समाज

गुम्दै राज्यको लाखौं राजश्व

पर्साका ठाउँठाउँमा ट्राफिक प्रहरीको 'अवैध असुली'

सुभाष कर्ण |
पुस २६, २०७९ मंगलबार ११:२९ बजे

फाइल तस्बिर

वीरगंज - पर्सा ट्राफिक प्रहरीले 'अवैध असुली' गर्दै आइरहेको चालकहरूले गुनासो गरेका छन् । जिल्ला ट्राफिक प्रहरीले रक्सौल नाका हुँदै आउने ओभरलोड मालवाहक गाडीबाट अवैध असुली गर्दै आएको उनीहरूको गुनासो छ । ट्राफिक प्रहरीले पर्साको भन्सारमै रहेको ड्राईपोर्ट पोष्टदेखि विभिन्न ट्राफिक बिटमा कानुनविपरीत प्रवेश शुल्कको नाममा एक सयदेखि ५०० रुपैयाँसम्म असुल गरेर कुनै रसिद नदिने गरेको उनीहरूको गुनासो छ ।

भारतबाट रक्सौल बोर्डर हुँदै आइसीपीबाट नेपाल छिर्ने ओभरलोड ट्रक, कन्टेनर, जीप, ट्याक्टरलगायतका मालबाहक गाडीबाट प्रवेश शुल्कको नाममा वीरगंजका विभिन्न ठाउँमा राखिएका ट्राफिक बिटमा ट्राफिक प्रहरीले प्रवेश शुल्कको नाममा एकसयदेखि दुई सय र  ओभर लोड तथा पुराना मोडलका चल्न नसक्ने मापदण्ड विपरीतका गाडी रहेको भनेर थप पाँच सय रुपैयाँसम्म अवैध असुल्ने गरेको चालकहरू बताउँछन् । 


चालकहरूका अनुसार, 'ड्राईपोर्ट, परवानीपुर चोक, र गण्डक पोष्टमा एक सयदेखि दुई सयका दरले र पावर हाउस तथा बहुअर्वा भट्टामा एक सयका दरले रकम लिने गरेको छ । यी बाहेक ओभरलोड भनेर पाँचसय रुपैयाँ लिने गरेको छ । तर त्यसवापत् कुनै रसिद दिइँदैन ।'

भारतको गुजरातबाट मालसामान बोकेर आएको बी १२ एन ४२०२ नम्बरका ट्रक चालक सुखबिर सिंहले भने, 'बोर्डरको आईसीपीबाट छिर्नवित्तिकै ड्राईपोर्टदेखि वीरगंजको विभिन्न चोकहरूमा प्रवेश शुल्कको नाममा एक सयदेखि दुईसय रुपैयाँ र ओभरलोड भनेर थप पाँच सय रुपैयाँ लिने गरेको छ, जसको कुनै रसिद दिइँदैनन् ।

त्यस्तै भारतको बिहारबाट धान लिएर आएका यूपी ८३ एम ९०९८ नम्बर ट्रकका चालक अमरेन्द्र महतोले पनि प्रवेश शुल्कको नाममा यहाँका ट्राफिक प्रहरीले विभिन्न ठाउँमा रकम लिने गरेको तर, त्यसको रसिद माग्दा रजिष्टरमा इन्ट्री भइसक्यो भनेर टार्ने गरेको बताए । 

यति मात्र होइन सामान अनलोड गरी खाली ट्रक लिएर भारत जाने बेलामा समेत करिब तीन ठाउँमा बिना रसिद पाँच सय तिर्नु परेको चालकहरूको गुनासो छ ।

ओभरलोड मालवाहक गाडीलाई क्षमताभन्दा बढी पाँच टन कम बोकेका गाडीलाई एक हजार ५०० देखि दुई हजारसम्म ट्राफिक प्रहरीले जरिवाना गर्ने र ती पाँच टनभन्दा बढीलाई कारबाहीका लागि यातायात कार्यालय पठाउनुपर्नेमा त्यसो नगरी ट्राफिक प्रहरीले थप पाँच सय भारतीय रुपैयाँसम्म लिने गरेको श्रोतको दाबी छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पुस १६ गतेसम्म साढे ६ महिनामा एउटा पनि ओभरलोड मालवाहक वा पुराना मोडलका मालवाहक गाडी जरिवानाका लागि यातायात कार्यालयमा पठाइएको छैन । अवैध असुलीको हल्ला चलेपछि पुस १७ गतेदेखि भने यातायात कार्यालयमा जरिवानाका लागि गाडी पठाउन थालिएको छ। पुस १७ देखि २४ गतेसम्म आठ दिन ३६ वटा गाडी ट्राफिकले कारबाहीका लागि पठाएका छन् । ती मात्र ३६ वटा गाडीबाट पाँच लाख ६४ हजार ४४ हजार रुपैयाँ जरिवाना असुल भएको छ ।

यातायात व्यवस्था कार्यालय पर्साका प्रमुख रेगमीका अनुसार चालु आ.ब. को पुस १६ गतेसम्म एउटा पनि मालवाहक गाडी कारबाहीका लागि पठाइएको छैन । तर पुस १७ गतेदेखि जिल्ला ट्राफिक कार्यालयबाट २४ वटा र प्रादेशिक ट्राफिक कार्यालयबाट १२ वटा गाडी कारबाहीका लागि मात्र पठाइएको छ । 'जिल्ला ट्राफिक कार्यालयले कारबाहीका लागि पठाएको ओभरलोड २४ वटा मालवाहक गाडीबाट तीन लाख २३ हजार ४ सय ५ रुपैयाँ र प्रदेशिक ट्राफिक  कार्यालय पथलैयाबाट पठाइएको १२ वटा ट्रकबाट जरिवाना वापत् २ लाख ४० हजार ६ सय ३९ रुपैयाँ असुल भएको छ,' उनले भने ।

उक्त नाकाबाट दैनिक पाँच सयभन्दा बढी गाडी आउने गरेका छन् । जसमा औसत तीन सयमात्रै जरिवाना काट्दा दैनिक डेढ लाख बढीको राजश्व उठ्नुपर्ने हो । भारतबाट नेपाल छिर्ने अधिकांश गाडी ओभरलोड नै हुन्छन् । प्रहरीले जरिवाना नकाटेर अवैध असुली गर्दा राज्यको लाखौँ राजश्व गुमेको छ ।

 तलदेखि माथिसम्म 'सेटिङ'
अवैध असुलीमा बिटमा खटिने प्रहरीदेखि जिल्ला ट्राफिक इन्चार्जसम्मले भाग लगाउने गरेका छन् ।  स्रोतका अनुसार ड्राईपोर्ट तथा आईसिपी बिटमा खटिएका इन्चार्जले असुलेको अवैध रकम जिल्ला ट्राफिक इन्चार्जलाई दैनिक हजारौँ रुपैयाँ बुझाउनुपर्छ ।

ड्राईपोर्ट चोकदेखि परवानीपुर चोक, गण्डक पोष्ट, पावरहाउस चोक, जगरनाथपुर चोक र बहुअर्वा भट्टा सहितका ट्राफिक पोष्ट तथा बीटमा खटेका ट्राफिक प्रहरीले दैनिक एक हजार रुपैयादेखि ९/१० हजारसम्म ड्यूटीमा खटेका ट्राफिकले इन्चार्जलाई बुझाउने गरेको श्रोतको दाबी छ । ती अवैध असुली रकमबाट प्रादेशिक कार्यालयदेखि माथिल्लो केन्द्रीय तहसम्म रकम जाने गरेको श्रोतको भनाइ छ । दैनिक रूपमा ती बिटहरूबाट दैनिक अढाइ लाखदेखि ३ लाख रुपैयाँसम्म अवैध रुपमा असुल्ने गरिएको छ ।

 ट्राफिक प्रमुख भन्छन्- यदि त्यस्तो गरेको पाइए कारबाही गर्छौं

मधेश प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारी ट्राफिक प्रहरीमाथि लगाइएको आरोप निराधार रहेको दाबी गर्छन् । कहीँकतै अवैध असुली नगरिएको उनले दाबी गरे । कुनै पनि ट्राफिक प्रहरीले आफ्नो जागिर दाउमा राखेर यस्तो गलत काम गर्नै नसक्ने उनको तर्क छ । यदि त्यस्तो गरेको पाइए कारबाही गरिने उनले बताए ।

यातायातमा ६ महिनाको अवधिमा एउटा पनि गाडी कारबाहीको लागि नपठाइएको बारे प्रवक्ता भण्डारीले भने, 'अधिकांशलाई प्रहरीले नै जरिवाना लिने गरेको छ, केही गाडी यसबीचमा हामीले पठाएको छौं ।'

यस्तै जिल्ला ट्राफिक प्रमुख ध्रुव दाहालले पनि अवैध असुलीबारे ठाडै अस्वीकार गरे ।  'कुनै ट्राफिक प्रहरीले आफ्नो जागिर धरापमा राखेर यस प्रकारको अवैध रकम असुली गर्न सक्दैनन्,' उनले भने । यदि त्यस्तो गरेको पाइए कारबाही गर्ने उनले पनि दोहोर्‍याए । 

तर उनलाई नाकाबाट दैनिक कति सवारी आउँछन् भन्न‍े पनि जानकारी रहेन छ । यसबारे आफूलाई जानकारी नभएको भन्दै ड्राईपोर्टमा खटिएका इन्चार्ज सन्तोष भण्डारीलाई सम्पर्क गर्न भने । भण्डारीले ड्यूटीमा खटेका निरज यादवसँग सम्पर्क गर्न भने । उनले पनि संख्या थाहा नभएको भन्दै आईसीपीमा सम्पर्क गर्न भनेर टारिदिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x