समाज

पल्लो बेडमा लास, वल्लो बेडमा सन्त्रास

कोभिड-१९ संक्रमितको मृत्यु भएपछि समयमै उठाइँदैन शव

सुनीता साखकर्मी |
बैशाख १८, २०७८ शनिबार २०:३८ बजे

‘अझै आइपुगेन आर्मी ?’ 

नवराज दाहालको अनुहारमा कान्ति हराएको थियो । उनको अनुहारमा थोरै रिस, थोरै डर र धेरै चिन्ता झल्किन्थ्यो । उनले अर्को समूहलाई ‘शव कतिखेर उठाउँनुहुन्छ हुन्छ ?’ भन्दै प्रश्न गरिरहेका थिए । 


शनिबार दिउँसो ३ बजे मीनभवनस्थित सिभिल अस्पतालको कोभिड वार्ड बाहिर सन्त्रास फैलिएको थियो । बिहान ६ बजे कोभिड–१९ संक्रमणबाट एक महिला बितेकी थिइन् । ती महिलाका आफन्तहरू शव बुझ्न अस्पतालको कोभिड वार्ड बाहिर बसिरहेका थिए । 

मृतकका आफन्तलाई नवराजले भने,‘उता बेडमा तपाईंको मान्छेको खुट्टा हरियो भइसक्यो।’

आफन्त मध्येका एकले आश्चर्य मान्दै सोधे,‘शव छोपेको छैन र?’ 

नवराजले ‘मुखमात्रै छोपेर शरीर त्यत्तिकै राखिदिएको छ’ भनेपछि आफन्त केही बोलेनन् । 

भिडियो हेर्नुहोस् :

सिभिल अस्पतालमा शनिबार बिहानै तनहुँकी ४३ वर्षिया महिलाको मृत्यु भयो । तर, दिउँसो ३ बजेसम्म पनि उनको शव अस्पतालबाट उठेन । जुन बेडमा महिलाको प्राण गयो, त्यही बेडमा उनको शव राखिएको थियो । त्यसैको ओल्लो बेडमा पल्टिरहेकी थिइन् नवराजकी ७० वर्षिया आमा । 

कोभिड संक्रमणले उसै त त्रासमा रहेकी नवराजकी आमा, शवकै छेउमा एक्लै लामो समय बस्नुपरेपछि के अवस्था भयो होला ? नवराज सुनाउँदै थिए,‘बिहानदेखि अहिलेसम्म शव बेडमै छोडिदिएको छ, शवको खुट्टै हरियो भइसक्यो, त्यो देखेर आमा तर्सिनुभएको छ, बिहानदेखि आमाले खाना खान मान्नुभएको छैन । त्यो शव अहिलेसम्म नउठाइदिँदा झनै डराइरहनुभएको छ ।’ 

बानेश्वरका ४७ वर्षिय नवराजकी आमा दमको रोगबाट पीडित छिन् । हप्ता दिनअघि कोभिड संक्रमण भएपछि आमालाई उनले अस्पतालमा भर्ना गरेका थिए । दिनको तीन÷पटक आमाकहाँ पुग्छन् उनी । आमालाई आवश्यक सामग्री नवराजले नै आमासम्म पुर्‍याउने गरेका छन् । शारीरिक रूपमा कमजोर भएकी आमा मानसिक रूपमा कमजोर नहोउन् भनेर ढाडस दिने गर्थे । 

तर, आफुभन्दा कम उमेरकी महिला यसरी आँखै अगाडि बितेपछि आमा झनै डराएको नवराज सुनाउँछन् । सामान्य अवस्थामा भएकालाई त डर लाग्ने अवस्थामा उनकी आमा त रोगसँग लड्दै छिन् । सामान्य अवस्थामा आइरहेकी आमालाई डरको कारण झनै गाह्रो हुने होकि भन्ने चिन्ता उनलाई छ । 

‘अस्पतालमा भनेको, आर्मीले उठाउने भन्छ । कतिखेर उठाउने हो । आर्मीको बाटो हेरेर बस्ने रे । बिहान ६ बजे बितेको लास, बेलुका ६ बजेसम्म राख्ने हो कि,’ नवराज भन्छन्, ‘पहिले पो एक दुई जना हुन्थ्यो, अहिले त हरेक अस्पतालमा मृत्यु भएका होला । आर्मी आउन ढिलो होला, लास थुपारेर राख्ने कुरा भएन । अस्पतालको प्रशासनले लासघर तिर लाने हो कि कता लगेर व्यवस्थापन गर्ने हो, टाइमटेबल हुनुपर्छ । हामी उपचार गर्न आएको, डराइडराइ बस्न आएको होइन, अस्पताल प्रशासनले बुझ्नुपर्छ ।’ 

यता कोभिड संक्रमणबाट मृत्यु भएकी जेठी छोरीको शव त्यत्तिकै छोडिएको अवस्था सुनेर झनै दुखी बने बुवा केशव पौडेल । ६५ वर्षका पौडेल छोरीको शव बुझ्न कुरिरहेका थिए । 

‘हामीले छुन पाउने हैन, देख्न पाउने हैन, आर्मीले नै गाडीमा हालेर लाने भनेको छ । यत्तिका बेर भइसक्यो खै कहिले आउने हो ?’, पौडेल भन्छन्,‘मृत्युको खबर सुनेर तनहुँबाट आफन्त काठमाडौं आइपुगिसके, नौ घण्टा भइसक्यो कुरेको कुर्‍यै मात्र भयौँ ।’

ब्लड क्यान्सरबाट पीडित थिइन् उनकी छोरी । कोभिड परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि चैत २९ गते उनलाई सिभिलमा भर्ना गरिएको थियो । सातौँ केमो थेरापी गरेपछि थप उपचार गराउँदै थिइन् । पछिल्लो केही दिनमा उनमा कोभिड लक्षण देखियो । शुक्रबार बेलुकी साढे ७ बजेमात्रै कोभिडको रिपोर्ट ‘पोजेटिभ’ आएपछि उनलाई कोभिड वार्डमा सारिएको बुवा पौडेलले सुनाए । 

‘बेलुकी डाक्टरले अक्सिजन दिनुपर्छ भने, अक्सिजन दिँदादिँदै बिहान उनले छोडेर गइन्,’ पौडेल भन्छन्, ‘छ बजेदेखि उनको शरीर अलपत्रै छ । आर्मीहरू आउँछन्, पोको पारेर लिएर जान्छन् भन्छन् भनेको छ । कसरी आउँछन्, कतिबेला आउँछन्, कतिजना आउँछन्, के लिएर आउँछन्, के–के गर्छन्, केही थाहा छैन । हामीले त पशुपतिको विद्युत् गृहमा लैजाने भनेको । खै कहिले आइपुग्छ ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x