सुदूरपश्चिम

भ्रष्टाचारविरुद्धमा शून्य सहनशीलको नीति लिएका छौँः मन्त्री देउवा

इकागज |
पुस १९, २०८० बिहीबार १७:१५ बजे

सुदूरपश्चिम - सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताएका छन् । 

धनगढीमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न सबैको ऐक्यवद्धता र प्रतिवद्धताको आवश्यकता औल्याए । उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि सबैमा स्वअनुशासन, सदाचार र नैतिकता आवश्यक छ ।” 


प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले स्वअनुशासनमा बसेर काम गर्न सकिएमा धेरै हदसम्म अनियमितता रोकिने बताउँदै भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तरक्रियाबाट सरकारलाई योजना कार्यान्वयनमा सहजीकरण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । 

अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त डा हरि पौडेलले प्रचलित कानुन विपरीतको काम गर्न कसैलाई पनि छुट नहुने बताए । उनले भने, “आ–आफ्नो काम कर्तव्यप्रति जवाफदेही बन्नसक्नुपर्छ, निस्वार्थ ढङ्गले काम गर्दा कुनैपनि समस्या आउँदैन ।” 

कार्यक्रममा प्रदेशसभाका सदस्य धर्मराज पाठक, गीतादेवी चौधरी र खेमादेवी विष्ट, प्रदेश सरकारका प्रमुख सचिव डा हरि लम्साललगायतले पनि भ्रष्टाचार नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारेमा प्रकाश पारेका थिए । 

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा हालसम्म एक हजार तीन सय ७५ उजुरी दर्ता भएका छन् । जसमा सबैभन्दा बढी जिल्लागत रुपमा कैलाली, कञ्चनपुरका र मन्त्रालयगत रुपमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित रहेको जनाइएको छ ।  
 


Author

थप समाचार
x