समाज

कोभिड संक्रमितको तिहार

जसले गर्दैछन् भाइटिका 'मिस'

सृजना खड्का |
कात्तिक ३०, २०७७ आइतबार ७:० बजे

काठमाडौं : सोनाली वाग्ले (ललितपुर, झम्सीखेल बस्ने) का भाइ विदेशमा छैनन् । यो वर्ष उनीहरूको घरमा जुठो पनि परेको छैन् । महिनावारी भएका बेला टिका नलगाउने उनी यसपाली महिनावारी पनि भएकी होइनन् । तर, पनि यसवर्ष उनले तिहार मनाउन नपाउने भएकी छिन् । तिहारमा भाइलाई टिका लगाउन माइत जान नपाउने भएकी छिन् ।

किनकी, उनको बुबामा कोभिड-१९ पोजेटिभ देखिएको पाँच दिन भयो । ‘बुबालाई पोजेटिभ देखिएपछि बुबासँगै भाइ र घरका सबैजना ‘होम क्वारेन्टाइन’मा बसिरहेका छन्,’ उनले भनिन्, ‘यो वर्ष तिहार मनाउन नपाए पनि उहाँहरूलाई चाँडै निको होस् भन्ने चाहन्छु ।’ टिका लगाउन नपाए पनि तिहारको दिन भर्चुअल टिका लगाउने उनको सोच छ । ‘मिल्यो भने भिडियो कलबाटै भाइटिका लगाउनुपर्ला,’ उनले भनिन्, ‘नजिकै भएर पनि भाइ विदेश गएको भन्दा चर्को भयो,’ उनले दुखेसो पोखिन्, ‘यस्तो त कसैलाई पनि नपरोस् । यो वर्ष मनाउन नपाए पनि अर्को वर्ष त मनाउन पाइएला नि !’


काठमाडौं सामाखुशी बस्ने उन्नति तिमल्सिना (२६) यसवर्ष तिहारमा दाइलाई टिका लगाउन नपाएकोमा दुखी छिन् । उनको दाइलाई पनि कोभिड पोजेटिभ देखिएको दुई हप्ता भयो । उनका दाइले १४ दिनपछि चेक गराएका थिए । तर, फेरि पनि पोजेटिभ नै आयो । कोभिड नेगेटिभ आउँला र टिका लगाउन पाइएला भनेर उनी दंग परेर बसेकी थिइन् । तर, सोचेको जस्तो भएन । ‘दसैँमा डराई–डराई भएपनि टिका लगाउन पाइएको थियो,’ उनले भनिन्, ‘तिहारमा त त्यो पनि नपाइने भयो । यो वर्ष अहिलेसम्मकै झुर तिहार हुने भयो ।’

उन्नतिका दाजु अहिले होटलमा आइसोलेसनमा बसिरहेका छन् । टिका लगाउन नपाए पनि भिडियो कलमा तिहार मनाउने योजना उनले बुनेकी छिन् । ‘अरु बेला जहिल्यै साइतमा टिका लगाइथ्यो,’ उनले भनिन्, ‘यसपाला साइतमै भिडियो कल गरेर कुराकानी गर्नुपर्ला ।’ यो वर्ष लगाउन नपाए पनि अर्को वर्ष धुमधामले तिहार मनाउने योजना उनले बनाएकी छिन् ।

काठमाडौं पहेलोँपुल बस्ने बिपिन घिमिरे (३२) बिहिनीबाट टिका लगाउन नपाएकोमा निराश छन् । ‘हामी पाँच दाजुभाइकी एउटी बहिनी हो,’ उनले भने, ‘अहिलेसम्म उसको हातबाट तिहारको टिका कहिल्यै टुटेको थिएन । यसपाली छुट्ने भयो । साह्रै दुःख लागेको छ ।’

टिका लगाउन नपाएको भन्दा बढी दुःख बिपिनलाई बहिनीलाई कोभिड लागेकोमा छ । ‘सोसल वर्क’ पढेकी उनकी बहिनी नेपालमा कोभिड देखिएपछि एकदिन पनि घर बसिनन् । ‘कोरोना सुरु भएदेखि उसको घरमा एकदिन बास छैन,’ उनले भने, ‘कहिले खाना बाँड्न, कहिले राहत बाँड्न भनेर हिँडिरहन्थी । अरुलाई बचाउन हिँड्दा ऊ आफैलाई कोरोना लाग्यो ।’

यसवर्ष बिपिन बहिनीको स्वास्थ्यको कामना गरिरहेका छन् । ‘टिका त अर्को वर्ष पनि लगाउन पाइन्छ,’ उनले भने, ‘पहिला बहिनीलाई ठिक भयो भने सबैकुरा ठिक हुन्छ । उ छिटै निको भएर आओस् । उसको लागि हामी सबै मिलेर एउटा ‘सरप्राइज प्लान’ गरेका छौं ।’

आफ्ना त आफ्नै हुन्, रोग आफ्नो होइन 
जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे यसवर्ष इन्टरनेटको सदुपयोग गरेर भिडियो कलबाटै तिहारमा माया र सद्भाव साट्नु उपयुक्त हुने बताउँछन् । ‘सधैँको वर्ष भेटेरै टिका लगाउनुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘एकजना संक्रमित भयो भने परिवारका सबैजना संक्रमित हुने भएकाले ध्यान पुर्‍याउनुपर्छ । आफन्त रिसाउलान् भन्ने डरले आफन्तलाई नै जोखिममा राख्नु हुँदैन । किनभने, आफ्ना त आफ्नै हुन्, रोग आफ्नो होइन ।’

चाडपर्वको नाममा लामो दूरीको यात्रा नगर्न डा. पाण्डे सुझाव दिन्छन् । ‘चाडपर्वको नाममा सकेसम्म सार्वजनिक यातायात नचढौँ,’ उनी भन्छन्, ‘टिका पनि परम्परागत रुपमा नभइ भौतिक दूरी कायम गरेर लगाऔँ । पहिलाका वर्षहरूमा जस्तो धेरै समय लगाएर पूजा गरेर टिका नलगाऔँ ।’

त्यस्तै यसवर्ष टिका लगाउँदा बन्द कोठाभन्दा पनि आँगन वा बरण्डामा बसेर टिका लगाउने सल्लाह उनी दिन्छन् । ‘गुम्म वा बन्द कोठामा भन्दा यसपाली खुला आंगन, बरण्डा वा छतमा बसेर टिका लगाऔँ,’ उनी भन्छन्, ‘यसरी टिका लगाउँदा जोखिम कम हुन्छ । त्यस्तै, मास्क अनिवार्य लगाऔँ । र, एकअर्काले दिएको सामान छोएपछि स्यानिटाइज गर्ने, हात धुने गरौँ ।’

आफ्ना दाजुभाइ वा दिदीबहिनीमा कोरोनाको लक्षण देखिएको छ भने यसपाली टिका नलगाउँदा बेस हुने उनी बताउँछन् । ‘आफ्ना दाजुभाइ वा दिदीबहिनीमा कोभिडको लक्षण देखिएको छ भने फोनबाटै शुभकामना व्यक्त गर्नु राम्रो हुन्छ,’ उनी भन्छन् ।

यसवर्षको तिहारमा बाहिरी मान्छे बोलाउने, तास खेल्ने, देउसी भैलो खेल्ने, भिड जम्मा भएर नाचगान गर्ने जस्ता कार्य बन्द गर्नुपर्ने डा. पाण्डे बताउँछन् । रमाइलो गरे पनि आफ्नै परिवारका सदस्यहरू मात्र मिलेर रमाइलो गर्न उनी सुझाउँछन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x