सूचना-प्रवधि

२० वटासम्म नेटवर्कमा जोड्न सक्ने ई–सिम के हो ? कसरी काम गर्छ ?

इकागज |
फागुन २५, २०७९ बिहिवार १७:२६ बजे

फाइल फोटो

काठमाडौँ । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । 

नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मङ्सिर ८ देखि भने देशभर ई–सिम उपलब्ध गराइएको हो ।


'नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन् । पोस्टपेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्', प्रवक्ता अधिकारीले भने, 'ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटवर्कमा जोड्न सक्छन् ।” तर एकपटक भने एउटा नेटवर्कमा मात्रै जोड्न सकिने उनको भनाइ छ ।

के हो ई-सिम ?

ई-सिम इलेक्ट्रिक सिम हो । जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ । ई–सिम उपलब्ध भएपछि भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता रहँदैन ।

ई-सिम प्रयोग गर्न मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । 

सिमकार्डमा प्रयोग हुने स्टोरेज, मेमोरी मोबाइल डिभाइसमा हुन्छ । ग्राहककर्ताले प्रयोग गर्ने मोबाइलमा भएको विशेषताअनुसार र ग्राहकले लिन चाहने सेवासँग ई–सिम जोडिन्छ । ई–सिम इम्बेड हुनाले सिमकार्डजस्तो हराउने, भाँचिने हुँदैन । 

यस्तो सुविधा यदि कुनै व्यक्ति विदेशमा गएको खण्डमा विदेशको नेटवर्क सेवा लिएर पुरानो नेटवर्क पनि राख्न सकिन्छ । त्यसलाई मोबाइलबाट हटाउन वा सिम निकाल्नुपर्ने झन्झट हुँदैन । विदेशमा उतैको ई–सिम लिएर सहजै विदेशी नेटवर्कसँग जोडिन सकिन्छ । 

सिमकार्ड प्रयोगमा रहँदा मोबाइल हराएको खण्डमा पुनः पहिले लिएको  सिमको प्रक्रियाअनुसार प्राप्त गर्न सकिन्छ भने ई–सिम प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै मोबाइल हराएको खण्डमा हालसम्म दुई÷तीन पटकसम्म क्युआर स्क्यान गरी सोही सिम लिन सकिन्छ । 

जुन स्कानर ग्राहकले ई–सिम लिँदा नै प्राप्त गर्ने व्यवस्था हुन्छ । जसको सुरक्षा ग्राहक स्वंयमले नै गर्नुपर्छ । ई-सिम सपोर्ट गर्ने जुनसुकै ग्राहकले ई-सिम प्राप्त गर्न सक्ने व्यवस्था छ । सिमकार्डको प्राप्तिका लागि चाहिने कागजात र शुल्क ई-सिम प्राप्त गर्नका लागि पनि एउटै व्यवस्था छ । सिमकार्डमा भएको सबै सेवा ई-सिममा पनि रहेन र ई–सिममा थप सुविधा रहन्छ । 

 ई-सिममार्फत एउटा फोनबाट अर्को फोनबाट डाटा सार्न, ई-सिममा उपलब्ध डाटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । मोबाइलले ई-सिम सपोर्ट गर्छ भने जुन अपरेटरको सेवा लिन मन छ ग्राहककोमा आफ्नो केवाईसी अद्यावधिक गराएर सिम प्रोफाइल अपडेट गराए मात्र पुग्ने टेलिकमले जनाएको छ । 

विश्वभर सूचना प्रविधिले फड्को मारेको परिवेशमा नेपालमा पनि ई-सिमको माग पनि बढ्दै गएको छ । नयाँ प्रविधिको विकाससँगै भविष्यमा ई-सिमको माग बढ्नसक्ने सम्भावना रहेको प्रवक्ता अधिकारीले बताए ।   
रासस


Author

थप समाचार
x