समाज

दलित महिलालाई पाइला पाइलामा हिंसा

निलिसा बर्मा |
मंसिर २१, २०७९ ११:४१ बजे

बारा जीतपुरसिमरा उपमहानगरपालिका-१० की भागमणि देवी । तस्बिर : निलिसा बर्मा

बारा - रामदुलारी दास बाँचिरहेकी भए कहाँ हुन्थिन् ? बारा नितनपुरका गाउँलेको मनमा बेला बखत यस्तो प्रश्न उब्जन्छ । जिन्दगीभर हिंसाको चपेटामा परेकी रामदुलारी बाँचेको भए सुख पाउँथिन् होला ? विवाहपछि घरेलु हिंसाको सिकार हुँदा माइतै बस्नु परेको रामदुलारीले बाँचुञ्जेल सुख पाइनन्, न मरेपछि न्याय मिल्यो । 

यो हिउँदमा दश वर्ष पुग्छ, उनी बितेको । घर नजिकैको खेतमा सामूहिक बलात्कारको सिकार हुन पुगेकी उनको चित्कार समाजले सुनेन । बलात्कारपछि उनको हत्या भयो, तर यसबारे राज्य संयन्त्र केही बोलेन । अन्यायका १० वर्ष चुपचाप बित्यो, नितनपुरमा । 


बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुरकी रामदुलारी यस्तो हिंसा भोग्ने एक्ली महिला होइनन् । यहाँको दलित बस्तीका एक सय ५० घरपरिवार यौनिक हिंसादेखी जातीय विभेदको अन्यापूर्ण व्यवहारदेखि आजित छ । 

‘हामीलाई कसले मान्छे गन्छ र ?’ छोरीको बलत्कारपछि हत्या गरिएको पीडा भुल्न नसकेका रामदुलारीका बुवा रामजित दास भन्छन्, ‘१० वर्षदेखि न्यायको पर्खाइँमा छु, तर त्यो कहाँ मिल्छ, थाहा नाइ हजुर ।’

हत्यारा को हुन् ? सारा गाउँलेलाई थाहा छ र पनि कारबाहीमा भने कोही परेका छैनन् । यस्तो भएपछि रामदुलारीका पिता दुःखी हुने नै भए । 
श्रीमती भागमणीदेवीसहित ६ सन्तानका साथ बस्दै अएका रामजितले न्याय पाउने आस पनि मारिसकेका छन् ।

बलात्कारपछि हत्या गरिएकी रामदुलारीको चिन्ताले रामरजितको मन सँधै अशान्त छ । उनले आफ्नो जेठी छोरी रामदुलारीको धुमधामसँग विवाह गरेर पठाएका थिए । विवाह भएको केही समयपछि रामदुलारीको श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गए । श्रीमान विदेश गएपछि रामदुलारीको घरका अभिभावकले छोरा नआएसम्म माइतमा गएर बस्न सल्लाह दिए । घरका अभिभावकले छोरा नआउन्जेल राख्न नमानेपछि रामदुलारी माइत आइन् । 

केही समयपछि रामदुलारीले सन्तानको रूपमा छोरालाई जन्म दिइन् । छोरासँगै माइतीमा बस्दै आएका रामदुलारी आमाबुवालाई सहयोग गर्थिन् । खेतीपातीमा ज्यालादारी गरेर जिविका टार्न उनस् छोरालाई आमा भागमणिको जिम्मा लगाएर काम गर्थिन् । यसबीचमै रामदुलारी बलात्कारको सिकार भइन् र मारिइन् । 

घटनालगत्तै रामदुलारीका बुवा रामजितले न्याय खोज्न थाले । प्रहरीसमक्ष घटना पुग्यो तर अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन उनले समाजबाट कसैको साथ पाएनन् ।  ‘हाम्रो त जीवनै बर्बाद भइहाल्यो’ रामजितकी श्रीमती भागमणि भन्छिन्, ‘छोरी पनि गुमायौं, न्याय पनि पाएनौं ।’

रामजितले गाँउकै एक व्यक्तिलाई सापटीवापत केही रकम दिएका थिए । आफूले सापटी दिएको रकम फिर्ता लिन जाँदा पटक–पटक रामजितले दुर्व्यवहार भोगे । रकम फिर्ता माग्न दबाब दिन थालेपछि सोही व्यक्तिको योजनामा छोरीको बलात्कार र हत्या भएको हुन सक्ने दाबी भागमणिको छ ।

घटनामा संलग्न व्यक्ति पहिचान हुँदाहुँदै पनि न्याय प्राप्तिका लागि उनीहरूको पक्षमा बोलिदिने कोही भएन । दोषीलाई कारवाही गर्ने भन्दा पनि घटनालाई साम्य पार्न उनिहरूलाई आर्थिक प्रलोभनको प्रस्ताव आयो । गाँउमै बसेको पञ्चायतले दुई लाखमा घटना साम्य पार्ने प्रयास गरे । तर रामजितको परिवारले उक्त प्रस्ताव स्वीकारेनन् । उनीहरू मृतक छोरीलाई न्याय दिलाउने पक्षमा अडिग रहे ।

दलित र विपन्न भएकै कारण उनीहरूलाई अनेकन प्रलोभनमा पार्ने प्रयास पटक–पटक गरियो । तर उनीहरू मञ्जुर नभएपछि घटनाका मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गर्यो । जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्‍यो । 

अदालतले पूर्पक्षका लागि कारागार पठाएपछि दास परिवारले न्याय मिलेको अनुभूति गर्न थाले । तर उनीहरूले पाएको न्याय केही महिनापछि खोसियो । जिल्ला अदालतको अन्तिम फैसलाबाट मुख्य आरोपित सात लाख धरौटीमा रिहा भए । 

बलात्कार र हत्याजस्तो जघन्य अपराधमा संलग्न व्यक्ति धरौटीमा रिहा गर्ने अदालतको फैसलाविरुद्ध दास परिवार हेटौंडास्थित पुनरावेदन अदालत पुगे । पुनरावेदनले मुख्य आरोपितलाई जन्मकैदको फैसला सुनायो । तर सात लाख धरौटीमा रिहा भएका मुख्य आरोपित कारागारबाट छुटेलगत्तै फरार भए । हालसम्म फरार छन् । दास परिवारका लागि न्याय कागजमा मात्रै सीमित हुन पुग्यो ।

उक्त घटनापछि दासका अन्य छोरीहरू घरबाहिर निस्कन डराँउछन् । उक्त घटनाकै कारणमा समाजमा अपहेलित हुनुपरेको अनुभव भागमणिसँग छ । छोरीहरूले असुरक्षित महसुस गर्न थालेपछि रामजित र भागमणि बाहिर काममा निस्कन्छन् । छोरीहरू घरमै बस्छन् ।

दलित भएकै कारण न्याय पाउन नसकेको पीडा दास परिवारले पोख्ने गरेका छन् । रामदुलारी उक्त समुदायको एउटा पात्र मात्रै हुन् । दलित भएका कारण समाजका विभिन्न किसिमका हिंसाको अनुभव बस्तीका अरु धेरैसँग छ । 

सोही बस्तीकी एक अगुवा महिला सुगन्धी पासवान आफ्नै समुदायबाट सामाजिक हिंसाको शिकार हुन् पुगिन् । चितवनबाट राजवंशीसँग विवाह गरेर सुगन्धी नितनपुर आएकी थिइन् । राजवंशी त्यतिबेला विभिन्न विवाह तथा उत्सवमा केटीको पोशाक लगाएर नाच्ने काम गर्थे । महिलाको पोशाक लगाएर नाचेकै कारण राजवंशीलाई समुदायमा फरक दृष्टिकोणले हेरिन्थ्यो । राजवंशीलाई अनेक शब्द प्रयोग गरेर अपहेलना गरेको महसुस सुगन्धीले गरिन् । 

चितवनबाट नितनपुरको दलित बस्तीमा रहेको झुपडीमा भित्रिएकी सुगन्धीको सुरुवाती दिन निकै कष्टकर वित्यो । श्रीमान राजबंशी नाच्नकै लागि महिनौ दिनसम्म बाहिर हुन्थे । घरपरिवारको जिविका चलाउने जिम्मेवारी सुगन्धीको काँधमा आयो । उनी तरकारी, माछा बेच्न थालिन् । केही समयपछि सुगन्धीले नितनपुर चोकमा खाजा नास्ताको होटल खोलिन् । दलितले होटल चलाएको आरोप सुगन्धीले सामना गर्नुपर्‍यो । 

होटल संचालन गर्दैगर्दा उनले विभिन्न हिंसाको सामना गरिन् । केही समयपछि होटल संचालन गरेको जग्गा जग्गाधनीले अन्यत्रै बिक्री गरेपछि सुगन्धीले होटल व्यवसाय बन्द गरिन् । सोही समयमा सुगन्धीले पहिला सन्तानको रूपमा छोरीलाई जन्म दिइन् । समाजका आरोप बेवास्ता गर्दै दैनिक गुजारा टार्न सुगन्धी काखको छोरीलाई बोकेर काम गर्थिन् ।

सुगन्धीको श्रीमान राजबंशी मुस्लिम समुदायका एक व्यक्तिसँग नजिक थिए । तर राजबंशीले मुस्लिम समुदायसँग सम्बन्ध बढाएको समाजले रुचाएको थिएन् । 

समाजभित्र हुने पूजा, विवाह, भोजमा सुगन्धीको परिवारलाई नबोलाउने निर्णय समाजले गर्‍यो । त्यसपछि सुगन्धीको परिवार समाजबाटै अपहेलित हुन पुगे । उनीहरूलाई समाजमा हुने कुनै पनि उत्सवमा सहभागी गराइएन् । सामाजिक बहिष्कारको सामना गरेर सुगन्धीले आफ्नो परिवारको गुजारा टार्न लागिन् । 

सामाजिक बहिष्कारकै कारण छठ पर्वको समयमा छठघाटमा पूजा सामाग्री राखेर लगिएको सुगन्धीको दौरा स्थानीयले फ्यालिदिए । सुगन्धी उक्त घटनाविरुद्ध प्रहरीसमक्ष पुगिन् । प्रहरीले दौरा फ्याक्ने व्यक्तिलाई केही दिन नियन्त्रणमा राखेर छोडिदिए । 

यता राजवंशी र मुस्लिम व्यक्तिको मित्रताविरुद्ध सामाजिक बहिष्कार गर्ने निर्णय गरेको समाजलाई दण्डवापतको जरिवाना तिरेर सुगन्धीले बहिष्कार फुकुवा गरिन् । दण्डवापत सुगन्धीले बस्तीमा भोजको आयोजना गरिन् । बस्तीमा हुने भोजभतेरका लागि आवश्यक भाडासहितको सामाग्री किनेर दिइन् । उक्त सामाग्री किनेर दिएपछि सुगन्धीमाथी गरिएको बहिष्कारको निर्णय फिर्ता भयो र समाजमा उनलाई सहभागी गराउन थालियो । 

समाजमा हुने पूजा, भोजमा सहभागी हुँदै आएकी सुगन्धीमाथी पुनः सामाजिक बहिष्कारमा परिन् । यसपटक सुगन्धीको परिवार बहिष्कारमा पर्नुको कारण श्रीमान् राजबंशी नभएर उनकी छोरी प्रिती बनिन् । प्रिति नाच्नमा रूचि राख्छिन् । नाच्ने कला राम्रो भएकै कारण दिनप्रतिदिन प्रितीले विभिन्न स्टेजमा कला प्रस्तुत गर्न थालिन् । नाच्ने सौख पूरा गर्न विभिन्न कार्यक्रममा पूरा गर्न थालेकी प्रिति विस्तारै व्यवसायिक हुन थालिन् । पाँच वर्ष अघि जीतपुरमा आयोजित महोत्सवमा पहिलो पटक स्टेज चढेकी प्रिती पारिश्रमिक लिएर नृत्य प्रस्तुत गर्छिन् । 

नृत्यकै कारण प्रिती दिनप्रतिदिन चर्चामा आएको समाजले रुचाएन । प्रितीलाई ‘नचनिया’को छोरी पनि नचनिया भएको भन्दै अपहेलित गर्ने काम सुरु भयो । प्रितीलाई समाजका नागरिकले आफ्नो घरभित्र पस्न समेत दिएनन् । छोरी भएर स्टेजमा गएर नाच्दा बस्तीको बदनाम भएको भन्दै सुगन्धीलाई समाजले प्रितीलाई रोक्न दबाब दिन थाले । प्रितीले समाजको उक्त कुरा मानिनन् । जसका कारण पुनः सुगन्धीले बहिष्कारको सामना गर्नुपर्यो । सुगन्धीको परिवार पछिल्लो दुई वर्षदेखि सामाजिक बहिष्कारमा छ । उनलाई पहिलेजस्तै गाँउमा हुने पूजा, भोजभतेर, विवाहजस्ता कार्यक्रममा बोलाईदैन् । 

आफ्नै समुदायबाट पुनः बहिष्कारमा परेकी सुगन्धी दलित महिला अगुवा समेत हुन् । दलित समुदायमा पनि विभिन्न जात पर्छन् । आफ्नै जातबाट बहिष्कारमा परेको र अन्य जातका दलितले भने बहिष्कार नगरेको सुगन्धी सुनाउँछिन् । पटकपटक आफ्नै समुदायबाट बहिष्कारमा परेकी सुगन्धी दलित समुदाय भित्रको सशक्त महिलामा पर्छिन् । उनि दलितको हकअधिकार र उत्थानका लागि लड्छिन् । दलित समुदायका नागरिकले भोग्ने कानुनी झमेला समाधान गर्न सुगन्धीले भूमिका खेल्छिन् । 

बंगुर पालन व्यवसाय गर्दै आएकी सुगन्धी आफ्नो समय दलित समुदायका नागरिककै लागि खर्च गर्छिन् । समाजमा हुने सामान्य झै–झगडा, विवाद उनी गाँउमै बसेर समाधान गर्छिन् । दलितविरुद्ध हुने जातीय विभेदविरुद्ध आवाज उठाउँछिन् । दलितको अधिकारका लागि लड्ने सुगन्धी आफैँ सामाजिक हिंसाको शिकार बनेकी छिन् । 

छोरी प्रितीको कारण बहिष्कारमा परेपनि आफूलाई फरक नपर्ने उनी बताउँछिन् । समदायका कारण आफूले छोरीको यात्रा रोक्न नसक्ने भन्दै सुगन्धीले छोरीको व्यवसायिक यात्रामा आफूले सधैं सहयोग गर्ने बताउछिन् । कुनै समय आर्थिक अभावको सामना गर्नुपरेको सुगन्धीको परिवारलाई प्रितिका कारण ठुलो राहत मिल्न थालेको छ । सुरुवाती दिनमा ५/१० हजारमा नृत्य प्रस्तुत गर्ने प्रिति अहिले लाखौं रकम पारिश्रमिक वापत लिने गर्छिन् । प्रिती दैनिक जसो विभिन्न कार्यक्रममा व्यस्त हुन्छिन् । नृत्यकै लागि उनी विदेशसम्म पुगेकी छिन् । प्रितीको कार्यक्रम तालिका सुगन्धीले तय गर्छिन् ।

सौख पूरा गर्न पहिलो पटक स्टेज चढेकी प्रिती व्यवसायिक हुँदै गर्दा उनले पनि थुप्रै हिंसाको सामना गर्नुपरेको छ । स्टेज प्रस्तुतिका लागि विभिन्न ठाउँमा पुग्ने क्रममा प्रितीले अपहेलना सामना गरिन् । तर प्रितिले हिंसाविरुद्ध तुरुन्तै आवाज उठाउने गर्छिन् । चर्चाको शिखरमा पुग्दै गरेकी प्रितिलाई विभिन्न फिल्ममा खेल्न प्रस्ताव आउन थालेको छ । तर फिल्मका लागि प्रस्ताव आउँदै गर्दा ‘कम्परमाइज’ गर्नुपर्ने प्रस्ताव पनि सँगै आउँछ । जसका कारण प्रिती फिल्म खेल्न आएका प्रस्ताव अस्वीकार गर्छिन् । व्यवसायिक बन्दै गरेकी प्रिती महिलामाथि हुने हिंसाको विषयमा सचेत छिन् । उनी आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्नेमा पूर्णरुपमा जानकार रहेको बताउँछिन् । जसले गर्दा सुगन्धी छोरी प्रितीको यात्रामा सहयोगी बनेर साथ दिन्छिन् ।

जातीय विभेदविरुद्धको आन्दोलन राजनीतिक दलका मुद्दा बन्छन् । छुवाछुत प्रथा अन्त्य गर्ने विषय राजनीतिक दलका एजेण्डा पनि बन्छन् । तर नितनपुरको एउटा बस्तीमा देखिएको यो दुई फरक घटनाले जातिय विभेदविरुद्धको वर्तमान अवस्था दर्शाउँछ । जातीय विभेद अन्त्य गर्न सरकारी निकाय कार्यसम्पादन प्रभावकारी ढंगले हुन नसकेको कारण समाजमा यस्ता घटनाका थुप्रै उदाहरणका रुपमा भेटिने गरेका छन् । दलित भएकै कारण सामाजिक, शारीरिक, मानसिक हिंसाका शिकार दलित समुदायका नागरिक बन्नुपेको छ । 

बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले दलित भएकै कारण हुने जातीय विभेद र महिला हिंसाका घटना कार्यालयमा नआएको बताउँछन् । दलित समुदायका नागरिकबीच हुने झगडाबाहेक विभेद र हिंसाको घटना पछिल्लो एक वर्षमा प्रहरी रेकर्डमा नरहेको थापाको भनाई छ ।

समाजमा जातीय विभेदका घटना दिनहुँ हुने भए पनि पहुँच नभएका कारण घटना प्रहरीसम्म नपुगेको कलैयाका रामेश्वर राम बताउँछन् । विपन्न वर्गका दलित समुदायले कानुनी प्रक्रियाका लागि जाँदा व्यहोर्नुपर्ने झन्झट, आर्थिक स्रोतको अभावका कारण पनि गाँउको मुद्दा गाँउमै हराउने गरेको रामको अनुभव छ । दलित समुदायको अधिकारका लागि लड्ने विभिन्न संघसंस्था पहुँच भएका व्यक्तिका लागि मात्रै रहेको र ती संघसंस्था लक्षित वर्ग तथा समुदायसम्म नपुग्ने भएका कारण पनि जातिय विभेद र हिंसाका घटना बाहिर आउन नसकेको रामले बताए । 

दैनिक ज्यालादारीमा जिविका टार्ने समुदायका नागरिकले न्याय प्राप्तिका लागि ठूलो आर्थिक भार बोक्नुपर्ने अवस्था छ । न्याय सम्पादन प्रक्रिया छिटो र सरल नभएका कारण पनि समस्या हुने गरेको दलित समुदायका अगुवा बताउछन् । 

जीतपुरसिमरा १८ बडहर्वामा माझी समुदायकी एक महिलाले न्याय प्राप्तिका लागि निकै सास्ती खेपेकी छिन् । आफ्नै घर छेउको मकै बारीमा १९ वर्षीया छोरीलाई बलात्कार गरिरहेको अवस्थामा भेटेकी उनले न्याय पाउन अनेकौ चुनौतीको सामना गर्नुपर्‍यो । 

मानसिक रुपमा अशक्त रहेकी उनकी छोरी स्थानीय युवाले घरबाट मकैबारीमा लगेर बलात्कार गरेको भनाई उनको छ । सोही समयमा घास काटेर फर्कदै गरेकी ती महिलाले मकैबारीमा बलात्कार भइरहेको थाहा पाइन । उनले हारगुहार गर्न थालेपछि बलात्कार गर्ने युवा फरार भए । 
घटनापछि उनले सामाजिक दवावको सामना गर्नुपर्यो । मानसिक सन्तुलन कमजोर रहेको छोरीलाई प्रयोग गरेर बलात्कार गर्ने युवकलाई फसाउन खोजिएको आरोप समेत उनले खेप्नुपर्यो । घटनालाई गाउँमै ढाकछोप गर्न उनलाई दवाव समेत आयो । सुरुमा कानुनी झन्झटमा नपर्ने सोच बनाएकी उनि अन्तिममा आफ्नै आँखा अगाडी भएको बलात्कारको घटनामा चुप बस्न नसक्ने निष्कर्षमा पुगिन् ।

खेती किसानी र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने उनले छोरीलाई न्याय दिन कानुनी लडाई सुरु गरिन् । कानुनी लडाई लड्ने क्रममा उनले सामाजिक दवाव थुप्रै खेपिन् । आर्थिक अभावको सामना गरिन् । उक्त घटनाका कारण गाउँ नै छाडेर हिँड्नुपर्ने अवस्था समेत उनी सामु आए । तर उनी अडिग रहिन् । 

प्रहरी मुचुल्कामा साक्षी बसेका छिमेकी समेत बयान दिन अदालतसम्म पुग्न आनाकानी गर्दा उनि भक्कानिन पुग्थिन् । तर हिम्मत नहारेकी उनी बडहर्वादेखि कलैयासम्म दिनँहु धाएर बलात्कार गर्ने युवकलाई कानुनी कठघरामा तानिन् । हाल ती युवक पूर्पक्षका लागि कारागारमा छन् । घटनाको अन्तिम फैसला आउन बाँकी रहेको उनी बताउँछिन् । 

माझी परिवारले सामना गरेको यो घटनाले समाज सामाजिक अपराध नियन्त्रणमा उत्तरदायी हुन नसकेको प्रष्ट पार्छ । समाजमा हुने यस्ता घटनालाई राजनीतिक संरक्षण समेत हुने गरेको छ । राजनीतिक दलका नेता सकेसम्म आफ्नो पार्टीका कार्यकर्ता जोगाउने तर्फ केन्द्रित हुँदा पीडितले न्याय पाउन नसकेको अवस्था समेत छ । त्यसैले दलित तथा समाजको कुनै पनि समुदायमा हुने हिंसा, छुवाछुत र सामाजिक अपराधविरुद्ध समाजको सबै वर्ग, क्षेत्र, समुदायक, सरकारी संयन्त्र, राजनीतिक दल र नागरिक उत्तरदायी बन्नुपर्ने देखिन्छ ।


Author

थप समाचार
ad
x