समाज

तिहारमा मण्डल

सुनीता साखकर्मी |
कात्तिक २८, २०७७ शुक्रबार ८:१६ बजे

भक्तपुर : कोभिड-१९ को कहर थामिएको छैन । दिनहुँ कोभिड संक्रमित थपिने क्रम बढ्दो छ । कयौँ परिवारका दाजुभाई, दिदीबहिनी वा परिवारजन पनि कोभिडको चपेटमा परी अस्पताल वा आइसोलेसनमा बस्न बाध्य छन् । यस्तोमा तिहार कसरी मनाउने ? के आफ्ना दाजुभाई वा दिदीबहिनीले नछोइकनै भाइटिका पूजा गर्न सम्भव छ त ?  संस्कृतिविद् ओम धौभडेलका अनुसार यो सम्भव छ । त्यो कसरी ? धौभडेल भन्छन्, ‘मण्डलमा पूजा गरेर' ।


नेवार समुदायमा तिहार अथवा स्वन्तिको समयमा वर्षको एकचोटि कार्तिक शुक्ल प्रतिपदाको दिन म्ह पूजा (स्वयम्को पूजा) र त्यसको भोलिपल्ट द्वितियाको दिनमा भाइटीका गर्ने चलन छ । मानिसको शरीरभित्र नै देउता हुन्छ भनेर सबैभन्दा पहिले आत्मा सन्तुष्ट गर्नुपर्छ, सन्तुष्ट नभए देखावटी रुपमा धर्मकर्म, पूजा त्यसबाट फल प्राप्त हुँदैन भनेर म्ह पूजा गर्दा होस् वा त्यसको भोलिपल्ट दिदीबहिनीहरुले दाजुभाईलाई पूजा गर्दा ‘मण्डल’ बनाउने चलन छ ।

‘अरु बेला स्वन्ति (तिहार) मनाउँदा परिवारजन घरमा आउन सकेन भने उसको नाममा मण्डल बनाएर पूजा गरिने चलन परापूर्वकालदेखि चलिआएको छ,' संस्कृतिविद् धौभडेल भन्छन्, ‘भौतिक रुपमा मानिसको उपस्थिति नभए पनि उसको नामको मण्डलामा पूजा गर्दा पूजाको फल उक्त मानिसलाई लाग्ने जनविश्वास रहिआएको छ । त्यसैले यो कोभिड कहरमा मानिसलाई छोएर पूजा नगरी मण्डलामै पूजा गरेर पनि आफ्नो दाजुभाई, दिदीबहिनीको दीर्घायुको कामना गर्न सकिन्छ ।’ 


यसरी बनाएको मण्डलमा नेवार समुदायले तेल, जमिनबाट उब्जिएको पहिलो अन्न कालो भटमास, मास, आखेय् (हातैले बोक्रा निकालिएको चामलको गेडा), पोताय् (ढुंगाको धूलो), धान, लावा राखेर पूजा गर्ने चलन छ ।

के हो मण्डल ? 
कलाकार लोक चित्रकारका अनुसार ‘मण्डल’ शब्द ‘मण्ड’ र ‘ल’ मिलेर बनेको छ । ‘मण्ड’ को अर्थ सुख अनुभूति गराउने सार हो भने ‘ल’ को अर्थ शरीर हो । लोक चित्रकार भन्छन्, ‘मानिसको अन्तिम लक्ष्य वा ध्येय पनि सुख प्राप्ति गर्नु नै हो । र, त्यो सुख शरीरले अनूभूति गर्न सक्छ त्यसकारण मण्डल शब्दको अर्थ भनेको सुख अनुभूति गराउने सार शरीरमा हुन्छ भन्ने हो ।' आफ्नो शरीरको महत्व बुझेर आफ्नो शरीरलाई पनि पूजा गर्ने चलन नेवार समुदायमा छ । नेवार समुदायमा कोही काम विशेषले घर बाहिर गएको छ वा म्ह पूजा वा भाइटिका वा जन्मदिनमा बाहिर गएको छ भने उसको नामको मण्डल बनाएर पूजा गरिने चलन छ ।

लोक चित्रकारका अनुसार मण्डलको अर्को अर्थ भनेको ‘एउटै’ भन्ने पनि हो । उनका अनुसार ब्रम्हाण्ड पनि एक किसिमको मण्डल नै हो र मानिसको शरीर पनि मण्डल हो । जसरी ब्रम्हाण्ड पञ्चमहाभूत वा पञ्चतत्वले बनेको हुन्छ, त्यसरी नै मानिसको शरीर पनि पञ्च तत्वले बनेको हुन्छ । लोक चित्रकारको शव्दमा ब्रम्हाण्ड ‘म्याक्रो’ (ठूलो) मण्डल हो भने मानिसको शरीर ‘माइक्रो’ (सानो) मण्डल हो । हरेक मन्दिर एउटा मण्डल हो । मण्डल बनाएर पूजा गर्दा नवग्रहलाई पनि पूजा गरिन्छ । र, नवग्रह खुसी भए मानिसको जीवन पनि राम्रो र सुखी हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।

लोक चित्रकारका अनुसार मण्डल जमिनमै बनाउने हो । त्यसैको सम्झनामा कपडा वा कागजमा बनाउन थालिएको हो । मान्छेको जाति एउटै भए पनि हरेक मानिसपिच्छे उसको रंग, रुप, स्वभाव, शैली फरक हुन्छ । त्यस्तै मण्डल पनि विविध किसिमका हुन्छन् ।

उद्देश्य अनुसार फरक मण्डल बनाइन्छ । जसको पूजा गर्न लागिएको हो, उसकै नाममा मण्डल लेखिने चलन छ । जसको पूजा गर्ने हो, त्यस देउता वा मानिसलाई त्यो मण्डलमा बसाएको मानिने लोक चित्रकार सुनाउँछन् । म्हः पूजा वा भाइटिकामा जसको पूजा गर्न लागिएको हो, उसैको नाममा मण्डल लेखिन्छ ।

उद्देश्य फरक, लक्ष्य एउटै 
चित्रकार उजय बज्राचार्यका अनुसार मण्डल बनाउनुको उद्देश्य फरक हुनसक्छ । कतिले पूजा आजाको लागि मण्डल बनाउँछन् भने कसैले ध्यानको लागि वा विभिन्न कारणले मण्डल बनाउन सक्छन् । म्हः पूजा, भाइटिकामा मात्रै नभई जन्मदिनलगायत विभिन्न समयमा गुरुजु, राजोपाध्यायले पूजाआजामा मण्डल बनाउँछन् । पौभा चित्रमा बनाइने र म्ह पूजा लगायत विभिन्न चाडपर्व वा पूजामा बनाइने मण्डल फरक भए पनि यसको उद्देश्य उही हुने चित्रकार उजय बज्राचार्य बताउँछन् उनी भन्छन्, ‘मण्डल बनाउने शैली फरक हो, तर यसको थिम एउटै हो ।

परम्परागत रूपमा मण्डल चित्र सजावटभन्दा पनि सांस्कृतिक रूपमा पूजाआजा वा मेडिटेसन, भिजुअलाइजेसनका लागि प्रयोग हुन्छ । पौभामा विभिन्न रंग प्रयोग गरेर बनाइन्छ भने पोत्याँ (ढुंगाको धुलो) प्रयोग गरेर बनाइन्छ । अहिले चामलको पिठोले लेख्न थालिएको छ, त्यसपछि तेल, आख्यो (धानबाट पेलेर हातैले निकालिएको चामल), लगायत सामग्री राखी बनाइन्छ । यसको चित्र सजिलो हुन्छ ।’ सामान्यतया पौभा चित्रको साइज तीनरचार फिट हुन्छ । तर चित्रकार उजयले सानोमा एक वर्ग सेन्टिमिटरको मिनिएचर मण्डल चित्र देखि ठूलोमा २८ वर्गफिटको मण्डलको चित्र कोरेका छन् ।

‘पौभामा कोरिने बुट्टा निश्चित छन्, त्यसमा कलाकारले यताउति गर्न मिल्दैन,’ उनले भने, ‘साइजमा भने परहेज छैन । नियम पालना गर्दै जत्रो साइजको चित्र बनाए पनि हुन्छ ।’‘बज्रबाराही मण्डला’ शीर्षकको त्यो सानो फ्रेममा उनले ज्वालावली (अग्नि), वज्रावली (बज्रका माला), खप्परको माला र त्रिभुजाकारभित्र वज्रबाराहीको ‘वं’ अक्षर कोरेका छन् । सर्कलबाहिर पनि चार कुनामा बज्र बनाएका छन् ।

पौभामा मण्डल कसरी बनाउने भन्ने तरिका भने प्रतिमा लक्षण विधानशास्त्रमा उल्लेख गरिएको हुने कलाकार लोक चित्रकार बताउँछन् । त्यसमा कुन देवताको स्वरूप कस्तो हुनेदेखि रङहरूबारे समेत उल्लेख गरिएको छ । कुन दिशामा के रहने, कुन देवताको मण्डलभित्र कुन देवता रहने लगायत सबै लेखिएको हुन्छ । हिन्दु तथा बुद्ध धर्मसित जोडेर धार्मिक प्रयोजनका लागि बनाइने हुँदा निश्चित नियम पालना गर्नुपर्ने लोक चित्रकार बताउँछन् । परम्परागत मण्डल बनाउँदा कडा नियम पालना गर्नुपर्ने उनले बताए ।

विधानशास्त्रमा जुन देउताको वरिपरि जुन जुन देउता हुन्छ भनेर उल्लेख गरिएको छ, ति नै देउता बताउनुपर्छ । विधान शास्त्रमा जस्तो वर्णन गरिएको छ, त्यस्तै मुद्रा वा दिशामा बनाउनुपर्छ, चित्रकारले मनपरि वा अनुमानको भरमा बनाउन पाउँदैन । त्यसैले मण्डल बनाउँदा पनि कडा नियमको पालना गर्नुपर्छ । यसरी कडा नियम पालना नगरे, जुन उद्देश्यले मण्डल बनाएको हो, त्यो पुरा नहुने लोक चित्रकार बताउँछन् । उनी भन्छन्, ‘यदि मेडिटेसनको लागि कुनै मण्डला बनाइँदैछ भने नियमअनुसार बनाएन जुन फल पाउनुपर्ने हो, त्यो नपाइन सक्छ ।' अहिले भारतीय प्रभावले गर्दा मण्डल बनाउने शैलीमा पनि फरकपना आएको महसुस गर्छन् लोक चित्रकार । ‘पुरानो कम्प्लेक्स (गाह«ो) भएकाले सजिलो र आकर्षक देखिने बनाउन थाले,’ उनले भने ।

फरक-फरक मण्डल 
म्हपूजा र भाइटिकाको दिनमा सहर डुल्ने हो भने, फरक फरक किसिमका मण्डलहरु भेटिन्छन् । एउटै टोलका घरहरुमा पनि एकै किसिमका मण्डल बनाइदैन । पहिलेका बुढापाका अगाडि बसेर आफ्ना छोरानातीलाई मण्डला लेख्न लगाउने गर्थे । त्यही त्यो छोरानातीले अर्को पुस्तालाई सिकाउँदै पुस्तान्तरण हुँदै आएको छ ।

धौभडेलका अनुसार हिन्दुले बनाउने मण्डला गोलो हुन्छ, बौद्धले बनाउने विशेष गरी त्रिकोणात्मक, अष्टकदललगायत आठ भाग छुट्टिएको हुन्छ । त्यस्ता मण्डला बनाउँदा हिन्दुहरुले छ देखि सात, नौ र १२ घेरासम्म राख्ने चलन छ । कतिले बिन्दुबाट सुरु गरेपछि मण्डला नसिध्यिएसम्म गोलो पार्दै लान्छन् । कतिले पत्रपत्र गरी मण्डला बनाउँछन् । उपत्यकामा नै हजार थरीभन्दा बढी मण्डल रहेको अनुमान छ ।

म्ह पूजा र किजापूजा गर्दा बनाउने मण्डलाहरु हिन्दु धर्ममा सबैको पनि एउटै हुँदैन । शैव धर्म मान्ने, तान्त्रिक पद्दती मान्नेहरुले बनाउने, बौद्ध धर्म मान्नेले बनाउने मण्डला फरक हुन्छ । यसरी शैली स्वरुप फरक हुनु स्व्भाविक भएको संस्कृतिविद् धौभडेल बताउँछन् । उनी भन्छन्, ‘विविध किसिमको मण्डल नेवार समुदायको कलाकारिताको नमूना हो । नेवार समुदायमा पायो भने भोज मात्रै खाने खिसी गर्छ ।

वास्तविक रुपमा खाने मात्रै होइन, घर भित्र जसरी तराईंको मिथिला संस्कृतिमा चित्रको महत्व छ, नेवार समुदायमा पनि घरभित्र बनाउने मण्डलहरु महत्वपूर्ण छ । त्यो परिवारले मात्रै हेर्छ, पूजा सकेपछि बढार्ने चलन छ । त्यसैले यसबारे धेरैलाई थाहा छैन । प्रचारमा आउँदैन । सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि थाहा पाउन थालेको छ ।’ 

वास्तुशास्त्रमा मण्डल 
चित्रकार लोक चित्रकारका अनुसार हरेक मन्दिर एउटा मण्डल हो । किनकि यो पनि एक निश्चित वास्तुशास्त्रमा बनेको हुन्छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार उपत्यकालगायत नेपाल मण्डल भनेर चिनिएका ठाउँमा पहिले मण्डलबाट बनेको छ । जस्तै, भक्तपुर श्रीयन्त्राकार मण्डलमा, काठमाडौं खड्गाकार मण्डलमा, पाटन चक्राकार मण्डलमा नगर बसेको इतिहासमा उल्लेख भएको धौभडेल बताउँछन् ।

‘सम्पूर्ण नेपाल मण्डल नै ६४ वटा शिवलिंग चारैतिर बसेर नेपाल मण्डल पनि मण्डल शैलीमा बनेको छ,’ उनी भन्छन्, ‘जसको पूर्वमा कोसीदेखि पश्चिममा गण्डकीसम्म, उत्तरमा तिब्बतको सिमानादेखि दक्षिणमा बेतियासम्म चारैतिर घेरेर नेपाल मण्डल बनेको छ ।’ 

एकता कायम गर्न मण्डल 
कसको घरमा कति जना सदस्य छ, भन्ने पहिचान गर्ने एउटा माध्यम मण्डल पनि हो । त्यस्तै नेवार समुदायमा दाजुभाइ पाँचजना छ भने पाँच ठाउँमा गएर पूजा गर्ने चलन छैन । घरको जेठो दाई कहाँ सबै दाजुभाइ आएर पूजा गर्ने चलन छ । यसरी पूजा गर्दा दाजुभाइबिच मेलमिलाप कायम राख्ने काम पनि मण्डलाले गरिरहेको हुने संस्कृतिविद् ओमधौभडेलको तर्क छ । उनी भन्छन्, ‘त्यस सन्दर्भमा सामाजिक रुपले महत्वपूर्ण देखिन्छ । तर कहिलेकाहीं सबै मानिसहरुको मन एउटै नहुन सक्छ । परिवारमा किचलो हुन सक्छ, दाजुभाई नमिल्न सक्छ । इच्छा छ भने दाई कहाँ गएर पूजा गर्छ, नत्र भए उसको नाममा दिदीबहिनीले मण्डलामा पूजा गरेर पनि सामाजिक मान्यतालाई बराबर जोडेर राखेको हुन्छ । घरैपिच्छे गएर पूजा गर्ने चलन छैन ।’

नेपाली मण्डल विदेशको पोल्टामा 
देवेन्द्रका अनुसार पौभा चित्र दुई हजार वर्ष पुरानो मानिन्छ । तर, नेपालमा १२ औं शताब्दीदेखिका पौभा मात्रै भेटिएका छन् । मण्डलको कुरा गर्दा भने नेपालको सबैभन्दा पुराना मण्डलाहरु अहिले विदेशमा छन् । नेपाल आर्ट काउन्सिलको लागि डा. डिना बाङ्देलले लेखेको आर्टिकलमा उनले कुन कला विश्वमा कुन देशमा छ भनेर उल्लेख गरेकी छन् । जसमा उनले मण्डलाहरुको बारेमा पनि उल्लेख गरेकी छन् । उनको आर्टिकलका अनुसार १३ औं शताब्दीमा बनेको चक्रसम्भरा मण्डला अहिले अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियममा छ ।

त्यस्तै १३ औं शताब्दीको रत्नसम्भव, विष्णु मण्डला(१४२०), चक्रसम्भरा मण्डला(१४९०) अमेरिकाकौ लस एन्जलस म्युजियम अफ आर्टमा रहेको छ । 

मण्डलको महत्व नबुझेर मूर्तिमा चोट 
मन्दिर पनि विभिन्न मण्डलकै वास्तु शास्त्रमा बनेको हुन्छ । मन्दिरमा देवदेवी अनुसार मूर्तिको अगाडि पनि उसको मण्डल बनाइएको हुन्छ । चित्रकार लोक चित्रकार पनि मूर्तिलाई नै भगवान् सोच्ने कारणले यस्तो समस्या आएको बताउँछन् । ‘नेपालमा मूर्तिलाई कलाको रुपमा हेरिंदैन, भगवान्को रुपमा हेरिन्छ,’ उनी भन्छन्, ‘त्यसैले पैसाले हान्ने, पानी, अबिर लगाइदिने गर्छन् । तर मूर्ति छोएर भगवान छोइँदैन भन्ने बुझेको छैन ।’

हरेक देवदेवीको पूजा गर्दा मन्दिरमा हाम्रो ध्यान जान्छ । मन्दिरभित्र रहेको मूर्तिमा ध्यान जान्छ । तर त्यो मूर्तिको अगाडि मण्डला बनाएको ध्यान जाँदैन । मानिसहरु सीधै मूर्तिमा पूजा गर्छन् । अबिर, पानी, ध्यु, मह, सख्खर, अक्षता, फूल चढाउने गर्छ । त्यसले गर्दा राम्रा कलाकृतिहरु कुरुप भइसकेको छ ।

मूर्तिमा पूजा गर्ने होइन, त्यसको अगाडि रहेको मण्डला पूजा गर्नुपर्छ भन्ने हेक्का राख्न सकेको छैन । त्यो कुराको हेक्का त प्रत्येक वर्ष आउने भाइटिका, म्हपूजाले सिकाएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । ‘यदि मूर्तिमा जस्तै मानिसको पनि अनुहारमै बत्ती दिएको भए, टाउको बत्ती दिएको भए, अक्षता, फूलले हिर्काएर चोट लगाइदिएको भए, कस्तो अप्ठेरो हुन्छ,’ उनी भन्छन्, ‘निर्जीव मूर्तिले भन्न सकेन । तर हामीले त्यो थाहा पाउनुपर्छ । जन्मदिनमा पूजा गर्दा अगाडि केराको पातमा पाँचवटा थोप्ला राखेर मण्डल बनाएर त्यहाँ पञ्चतत्वले बनेको शरीर भनेर पूजा गरेर पञ्चमाकार दही, अण्डा, माछा, मासु, रक्सी, बाराले सगुन दिँदा हामीले सम्झनुपर्ने हो ।’ 
 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x