सुदूरपश्चिम

५२ करोड लागतमा धनगढी बजारमा मुख्य सडक बन्दै

इकागज |
असार १२, २०८० मंगलबार १०:४४ बजे

कैलाली । धनगढी उपमहानगरपालिकाको मुख्य बजार सडकको आज शिलान्यास गरिएको छ । कैलाली पुलदेखि हुलाकी सडकको शून्य विन्दुसम्म निर्माण हुने सडकको सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको करिब ५२ करोडको लागतमा निर्माण हुने सडकको लम्बाई २ हजार २८४ मिटरको हुनेछ भने सडकको चौडाई ३० मिटरको हुने उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले जानकारी दिए । 


दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरि धनगढीको केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । १४/१४ मिटरको मुख्य सडकको दायाँबायाँ डेढ/डेढ मिटरको खानेपानी र टेलिफोनका लागि अन्डरग्राउण्ड पास हुने ईन्जिनियर भट्टले बताए । उनले सडकको बीचमा २ मिटरको डिभाइडर समेत रहने बताए ।

धनगढी उपमहानगरपालिकाको नेतृत्व लिए लगतै मेयर गोपाल हमालले उक्त सडक खण्डमा पर्ने पक्की भौतिक संरचना भत्काउन घर धनीहरुलाई अपील गरेका थिए । बिना कुनै रोकावट सबै घरधनीहरुले आफैँ घर भत्काएर सडक निर्माणमा सहज गरेको स्मरण गर्दै मेयर हमालले सबैलाई धन्यवाद दिएका छन् । 

कैलाली पुलदेखि हुलाकी सडकको शून्यबिन्दु सम्म पर्ने घरहरु भत्काएर सडक निर्माणमा सहज गरेको भन्दै ती सबै घरधनीहरुलाई सम्मान समेत गरिने मेयर हमालले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री रमेश धामी, उपमहानगरपालिका मेयर गोपाल हमाल, उपमेयर कन्दकला कुमारी राना, भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x