कर्णाली

४५ वर्षीया हरिकलाको कष्टकर दैनिकी

एक छाक टार्न माटो मुछ्दै सुल्पा बनाउदै

जितेन्द्र थापा |
असार १७, २०७८ बिहीबार १७:१५ बजे

सुर्खेत : कोभिड–१९ को महामारीका कारण जारी निषेधाज्ञामा दैलेखको ठाटीकाँध गाउँपालिका–१ कि हरीकला वादीलाई हातमुख जोड्नै समस्या भएको छ । माटोको सुल्पा बनाएर बेच्दै आएकी हरिकला जारी निषेधाज्ञाका कारण घर बाहिर निस्किन समेत पाएकी छैनन् । साँझ–बिहान एक छाक खानलाई घरमा खाउ त एक दाना अन्न छैन । न त ओछ्याउने लत्ताकपडा नै छ । साँझ–बिहान माटोसँग खेल्दै एक छाक टार्न माटो मुछ्दै सुल्पा बनाउनु उनको दैनिकी हो ।

उमेरले ४५ वर्ष काटेकी उनलाई न त कोभिडले छोयो न निषेधाज्ञाले नै । छोयो त केवल पेटको भोकले मात्र । जारी निषेधाज्ञाका कारण गाउँ जान त परको कुरा हो बनाएको सुल्पासमेत बेच्न पाएकी छैनन् । उनलाई कोभिड र निषेधाज्ञाको अर्थ छैन । केवल चिन्ता छ त पेटको आगो बुझाउन । पहिलेका दिनहरूमा उनका दैनिकी सहजै रूपमा कटेको थियो । परिवारका तीन सदस्यको मृत्युपछि र जारी निषेधाज्ञाले साँझ बिहानको छाक टार्न हम्मेहम्मे छ उनलाई । 


पहिले उनको सासु ससुरा, एक छोरा एक छोरी र लोग्नेसहित सानो चिटिक्क मिलेको पाँच जनाको खुसी परिवार थियो । उनको साहरा भन्ने एक छोराबाहेक अरु कोही छैनन् । चार वर्ष पहिले ससुराले संसार छाडे । ससुरा खसेको घाउ नपुरिँदै सासुको पनि मृत्यु भयो । त्यसको केही समयपछि हरिकलाको जिन्दगीमा ठूलो बर्ज–पात प¥यो । खोलामा जाल खेल्ने क्रममा श्रीमानको मृत्यु भएको नौ वर्ष बित्यो । श्रीमानको मृत्यु भएको सात वर्ष बित्यो । छोरीको पनि अन्तै बिहेपछि यो दुई आमा छोराको परिवारले दुःख नै दुःख भोग्दै आएको छ । 

साहरा भने पनि आहारा भने पनि सबै कुरा भनेका उनका चौध वर्षीय छोराबाहेक अरु कोही छैन । पेटको आगो बुझाउन बिहान भालेको डाकोसँगै उठ्छिन् । सानो सानो काठको मुग्रो समाउँदै माटो कुट्न शुरु गर्छिन् । माटो कुट्दै त्यही माटोलाई हातमा खेलाउँदै सुल्पा बनाउँदै साँझ परेको पत्तै पाउँदैनन् । ‘बिहानदेखि दिनभरि माटो कुट्दै सुल्पा बनाउँछु’ उनले भनिन्, ‘अर्को दिन यिनै बनाएका सुल्पा लगेर गाउँ जान्थे । निषेधाज्ञा हुनुअघि बनाएका सुल्पा घरमै थन्किएका छन् ।’

पहिले गाउँमा कसैले एकदेखि दुई वटासम्म राख्थे । ‘अहिले घरमै थन्किएका छन्’ उनले भनिन्, ‘कहिलेकसो नजिकै गाउँबाट लुकिछिपी सुल्पा किन्न आउँछन् एक सुल्पालाई २० देखि ४० रुपैयाँका दरले बेच्छु मेहनत गरेको आधा पनि हुँदैन त्यत्तिमा पनि नबेचौँ पेटको आगो दन्दनी दन्किरहन्छ ।’

साँझसम्म यही काममा व्यस्त हुन्छु । पहिलेको हाम्रो पुख्यौली पेशा भनेको मादल, सारङ्गी, सुल्पा (चिलम भरेर खाने माटोले बनाएको) लगायतका अन्य बाजा थिए । बजारमा आएको नयाँ प्रविधिले सबै ओझेलमा पर्दै गए । उनलाई यही एउटा सुल्पा छ यो पनि कुन दिन ओझेलमा पर्ने हो चिन्ता लाग्छ । 

‘लुकीछिपी गर्दै निषेधाज्ञा छलेर जाल खेल्न खोलामा गएर माछा मारेर बेचेर साँझ नूनतेल ल्याउँछ’ उनले भनिन्, ‘कहिले कसो सोचिन्छ यस्को बाबु पनि जाल खेल्न जाँदा मृत्यु भयो, छोरालाई पनि केही भइदिए कसरी दिन बिताउँला मन मनै सोच्छु छोरालाई नाई भन्छु, घरको यस्तो अवस्था देख्दा मान्दैन गइहाल्छ ।’

‘बसाँै भने आफ्नो घर छैन’ उनले भनिन्, ‘अर्कैको घरमा बसेको छु, त्यही पनि चुहिने भएर राती ओछ्यानमै छ्यालब्याल पानीले भिज्छ पेटको आगो मार्ने अन्न छैन पेटको आगो बुझाउ कि पाखामा प्लाष्टिक हालु ।’ 

कसैले पाल मात्रै उपलब्ध गराए पनि उ मेरा लागि भगवान मान्थे । गाउँपालिकाभर आफ्ना आसेपासेले घर पाए आफूले बस्ने टहरोका लागि पचासचोटी गाउँपालिका धाएको तर कसैले नसुनेको उनी बताउँछिन् । ‘पचास चोटि गाउँपालिका वडा कार्यालय धाउँदा म अभागीको आवाज कसैले सुनेर कसैले सुनेर बस्ने एउटा टहरो बनाइदिए, मेरा लागि भगवान उही हुन्थ्यो ।’


Author

थप समाचार
x