सुदूरपश्चिम

एमालेका शीर्ष नेता धनगढीमा

सुदूरपश्‍चिममा सरकार फेरबदलको गृहकार्य

नवराज पनेरु |
चैत १४, २०७७ शनिबार १२:२७ बजे

फाइल तस्‍वीर

धनगढी : सुदूरपश्चिममा प्रदेश सरकार फेरबदलको गृहकार्य सुरु भएको छ । नेकपा (एमाले) ले सरकार फेरबदलको गृहकार्य सुरु गरेको हो । माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा रहेको सरकार फेरबदल गर्नका लागि अहिले एमालेका शीर्ष नेता धनगढीमा छन् । 

उद्योग मन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापासहितका नेता धनगढी पुगेपछि समीकरण फेरबदलको गृहकार्यले तीब्र्रता पाएको हो । शुक्रबार मन्त्री भट्टले पनि त्यस्को संकेत दिएका छन् ।


धनगढी पुगेलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टले भनेका थिए, ‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन । अब छलफल गर्छौ । यो सरकारले गति लिन सकेको छैन । अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ ।’
 
सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्र छुट्टा–छुट्टै पार्टी भएसँगै एमालेले समर्थन फिर्ता लिए मुख्यमन्त्री भट्ट संकटमा पर्ने हुन् । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एमालेका २५ जना, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना छन् । प्रदेशमा सकार गठनका लागि २७ जना प्रदेशसभा सदस्य आवश्यकता पर्दछ । एमालेलाई सरकार बनाउन जसपा वा काँग्रेसको साथ चाहिन्छ भने माओवादी केन्द्रलाई जसपा र काँग्रेसको दुवैको साथ आवश्यक पर्ने देखिएको छ ।

प्रदेशसभा सदस्यसमेत रहेका एमालेका एक नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिन विषयमा एमालेभित्र सहमति भइसकेको बताए । ‘सात सदस्यीय मन्त्रिमण्डलमा अहिले दुई मन्त्रालय मन्त्रीविहीन छन्,’ ती नेताले भने, ‘एमालेले समर्थन फिर्ता नलिने भए मन्त्रिमण्डल विस्तार भइसक्थ्यो । एमालेकै नेतृत्वमा सरकार बनाउन गृहकार्य भइरहेकोले मन्त्रिमण्डल विस्तार नभएको हो ।’ 

त्रिलोचन भट्ट माओवादी केन्द्रका पूर्वनेता लेखराज भट्टकै जोडबलमा मुख्यमन्त्री भएका थिए । तर मुख्यमन्त्री भएको दुई वर्षपछि उनले लेखराजको साथ छोडेका थिए भने अहिले लेखराज एमालेमा छन् । अहिले त्रिलोचन सरकार ढलाउन लेखराज नै सक्रिय भएका छन् ।


Author

थप समाचार
x