सुदूरपश्चिम

सत्‍ता सकस

सुदूरपश्‍चिममा पनि भएको थियो आलोपालो सरकारको नेतृत्‍व गर्ने सहमति

विनोद देवकोटा |
कात्तिक १५, २०७८ सोमबार १३:३२ बजे

काठमाडौँ- सुदूरपश्‍चिम प्रदेशमा नेकपा माओवादी केन्‍द्र र नेकपा एकीकृत समाजवादी (तत्‍कालीन एमालेको माधव नेपाल समूह)बीच आलोपालो सरकारको नेतृत्‍व गर्ने सहमति भएको पाइएको छ । नेकपा एमाले विभाजन नहुँदै मुख्‍यमन्‍त्री त्रिलोचन भट्टले विश्‍वासको मत लिँदा भदौपछि सरकारको नेतृत्‍व समाजवादीले गर्ने लिखित सहमति गरेको नेकपा (एकीकृत समाजवादी) का नेताहरूले दाबी गरेका छन् । नेकपा (एस)का सुदूरपश्‍चिम अध्यक्ष विक्रम शाहीले एमाले विभाजन नहुँदै माओवादीसँग सरकारको आलोपालो नेतृत्‍व गर्ने सहमति भएको दाबी गरे । सोही सहमतिपछि आफूहरूले 'फ्लोर क्रस' गरेर मुख्‍यमन्‍त्री भट्टलाई विश्‍वासको मत दिएको उनले बताए । 

'दलहरूबीच आलोपालो नेतृत्व लिने प्रदेशस्तरमा सहमति भएकाे छ । कर्णालीमा पछिल्‍लो समय बाहिर आएको सहमति त्‍यसको उदारहण हो । सुदूरपश्‍चिममा पनि आलोपालोको सहमति भएको हो,' उनले भने, 'हामी एमालेमै हुँदा माओवादीसँग सहमति भएको थियो । भदौ अन्‍तिमसम्‍म माओवादीले मुख्यमन्त्री छाड्ने र समाजवादी (तत्‍कालीन माधव समूह)को नेतृत्वमा नयाँ सरकार बन्‍ने समझदारी भएको हो । मुख्यमन्‍त्रीले विश्‍वासको मत लिँदा एमाले विभाजन भएकै थिएन । हामीले 'फ्लोर क्रस' गरेर पनि विश्वासको मत दिएका हौँ ।'


तर, त्‍यसबेला र अहिलेको परिस्‍थिति फरक रहेको उनले सुनाए । 'त्‍यसबेला भीम रावल पनि हाम्रै समूहमा हुनुहुन्‍थ्यो । विश्‍वासको मत दिँदा माओवादी अध्यक्षकै रोहबरमा रावलसहित आलोपालोको सहमति भएको हो,' इकागजसँग शाहीले भने, 'प्रकाश शाह एमालेको संसदीय दलको नेता हुनुहुन्‍थ्‍यो । उहाँलाई मुख्‍यमन्‍त्री बनाउने कुरो भएको हो । तर, अहिले रावल र शाह दुवै एमालेमै हुनुहुन्‍छ ।'

त्यस्‍तै नेकपा एसका एक प्रदेश सभा सदस्‍यले पनि माओवादीसँग सरकारमा आलोपालो नेतृत्‍व गर्ने सहमति भएको बताए । मुख्‍यमन्‍त्रीलाई विश्‍वासको मत दिँदा दसैँपछि माओवादीले सत्‍ता हस्‍तान्तरण गर्ने सहमति भएको उनको भनाइ छ । 'तत्‍कालीन अवस्‍थामा माओवादी र हाम्रो (माधव समूह)बीचमा सरकारको आलोपालो नेतृत्‍व गर्ने सहमति भएको साँचो हो,'नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, 'दसैँपछि माओवादीले सत्‍ता हस्‍तान्‍तरण गर्ने सहमति भएकाे थियाे । त्‍यहीअनुरूप हामीले फ्‍लोर क्रस गरेर विश्‍वासको मत दिएका हौँ ।' तर, अहिले सन्दर्भ बदलिएकोले सहमतिबारे छलफल गर्न सकिने उनको भनाइ छ । अहिले परिस्‍थिति बदलिएकोले केही समय वर्तमान सरकारले नै निरन्तरता पाउने सम्‍भावना रहेको उनले बताए । 

एमाले विभाजन नहुँदै  भीम रावल र दाहालको रोहबरमा  माओवादी र एमालेको तत्कालीन माधव समूहबीच मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो । भीम रावल एमालेमै रहे । अहिले नेकपा (एकीकृत समाजवादी) अलमलमा परेको छ । नेतृत्‍व दाबी गर्ने कि नगर्ने ?

 

मुख्‍यमन्‍त्री त्रिलोचन भट्टले भने आलोपालोको सहमतिबारे इकागजसँग बोल्‍न चाहेनन् । पटक-पटक सम्‍पर्क गर्दा पनि उनले आफू व्‍यस्त रहेको भन्‍दै पछि मात्रै विस्तृतमा कुरा गर्ने भन्‍दै टारे । 'आलोपालो सहमति त्‍यस्‍तो केही होइन । यसबारे विस्तृतमा कुरा गर्ने भए पछि फोन गर्नुहोला,' इकागजसँग उनले भने ।

गत जेठ २५ गते मुख्यमन्‍त्री भट्टले प्रदेशसभामा विश्वासको मत पाएका थिए । त्‍यो बेला एमालेको माधव नेपाल समूहका १७ जना सा‌ंसदले फ्लोर क्रस गरेर भट्टलाई विश्‍वासको मत दिएका थिए । 

यता कर्णालीमा पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनेक्रममा कांग्रेससँग आलोपालोको सहमति गरेका थिए । कांग्रेसले अहिले सहमतिबमोजिम माओवादीले सत्ता हस्तान्तरण गर्नुपर्ने अडान लिइरहेको छ । 

मुख्यमन्त्रीमा दाबी गर्न पहल गर्ने समाजवादीको निर्णय

नेकपा (एस)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न पहल गर्ने निर्णय गरेको छ । धनगढीमा सम्पन्‍न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको प्रदेश अध्‍यक्ष विक्रम शाहीले जानकारी दिए । उनकाअनुसार बैठकले प्रदेश सरकारमा दाबी पेस गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ । सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व दाबी गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय भएको उनले बताए । 

'सबैभन्दा ठूलो दल भएकोले हाम्रो हक लाग्दछ भनेर दाबी गरेको हो । यो दाबी भनेको आन्तरिक हो,' उनले भने, 'पार्टीको नेतृत्वलाई सुदूरपश्चिममा पहिलो दल भएको नाताले हाम्रो नेतृत्वमा सरकार बनाउन पाउनुपर्छ भन्‍ने दाबी पार्टीको हो । हामी दाबी गरेर अरु दलसँगको सम्बन्ध बिगार्न होइन । नेतृत्वले गठबन्धन दलसँग छलफल गर्ला । हामीले विद्रोह गर्न खोजेका भने होइनौँ ।' आफूहरूले सरकारको नेतृत्‍व दाबी गरे पनि केन्द्रमा सत्‍ता गठबन्‍धनले गरेको निर्णय मान्य हुने उनले बताए । 

सुदूरपश्‍चिममा नेपाली कांग्रेसले पनि सरकारको नेतृत्व पाउनुपर्ने भन्‍दै आन्तरिक छलफल चलाएको छ । केही दिनअघि कांग्रेस सुदूरपश्‍चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले पार्टी सभापति तथा प्रधानमन्‍त्री शेरबहादुर देउवालाई भेटेर सरकारको नेतृत्‍व लिन पहल गरिदिन आग्रह गरेका थिए ।  

एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ । ५२ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १-१ सांसद छन् ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x