सुदूरपश्चिम

जब शपथ ग्रहणपछि पनि मन्त्रीले आफ्नो मन्त्रालय थाहा पाएनन् !

नवराज पनेरु |
जेठ १४, २०७८ शुक्रबार २०:४३ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका छ्न् । आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी, सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामीलाई मुख्यमन्त्री भट्टले नियुक्त गरेका हुन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका प्रकाशबहादुर शाह आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छ्न् । उनले कानुन मन्त्रीबाट राजीनामा दिएपछि आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्ति पाएका हुन् । यस्तै यसअघिको मन्त्रिमण्डलमा रहेका सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा माया भट्टलाई एमाले संसदीय दलले फिर्ता बोलाएपछि राजीनामा दिएका थिए ।


प्रदेशसभा सदस्य चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार र मना साउद पनि आजै राज्यमन्त्रीमा नियुक्त भएका छ्न् । नियुक्त भएका उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी र राज्यमन्त्री मानबहादुर सुनार माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् भने बाकी सबै एमालेका हुन् । मुख्यमन्त्रीले नियुक्त गरेपछि मन्त्री र राज्यमन्त्री सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । प्रदेश प्रमुख गंगाप्रशाद यादवले पाँच जना मन्त्रीलाई सपथ ग्रहण गराए । तर, शपथ ग्रहण सकिए पनि केही मन्त्रीलाई भने आफूले पाएको मन्त्रालयबारे जानकारी थिएन ।

लालबहादुर खड्का र पूर्णा जोशीको मन्त्रालय कार्यक्रम संचालकले नभनेपछि उनीहरू अन्योलमा थिए । प्रदेश प्रमुखको कार्यालयमा पुग्दासम्म जोशीले सामाजिक विकास मन्त्रीको सपथ ग्रहण गर्ने तय थियो भने खड्कालाई आज नै एमाले संसदीय दलले प्रमुख सचेतकमा नियुक्त गरेको थियो । उनको मन्त्रीमा टुंगो लागेको थिएन । उनको स्थानमा यसअघिका प्रमुख सचेतक तारालामा तामाङले आन्तरिक मामिला तथा कानुनमन्त्रीको सपथ ग्रहण गर्ने तयारी थियो । तर, तामाङले सो मन्त्रालय अस्विकार गरेको एमाले स्रोतले बतायो ।

तामाङले भौतिक पूर्वाधार विकास मन्त्रालय माग्दै आएका थिए भने सो मन्त्रालयमा पूर्वमन्त्री दीर्घ सोडारीले अडान लिएपछि तामाङ पछि हटेका हुन् । तामाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली छोड्ने र अन्य मन्त्रीको सपथ ग्रहण गराउने तयारीमा रहेको एमालेले अन्तिम समयमा आज नै प्रमुख सचेतक नियुक्त भएका खड्कालाई सामाजिक विकास मन्त्रालय दिएर जोशीलाई कानुनमन्त्रीको सपथ ग्रहण गर्न लगाएको हो ।  प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले कार्यक्रमको अन्तिमम मात्रै कार्यविभाजन सूची पढेपछि खड्का र जोशीले आफुले पाएको मन्त्रालय थाहा पाएका थिए ।


Author

थप समाचार
x