समाज

चार दशकदेखि लेन्सबाट दुनियाँ नियालिरहेका मीन : गणेशमानको फोटोग्राफरदेखि हागनसँग सहकार्य (भिडिओ)

कमल विष्ट |
साउन ३, २०७९ मंगलबार १२:२७ बजे

सम्पूर्ण तस्बिर : मीनरत्न बज्राचार्य

२९ फागुन २०४४ । काठमाडौंको दशरथ रंगशालामा ‘त्रिभुवन च्यालेन्ज सिल्ड’को फाइनल थियो, जनकपुर चुरोट कारखाना (जचुका) र बंगलादेशको मुक्ति जोधा क्लबबीच । करिब २० हजार दर्शकले रंगशाला खचाखच थियो । 

रेफ्रीले दर्शक र खेलाडीलाई साक्षी राखेर खेल सुरु गरे, दिउँसो साढे २ बजे । पूरै आकाशमा बादलको साम्राज्य थियो । मौसम डरलाग्दो थियो । १७ औँ मिनेटमा जचुकाले मुक्ति जोधाबाट गोल खाएपछि समर्थनहरूको मनमा झन् चिसो पस्यो । तर, टिमलाई खेलमा फर्काउन समर्थकहरूले हुटिङ गर्न छाडेनन् । 


खेलको २७ औँ मिनेटमा अचानक भयंकर हावाहुन्डरी चल्न थाल्यो । दर्शकहरू अन्धाधुुन्ध भाग्न थाले । रंगशालाका गेट खोलिएनन् । भागदौड मच्चिँदा केहीको घटनास्थलमै मृत्यु भयो, केहीको अस्पतालमा । सयौँ घाइतेलाई वीर अस्पतालमा ल्याइयो । 

अस्पताल कोलाहलमय बन्यो । त्यो कोलाहल यति ठूलो थियो कि पाँच सय मिटरको दूरीमा रहेको मासङगल्लीसम्मै पुग्यो । फोटो पत्रकार मीनरत्न बज्राचार्यको कानमा पनि ठोक्कियो । त्यसपछि उनले हठातै क्यामेरा भिरे र वीर अस्पतालतिर हानिए । 

त्यहाँ पुग्दा उनले देखे, अस्पतालभित्र र बाहिर ठूलो भीड छ । प्रहरी र डाक्टरहरू हतासमा छन् । गेटदेखि इमर्जेन्सी कक्षसम्मको भुइँ रक्ताम्मे छ । उनी भीड छिचोल्दै भित्र पसे र फोटो खिच्न थाले । खिच्दै गर्दा उनलाई अस्पताल प्रशासन र प्रहरीले रोक्यो । किन खिचेको भन्दै हप्कायो । तर, उनी रोकिएनन् । खिच्न पाउनु आफ्नो अधिकार हो भन्दै उनले खिचिरहे । प्रहरी र प्रशासनको धक्कामुक्कीमा उनलाई चोट पनि लाग्यो । 

‘उनीहरूलाई मैले सार्वजनिक ठाउँको फोटो खिच्न पाउनुपर्छ र यो मेरो अधिकार हो भनेँ,’ फोटो पत्रकार बज्राचार्यले इकागजसँग भने । 

अस्पतालपछि उनी घटनास्थलतिर पुगे । त्यहाँ पनि उनलाई रोक्न खोजियो । तर, उनी जबर्जस्ती भित्र पसे र रंगशालाको दारुण अवस्था क्यामेरामा कैद गरे । अर्को दिन उनले खिचेका फोटो राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भए । उक्त घटनामा ७० फुटबलप्रेमीले ज्यान गुमाए । 

रंगशाला घटनाका मृतकहरू

उनले प्रहरीको धक्कामुक्की खाएको यो प्रतिनिधि घटना मात्र हो । चार दशक वर्षदेखि फोटो पत्रकारितामा सक्रिय बज्राचार्यले यस्ता धरपकड थुप्रैपल्ट भोगेका छन्, देखेका छन् । यति मात्र होइन, प्राकृतिक विपद् तथा आन्दोलनका क्रममा उनी घाइतेसमेत भएका छन् । आँखै अगाडि साथीलाई गोली लागेर घाइते भएको देखेका छन् । २०४६ को पञ्चायत विरोधी आन्दोलन, माओवादी नेतृत्वमा चलेको सशस्त्र द्वन्द्व र २०६२–०६३ को जनआन्दोलन– यी तीनै आन्दोलनमा उनी सक्रिय थिए । अझ भन्ने हो भने उनको करियर नै संक्रमणकालीन समयमा सुरु भएको हो– २०४० को दशकको सुरुवातमा ।  

सफल फोटो पत्रकार बन्न सबैभन्दा पहिला उसमा साहस र धैर्य हुनुपर्ने उनी बताउँछन् । ‘प्राकृतिक विपद्, सशस्त्र द्वन्द्व तथा हुलदंगा सबै ठाउँमा पत्रकार र सुरक्षाकर्मी अग्रपंक्तिमा हुन्छन् । त्यसमा पनि फोटो पत्रकार अझ अगाडि हुन्छ । फोटो पत्रकारमा साहस र धैर्य भएन भने ऊ सफल हुन सक्दैन,’ उनको बुझाइ छ । 
कामका दौरान उनी कहिल्यै गम्भीर घाइते भएनन्, सामान्य घाइतेबाहेक । उनी आफूलाई भाग्यमानी फोटोपत्रकार मान्छन् । 

लोकतन्त्र स्थापना र यसका उपलब्धीलाई संस्थागत गर्न फोटो पत्रकारको अहं भूमिका हुने उनी मान्छन् । समाचारको विश्वासनीयता बढाउन र शक्तिशाली बनाउन फोटोको ठूलो महत्व हुने उनको भनाइ छ । ‘हजार शब्दले भन्न नसक्ने कुरा एउटा फोटोले भन्न सक्छ । फोटो पत्रकारिता धेरै शक्तिशाली विधा हो,’ उनको अनुभव छ, ‘यसका लागि एकदमै मेहनत, जिम्मेवारी, साहस र धैर्यको खाँचो पर्छ ।’

२७ चैत २०४६ सालको त्यो ऐतिहासिक तस्बिर 

२०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनबाट चुनिएका प्रधानमन्त्री बीपी कोइरालालाई २०१७ पुस १ मा अपदस्त गर्दै राजा महेन्द्रले संसद् विघटनसमेत गरे । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन ७ फागुन २०४६ देखि पेचिलो बन्न थाल्यो । प्रतिबन्धित तथा भूमिगत दल नेपाली कांग्रेस, नेकपा मालेसहित विभिन्न वामपन्थी दल एक ठाउँमा उभिएर पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्न थालेका थिए । पञ्चायतविरोधी आवाज दिनप्रतिदिन अझ मजबुद हुँदै जान थालेपछि अन्ततः तत्कालीन राजा वीरेन्द्रले चैत २६ गते राति घुँडा टेके । वीरेन्द्रले राति शीर्ष दलका नेताहरूलाई दरबारमा वार्ताका लागि बोलाए र मुलुकमा बहुदलसहितको प्रजातन्त्र फर्किएको घोषणा गरे । 

प्रजातन्त्रप्राप्तिको खुसुीयालीमा २७ चैत इन्द्रचोकमा निस्किएको जुलुस

अर्को दिन बिहानैदेखि नागरिकहरू ‘प्रजातन्त्र जिन्दावाद’को नारा लगाउँदै सडकमा निस्किए । नागरिकमा खुसीयाली थियो । प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो ऐतिहासिक दिनलाई कैद गर्न बज्राचार्य घरबाट बिहानै निस्किए । उनी त्यो आन्दोलनलाई सुरुदेखि नै नजिकबाट नियालिरहेका थिए, आन्दोलनका तस्बिरहरू खिचेर विभिन्न मिडियालाई उपलब्ध गराइरहेका थिए । 

सडकमा दिनभर विजय जुलुस देखियो । २०४६ सालको जनआन्दोलनका नेता गणेशमान सिंह र मनमोहन अधिकारी वीर अस्पतालबाट थुनामुक्त भए । थुनामुक्त भएपछि अधिकारी र सिंह तथा जुलुसको फोटो उनले खिचे । 

२७ चैत वीर अस्पतालबाट हिरासतमुक्त हुँदै नेता गणेशमान सिंह र मनमोहन अधिकारी

साँझ ४ बजे दलहरूको संयुक्त विजयसभा भयो, खुलामञ्चमा । नेताहरूले आआफ्नो मन्तव्य राख्न थाले । कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको पालो आयो । बोल्न थाले । समर्थकहरू अझ चर्कोचर्को स्वरमा ‘बहुदलीय प्रजातन्त्र जिन्दावाद’ भन्दै नारा लगाउन थाले । बज्राचार्यका चनाखा कान भीडतर्फ केन्द्रित भइहाले । 

‘त्यतिकैमा मैले एक युवतीलाई हावामा उडेको देखेँ । उनी चर्को–चर्को स्वरमा प्रजातन्त्र जिन्दावाद भन्दै नारा लगाइरहेकी थिइन्,’ बज्राचार्यले सम्झिए, ‘मैले त्यो खिचिहालेँ । ४–५ सट हानिहालेँ ।’

त्यही फोटो पछि ‘ऐतिहासिक तस्बिर’ बन्ला भनेर उनले कल्पनासमेत गरेका थिएनन् । उक्त फोटो विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरे । उक्त फोटोबारे अहिले पनि बेलाबखत चर्चा हुन्छ । ती युवती को थिइन् र अहिले उनी कहाँ, के गर्दैछिन् भन्ने जिज्ञासा धेरैको छ । 

‘उहाँको नाम दुर्गा केसी हो । पछि थापा थरका व्यक्तिसँग बिहे गरेपछि दुर्गा थापा हुनुभयो । उहाँसँग मैले त्यसपछि धेरैपल्ट भेटको छु र फोटो खिचेको छु,’ फोटोमा देखिएकी ती युवतीबारे उनले भने, ‘पछिल्लो समय मैले उहाँलाई गत चैत २७ गते भेटेको थिएँ । त्यतिबेलासम्म उहाँ रसुवाको सहायक सिडिओ हुनुहुन्थ्यो । केही महिनापछि फर्किन्छु भन्दै हुनुहुन्थ्यो ।’

प्रजातन्त्र पनुःस्थापनापछि संयुक्त आमसभामा जितको खुसी मनाइरहेकी युवती

‘आइरन म्यान’ गणेशमान सिंहको निजी फोटोग्राफर 

बज्राचार्यले गणेशमान सिंहको नाम सानैदेखि सुन्दै आएका थिए । सिंहको घर उनको घरबाट नजिक थियो । धेरैपटक उनलाई नजिकबाट देखेका पनि थिए । सबैको मुखबाट उनको महानताबारे सुन्दा उनलाई सिंहसँग भेट्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । उनको यो इच्छा एक दिन सिंहका राजनीतिक सहयोगी पीएल सिंहले पूरा गरिदिए । पीएलले उनलाई चाक्सीबारीमा बोलाएर सिंहसँग भेट गराइदिए । त्यो भेटले उनको जीवनलाई ‘युटर्न’ गराइदियो । उनको भेट्ने इच्छा मात्र पूरा भएन, उनले कल्पनासम्म नगरेको कुरा भयो । उनलाई सिंहले निजी फोटोग्राफर नै बनाए । उनी त्यतिबेला १८ वर्षका मात्र थिए । 

‘एकदिन मलाई पीएलज्यूले चाक्सीबारी बोलाउनुभयो, गणेशमान सिंहज्यूसँग मेरो परिचय गराउन,’ उनले भने, ‘पीएल दाइले मलाई उहाँसँग भेटाउनु मात्र भएन, निजी फोटोग्राफरसमेत बनाउनुभयो ।’

सात वर्ष सिंहसँग काम गर्दा बज्राचार्य उनको व्यक्तित्वबाट अझ प्रभावित भए । उनकै संगतमा देश–विदेश घुम्न पाए । विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई भेट्न पाए । धेरै अनुभव बटुले । उनको फोटो पत्रकारिताको क्षितिज अझ फराकिलो भयो । 

‘सन् १९९३ मा उहाँलाई संयुक्त राष्ट्रले ह्युमन राइट्सले पुरस्कृत गर्यो । उक्त ऐतिहासिक समारोहमा म पनि सहभागी हुन पाएँ । त्यो मेरो लागि अहोभाग्य थियो,’ उनले सुनाए । 

टोनी हागनसँग सहकार्य 

सिंहको निजी फोटोग्राफर भएको कारणले बज्राचार्यले आफ्नो जीवनको अधिकांश समय नेपालमा बिताएर यहाँका भौगोलिक तथा सांस्कृतिक विविधताबारे अध्ययन गरेका भूगर्भविद् टोनी हागनसँग भेट्ने मौका पाए । 

सन् १९९२ सालको एक दिन उनलाई हागनका सहयोगीको फोन आयो । सहयोगीले हागन सिंहसँग भेट्न इच्छुक रहेको कुरा जाहेर गरे । सिंहसँग एउटा मिटिङ अरेन्ज गरिदिन अनुरोध गरे । उनले उक्त कुरा सिंहलाई सुनाए । 

‘उहाँले हुन्छ भन्नुभयो । पीएलज्यू त्यतिबेला भारत जानुभएको थियो । मिटिङ अरेन्ज गर्ने जिम्मा मेरो भयो । मैले सांग्रिला होटलमा मिटिङको बन्दोबस्त गरेँ,’ उनले सम्झिए, ‘मेरो पहिलो भेट हागनसँग त्यहीँ भएको थियो । उहाँले मप्रति पनि चासो देखाउनुभएको थियो । सिंहजस्तो व्यक्तिले विश्वास गरेको मान्छेसँग आफू सहकार्य गर्न इच्छुक रहेको उहाँले भन्नुभयो ।’

टोनी हागनसँग मीन

नेपालका विशेषज्ञ पनि भनेर चिनिने स्विस नागरिक हागनले नेपालका अधिकांश भूभाग पैदलै नापे । त्यहाँको भौगोलिक तथा सांस्कृतिक अवस्थाको विस्तृत अध्ययन गरी ‘नेपाल’ नामक पुस्तक र ‘उहिलेको नेपाल’ डकुमेन्ट्री सिर्जना गरे । खोज तथा अनुसन्धान गर्ने क्रममा उनी पनि हागनसँग धेरै ठाउँ पुगे । 

‘करिव ४ वर्ष उहाँसँग सहकार्य गर्दा धेरै कुरा सिक्न पाएँ । हागन पनि मेरो कामबाट प्रभावित हुनुभएको हुनुहुन्थ्यो ।’ उनले बताए । 

उनले हागनबाट ‘बहुमूल्य’ उपहारसमेत पाए । ‘उहिलेको नेपाल’ डकुमेन्ट्री खिच्न प्रयोग भएको क्यामेरा हागनले उनलाई सम्मानस्वरुप दिएका थिए । 

‘सन् २००३ मा स्विजरल्यान्डमा उहाँको निधन भयो । बित्नुअघि उहाँले आफ्नी छोरीलाई नेपाल गएका बेला यो क्यामेरा मीनलाई दिनू भनेर भन्नुभएको रहेछ,’ उनले भने, ‘उहाँले छोरीलाई भन्नुभएको रहेछ– मेरो कामलाई आममानसमा फैलाउन र यसको महत्व बुझाउन मीनको ठूलो भूमिका छ । खोज तथा अनुसन्धानका क्रममा उसले धेरै सहयोग गरेको छ । उसलाई यी सबै कुराका लागि धन्यवादस्वरुप यो क्यामेरा दिनू ।’

सन् २००४ मा हागन जस्तो बौद्धिक तथा प्रभावशाली व्यक्तिबाट सम्मानस्वरुप उपहार पाएपछि उनको खुसीको सीमै रहेन । रिलवाला क्यामेराको समय गुज्रिरहेकाले त्यो त्यति प्रयोगमा आएन । प्रयोगमा नआए पनि उनले त्यो क्यामेरा अहिलेसम्म पनि जतनसाथ राखेका छन् । 

हागनले उपहारस्वरुप दिएको क्यामेरा

हागनले उनलाई फोटो प्रदर्शनी गर्नसमेत प्रेरित गरे । हागनकै सहयोगमा सन् १९९५ मा बज्र होटलमा प्रदर्शनी भयो । उनी भन्छन्, ‘त्यसको उद्घाटन पनि उहाँले नै गर्नुभयो । त्यसबाट प्रेरित भएर मैले जीवनमा धेरै प्रदर्शनी गरेँ र पुरस्कार पनि पाएँ ।’

000

चार दशक सक्रिय पत्रकारिता गर्दा उनको क्यामेरामा कैद हुन छुटेको सायदै कोही होला । गणेशमान सिंहदेखि टोनी हागन,  नारायण गोपालदेखि गोपाल योञ्जन, हरिवंश आचार्यदेखि मदनकृष्ण श्रेष्ठ सबै उनको क्यामेराभित्र अटेका छन् । अभिनेत्री मनीषा कोइरालाको पहिलो व्यावसायिक फोटो खिच्ने पनि मीन नै हुन् । 

सात वर्षयता बज्राचार्य स्वतन्त्र फोटोग्राफी गरिरहेका छन् । नयाँ–नयाँ ठाउँ डुल्नु, फोटो खिच्नु, ती फोटोलाई सामाजिक सञ्जालका विभिन्न माध्यममा पोस्ट गर्नु, कहिलेकाहीँ मिडियालाई वितरण गर्नु उनको अहिलेको दैनिकी हो ।

चार दशकदेखि संसारलाई क्यामेराले नियालिरहेका उनले धेरै अनुभव बटुलेका छन् । इकागजले उनीसँग भिडियो अन्तर्वार्ता गरेको छ । यो भिडियोमा उनले फोटो पत्रकारिताको दुनियाँमा आफ्नो प्रवेश कसरी भयो, कसले प्रेरित गर्यो, लामो समय फोटो पत्रकारिता गर्दाको अनुभव, रिलवाला क्यामेराको त्यो समय र डिजिटल क्यामेराको यो समयबारे साटेका छन् । त्यस्तै, लोकतन्त्रलाई अझ बलियो बनाउन फोटो पत्रकारिताको महत्व, फोटो पत्रकारले झेल्नुपर्ने सकस, नयाँ पुस्तालाई सुझावलगायतका विषय पनि यो भिडियोमा सुन्न र हेर्न सक्नुहुनेछ : 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x