सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभा बैठक फेरि सर्‍यो

इकागज |
माघ २६, २०७९ बिहीबार १३:१७ बजे

कैलाली - सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सरेको छ । बुधबार बस्दै नबसी आज १ बजेका लागि सरेको प्रदेश सभा बैठक अन्तिममा आएर साँझ ४ बजेसम्मका लागि सरेको हो । 

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।


नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा गत पुस २७ गते नेकपा (एमाले)का रावल मुख्यमन्त्री नियुक्त भएका थिए । रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एकसहित २९ सांसदको समर्थन छ ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।​ रावल नेतृत्वको सरकार ढलेसँगै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकार बनाउने बाटो खुल्नेछ ।

५३ प्रदेशसभा प्रदेश सभामा सरकार बनाउन २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन् ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाइ नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ  गरेपछि सत्तारूढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ । सरकारलाई विश्वासको मत नदिने अडामा रहेका नागरिक उन्मुक्तिका ७ सांसद अहिले पनि काठमाडौंमै छन् ।


Author

थप समाचार
x