सुदूरपश्चिम

त्रिनगर-गौरीफन्टा नाका हुँदै कैलाली आएका ४३ जनामा कोभिड संक्रमण

नवराज पनेरु |
चैत ३०, २०७७ सोमबार १५:५३ बजे

धनगढी : त्रिनगर–गौरीफन्टा नाका हुँदै आज कैलाली भित्रिएका ४३ जनामा कोरोना संक्रमण देखिएको छ । सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ४३ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्पडेस्कले जनाएको छ । 

हेल्‍थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाकाअनुसार समाचार तयार पारुन्जेलसम्म ६ सय ८ जना नेपाली स्वेदश फर्किएका छन् । ‘सीमानाकामा ६ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो,’ ठकुल्लाले भने, ‘दैनिक एक हजार नेपाली अहिले त्रिनगर नाका भएर स्वदेश फर्किरहेका छन् । आइतबार मात्रै ५४ जनामा एन्टिजेन परीक्षणमा कोरोना देखिएको थियो ।’ 


एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूलाई धनगढी उप–महानगरपालिकाले वडा नम्वर १५ को कनरीमा बनाएको आइसोलेसनमा राख्दै आएको ठकुल्लाले जानकारी दिए । उक्त आइसोलेसन भरीभराउ भएपछि धनगढीको कवर्डहलमा राख्ने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ । 

भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको लर्को छ । पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा स्वदेश फर्किनेको भीड बढेको हो । अहिलेसम्म भारतबाट फर्किरहेकाहरुमा कोरोना परीक्षण गर्दा ५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । दुवै नाकामा आइतबारसम्म १० हजार जनाको परीक्षण गरिएकामा चार सय ५० जनामा कोरोना पुष्टि भएको थियो ।

 


Author

थप समाचार
x