सुदूरपश्चिम

भूकम्प प्रभावितका लागि राहत दिन हिड्यो धनगढीबाट जनप्रतिनिधिको टोली

इकागज |
कात्तिक २३, २०८० बिहीबार ११:२३ बजे

कैलाली- धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको टोली भूकम्प प्रभावितका लागि राहत सामाग्री लिएर कर्णाली प्रदेश गएको छ। 

नगरउपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा कार्यपालिका सदस्यहरूको टोली बिहीबार भूकम्प प्रभावितका लागि राहत सामाग्री बोकेर कर्णाली गएको हो ।


कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण जनधनको क्षति भोग्नु परेकाहरूका लागि उपमहानगरपालिकाले ६ लाख ३५ हजार  रुपैयाँ बराबरको एक सय क्वीन्टल चामल पठाएको हो । 

२८ औं कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामाग्रि पठाउने निर्णय गरेको थियो । सोही बैठकले भूकम्पबाट ज्यान गुमाएकाहरूको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । 

यसैगरी एक मिनेट मौन धारण गर्दै बैठकले निधन भएकाहरूप्रति श्रद्धान्जली व्यक्त गरेको थियो । बिहीबार विहान नगरप्रमुख गोपाल हमालले कर्णाली प्रदेशको राजधानी सुर्खेतका लागि गएको टोलीलाई राहत सामाग्रीसहित विदाई गरेका थिए । 

उपप्रमुखसहितको टोलीले सुर्खेत पुगेर कर्णाली प्रदेश सरकारलाई चामल हस्तान्तरण गरेर फर्कने छ।


Author

थप समाचार
x