सुदूरपश्चिम

छलफल नगरी बैठक सारिएको भन्दै कांग्रेसको आपत्ति

सुदूरपश्चिम प्रदेश सभाको बैठक सर्‍यो

इकागज |
माघ २५, २०७९ बुधबार १२:१० बजे

काठमाडौँ - सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ । आजलाई बस्ने तय भएको बैठक बस्दै नबसी भोलिका लागि सरेको हो । विषेश कारणबस आज बस्ने तय भएको बैठक भोलि बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तयारी थियो । मुख्यमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री रावलको पद संकटमा परेको छ ।


रावल मुख्यमन्त्री नियुक्त भएको भोलि एक महिना पुग्दैछ । संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।​ रावल नेतृत्वको सरकार ढलेसँगै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकार बनाउने बाटो खुल्नेछ ।

नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा गत पुस २७ गते नेकपा (एमाले)का रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एकसहित २९ सांसदको समर्थन छ ।

५३ प्रदेशसभा प्रदेश सभामा सरकार बनाउन २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन् ।

एक्कासि प्रदेश सभा बैठक सरेकोमा नेपाली कांग्रेसले भने आपत्ति जनाएको छ । ​दलहरुहरूसँग छलफल नै नगरी एकाएक बैठक स्थगित गरिएको भन्दै कांग्रेस सांसदहरूले आफूहरूलाई मान्य नहुने बताएका छन् ।


Author

थप समाचार
x