सुदूरपश्चिम

सुदूरपश्‍चिमका सामाजिक विकास मन्त्रीको जवाफ, ‘स्पष्टीकरण पत्रको आधिकारिकतामै प्रश्‍न छ’

नवराज पनेरु |
जेठ १४, २०७८ शुक्रबार १४:४४ बजे

धनगढी : नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्पष्टीकरणको जवाफ बुझाएका छन् । मन्त्री सुवेदीले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाएका हुन् । 

मन्त्री सुवेदीले स्पष्टीकरण पत्रको आधिकारिकतामै प्रश्न उठाएका छन् । ‘नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधान र निर्वाचित केन्द्रिय कमिटीको निर्णय बमोजिम सुदूरपश्चिम प्रदेश संगठन कमिटीमा अध्यक्ष र सचिवको व्यवस्था नरहेको विदितै छ । हुँदै नभएको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र सचिवको नाममा प्रेषित पत्रको आधिकारितामा नै प्रश्न चिन्ह लाग्ने कुरा स्पष्ट छ,’ स्पष्टीकरणको जवाफमा मन्त्री सुवेदीले भनेका छन् । 


उनले कोभिड महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको पनि बताएका छन् । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै सुवेदीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । 

मन्त्री शाह र भट्टले पनि आजै स्पष्टीकरण बुझाउने तयारी गरेका छन् । सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा मन्त्री रहेका एमालेका शाह, सुवेदी र भट्ट माधव नेपाल समूहका हुन् । उनीहरुलाई सरकारबाट फिर्ता बोलाउन स्थायी कमिटीले निर्णय गरेको थियो भने सोही निर्णयलाई टेक्दै प्रदेश कमिटीले निर्देशन दिएको थियो । तर एमाले सुदूरपश्चिमको संसदीय दलले स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशनविपरित माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन यथावत राख्ने निर्णय गरेको थियो ।


Author

थप समाचार
x