सुदूरपश्चिम

धनगढीमा जडित ‘स्मार्ट स्ट्रिट लाइट’ ठाउँ-ठाउँमा बन्द

इकागज |
असोज १७, २०८० बुधबार १६:११ बजे

कैलाली । धनगढी–अत्तरिया ६ लेन सडकको धनगढी ट्राफिक चोकदेखि गेटा विमानस्थल गेट खण्डमा जडित ‘स्मार्ट स्ट्रिट लाइट’ ठाउँ-ठाउँमा बन्द भएको छ । 

लाइट जडान गरिएपछि यो खण्डको ६.६ किलोमिटर सडक खण्डको धनगढी चौराहादेखि डिके आयल स्टोर सम्मका करिब १.८ किलोमीटर लाइट बन्द भएको हो । लाइट बन्द भएपछि उक्त सडक क्षेत्र अन्धकार भएको छ । 


सडक क्षेत्र अन्धकार हुँदा सडक दुर्घटना लगायतका घटना हुन सक्ने भन्दै सरोकारवालाले उपमहानगरपालिकालाई छिट्टै मर्मत गर्न सुझाव दिएका छन् । 

धनगढी उपमहानगरपालिका प्रमुखको सचिवालयले उक्त सडक बत्ती सुचारु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई जानकारी गराइसकेको बताएको छ । तर, मर्मतका लागि समेत काठमाडौबाट म्यानपावर झिकाउनु पर्ने भएकोले केही समय लाग्न सक्ने मेयरको सचिवालयले जानकारी दिएको छ ।

धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको दुई करोड ६९ लाख ५८ हजार रुपैयाँको लगानीमा बत्ती जडान गरिएको थियो ।

सो सडक बत्तिको गत फागुन ११ गते सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उद्घाटन गरेका थिए। सडक बत्ती जडानमा उपमहानगरको ६० र सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिशत लगानी रहेको धनगढी उपमहानगरपालिकाको रहेको थियो ।


Author

थप समाचार
x