सुदूरपश्चिम

बलात्कार आरोपमा भाइरल अर्जुन पक्राउ

नवराज पनेरु |
माघ १३, २०७७ मंगलबार १६:२३ बजे

धनगढी : कैलालीकी एक युवतीलाई चार वर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका–४ कि एक युवतीलाई ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका-२ साँडेपानी बस्‍ने २४ वर्षीय छित्ता भन्‍ने अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार विकले ति युवतीलाई काठमाडौँमा बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप छ । साउन १५ गते युवतीलाई कोठामै राखेर विक फरार भएको जाहेरीपछि विकलाई पक्राउ गरिएको विष्टले बताए । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट पक्राउ गरेको हो ।


पक्राउ परेका विक केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए । आफ्नो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बाँधेर बोक्दै ठेला गुडाएको अर्जुनको फोटो भाइरल भएको थियो । सरु सुनारले खिचेको त्यो तस्बिरले धेरैको मन तानेको थियो ।

अर्जुनले सुनाएको एकोहोरो कथामा विश्वास गरेर युट्युब च्यानलहरूले उनलाई निकै साथ दिएका थिए । श्रीमतीले छोडेर गएपछि आफूले दुई वर्षको बच्चालाई सधैं यसैगरी पिठ्युँमा बोकेर रिक्सा चलाउने गरेको उनको भनाइ थियाे ।
 


Author

थप समाचार
x