समाज

दसैँमा सहर छाडेर गाउँतिर

धनबहादुर गुरुङ |
असोज १९, २०७९ बुधबार ९:३९ बजे

पोखरा - पोखराका दुई बसपार्कमा घर फर्कनेहरूको लर्को छ । पृथ्वीचोक बसपार्क र बागलुङ बसपार्कमा यात्रुहरूको घुइचो लागेको हो । त्यसबाहेक चोक चोकबाट गाडी चढ्ने उती नै छन् । दसैँको आगमन भएसँगै काम विषेश र पढाइका लागि सहर पसेकाहरू दसैँमा घर जान हतारिन्छन् । वास्तवमा शहर छाडेर गाउँ पस्ने बेला नै यही हो । दसैँमाशहरमा घर बनाएकाहरू पनिपुर्खौली घर फर्कन्छन् । 

बसबिसौनीभरि गाडी । गाडीको घ्यार्रघ्यार्र । उत्तिकै संख्यामा यात्रु । यात्रु बटुल्न सहचालकलाई हतारो छ । टिकट काउन्टरमा पनि टिकट काट्नेको भिड देखिन्छ । यो दृृश्यले दसैँमा पोखरामा बसेकाहरू गाउँ फर्कन हतार गरिरहेको प्रष्ट संकेत दिन्थ्यो । सहचालक पनि ‘कहाँसम्म पुग्ने हो, हिंड्नै लायो चढिहालम्’ भन्दै आकर्षित गरिरहेका छन् । सहचालकको बोली खेर नजाओस् भनेर चालकले गाडी घ्यार्रघ्यार्र पारिरहेका छन् । एउटा बस छुट्न नभ्याउँदै अर्को बस अर्को आइहाल्छ । बसबिसौनी नजिकै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको टिकट काउन्टर छ । 


स्याङ्जाका समिर मानन्धर सोमबार दसैंका लागि पृथ्वीचोक बसपार्कमा गाडी कुरिरहेका थिए । अरु समयमा भन्दा दसैँका समयमा सिट पाउन मुस्किल हुने गरेको उनले सुनाए । अध्ययनका लागि पोखरा बसेका उनी उतीसारो गाउँ जादैैैंनन् तर दसैँमा जती गाह्रो भएपनि जानैपर्ने उनले बताए । ‘दसैँ त गाउँ मै रमाईलो हुन्छ, सबै साथीहरू घर फर्केका हुन्छन्,’ उनले भने, ‘म पनि अरु बेला त्यति जान्न दसैँमा टीका थाप्न भए पनि घर जानुपर्छ, सबै परिवार गाउँ मै हुनुहुन्छ ।’ 

पोखराको पृथ्वीचोक बस बिसौनी नजिकै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको टिकट काउन्टर छ । त्यहाँका कर्मचारीको व्यस्तता पनि अचेल बढ्दो छ । अरु समयभन्दा दसैँ र तिहारका समयमा उनीहरू व्यस्त नै हुन्छन् । दसैँ लागेपछि कर्मचारीहरूको व्यस्तता बढेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । 

सो काउन्टरबाट दैनिक सयभन्दा बढि टिकट काट्नेहरू भेटिन्छन् । केहीले अग्रिम टिकट काटेकाले आफूहरूलाई केही सहज भएको अध्यक्ष केसीले जानकारी दिए । चाडपर्व नजिकिएसँगै यात्रुहरूको सहजताका लागि तयारी तीव्र बनाएको अध्यक्ष केसीले बताए । ‘हामीले भदौ २६ गतेदेखि अग्रिम बुकिङ सुरु गरेका हौं । आवश्यकता अनुसार गाडीहरू उपलब्ध गराउने तयारी छ,’ उनले भने, ‘यात्रुको मागका आधारमा समस्या नहुने गरी हामीले व्यवस्था गरिरहेका छौं ।’ यात्रुलाई कुनै हालतमा कम्पनीले गाडीको अभाव महसुस हुन नदिने उनको भनाई थियो । ‘हामीलाई तत्कालका लागि गाडी समस्या छैन,’ उनले भने, ‘यात्रुले गाडी पाइएन भन्ने वातावरण पृथ्वी राजमार्गले हिजो पनि गराएन, आज पनि गराएको छैन र भोलि पनि गराउने छैन ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिसँग अहिले एक हजार तीन सय ९७ साना तथा ठूला गाडीहरू छन् । त्यसमा अहिले दैनिक ६ सय वटा लामो दुरीका गाडीहरू छुट्ने गरेको उनले जानकारी दिए । ‘दसैँ लागेपछि यात्रुहरूको चाप बढेको छ, पहिलो को तुलनामा अहिले २ सय बढि गाडी पोखराबाट छुट्छन्,’ उनले भने, ‘चाडबाडको समयभन्दा अघिपछि ४ सयको हाराहारीमा गाडी छुट्थे ।’ चाडपर्वमा यात्रुको सहजताका लागि सरकारले तेलको मूल्य समायोजन नगर्दा पनि भाडामा कुनै विवाद नरहेको उनले बताए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी बाहेक पनि अरु कम्पनीका गाडीहरूले पनि पोखराबाट यात्रुहरूलाई गन्तब्यमा पुर्‍याइरहेका छन् छन् । 

चाडवाडको समय सम्भावित दुर्घटना न्युनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि तयारी सुरु गरिसकेको जनाएको छ । बिस्तारै चाडवाडका लागि घर फर्कनेहरू बढेकाले यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ । पृथ्वीचोकको पोखरा बसपार्क, बागलुङ बसपार्क, र छोरेपाटनमा सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायत क्रियाकलाप हुने भएकाले सोको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कास्कीका प्रमुख प्रकाश शाहले बताए । 


Author

थप समाचार
x