने ।
 ३. किसान र कृषिउपजलाई विना अवरोध र नगदमा नै कारोबार गर्ने व्यवस्था मिलाउनु पर्ने ।
४. बैक तथा वित्तीय संस्थाले गरिरहेको चर्को व्याजदर कम गर्ने तथा सरल कर्जा सहज रूपमा उपलब्ध गराउनुपर्ने ।
५. स्व. प्रेमप्रसाद आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनु पर्ने ।
६. नावालक सन्तानलाई उनीहरूले चाहेको विद्यालय शिक्षा देखि निशुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गर्नुपर्ने ।
७. स्व. प्रेमप्रसाद आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नुपर्ने ।
८. राज्यले प्रदान गरेका कृषि अनुदानको निश्पक्षताको विषयमा अनुसन्धान गर्नुपर्ने । 
९. कुनैपनि युवाले राज्यको नीतिको कारणले मृत्युवरण गर्नुपर्ने अवस्था सृजना नहोस् । 
१०. आर्थिक लेनदेन तथा उधारो बजार सम्बन्धी कानून तत्काल ल्याउनुपर्ने ।
माथि उल्लेखित मागहरू सम्बोधन हुने लिखित प्रतिबद्दता राज्यका तर्फबाट नभएसम्म मृतकको लाश टिचिङ अस्पतालबाट नउठाउने र अन्तिम संस्कार समेत नगर्ने जानकारी गराउँदछौ ।


Author

थप समाचार
x