समाज

जलस्तर बढेसँगै कैलालीका नदीमा देखिन थाले डल्फिन

दीपक उपाध्याय |
असार २०, २०७९ ८:४५ बजे

कैलाली - कैलालीका नदीमा दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेको छ । नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन देखिन थालेका हुन् ।

यहाँको नदीमा हरेक मनसुनमा डल्फिन देखिने गर्दछ । यो वर्ष अहिले कम्तीमा ठुला र सानागरी ११ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । उनले नदीमा पानी बढेपछि मोहना र पथरैया नदीको दोभानमा ८ वटा वयस्क र तिन बच्चा डल्फिन देखिएको बताए ।


'डल्फिन खेल्नका लागि अझै पनि नदीमा पानी पर्याप्त छैन’, उनले भने, ‘तर, अब नदीमा डल्फिनको संख्या थपिँदै जाने अपेक्षा गरेका छौं ।’ मज्जाले नजिकैबाट डल्फिन देख्न पाइने उक्त दोभानहरू टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोल नजिक पर्दछ ।

गतवर्ष यहाँको नदीमा असार १ गतेबाट नै डल्फिन देखिन थालेका थिए । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले असार १५ गतेदेखि कैलालीको नदीहरूमा डल्फिन देखिन थालेको हो । मनसुनभरि नै यहाँको नदीमा डल्फिन हेर्न सकिने ढुङ्गानाले जानकारी दिए ।

नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ । मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरूमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरू बताउँछन् । गङ्गेटिक डल्फिन स्वच्छ पानीमा बस्न र बिहार गर्न रुचाउँछन् ।

माछालगायतको जलीय जीव डल्फिनको आहारा हो । कैलालीमा झन्डै तीन दशकदेखि स्थानीयस्तरबाट डल्फिनको संरक्षण हुँदै आएको छ । गुलेली बाँजेको नामले परिचित स्थानीय भोजराज श्रेष्ठको अगुवाइमा संरक्षण कार्य हुँदै आएको हो ।

प्राणीविद् मुकेशकुमार चालिसेको अगुवाइ र स्थानीयको सहभागितामा यहाँको नदीमा दुई पटक डल्फिन गणना गरिएको छ । सन् २०१६ मा गणना गर्दा वयस्क र बच्चा गरी ६२, २०१८ मा ३७ र २०२१ मा ६३ वटा डल्फिन फेला परेको संरक्षणकर्मी ढुंगानाले बताए । कैलालीका नदीहरूमा डल्फिलका लागि आहाराको कमी हुुँदै गएर डल्फिनलाई असर परेको बताइन्छ ।

डल्फिनको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको छ । महाजाल हालेर माछा मार्ने, खेतमा अत्यधिक विषादी हाल्ने लगायतको कारणले डल्फिनलाई असर पुगेको स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । यसैगरी, डल्फिन देखिने नदीहरूमा प्रशस्त मात्रामा घडियाल र मगर गोही पनि हेर्न सहिन्छ । उक्त क्षेत्रमा घडियाल र मगर गोही प्रायः सबै समय बस्ने गरेको जनाइएको छ ।



Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
ad
x