कर्णाली

नेपालगञ्जमा नियमविपरीत सञ्चालित एक सय ई–रिक्सा नियन्त्रणमा

इकागज |
मंसिर २०, २०८० बुधवार १४:५२ बजे

फाइल फोटो

बाँके -  बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई–रिक्सा नियन्त्रणमा लिएको छ । 

सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई–रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार मङ्गलबार एक सय ३२ ई–रिक्सालाई नियन्त्रणमा लिइएको छ । नीतिनियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ यात्रुवाहक ई–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ ई–रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नियन्त्रणमा लिएर राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।  “यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई–रिक्सालाई गुड्न दिइने छैन”, प्रजिअ पोखरेलले भने, “यातायातमा प्रक्रिया पु¥याएर उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई–रिक्सा चल्ने अनुमति दिने छौँ ।”  


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार उक्त ई–रिक्सा ‘होल्ड’ गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई–रिक्सा कम्पनीलगायत सरोकारवालाबीचको निरन्तर छलफल र बैठकपछि ई–रिक्सा होल्ड गर्न सुरु गरिएको उनले बताए । 

उपमहानगरपालिकाद्धारा पछिल्लो पटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो । नेपालगञ्ज सहरमा आवश्यकताभन्दा बढी ई–रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तव्यस्तता बढेको ट्राफिक प्रमुख सुवेदीले बताए । करिब चार हजार गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा झन्डै १० हजार ई–रिक्सा गुडेको उनको भनाइ छ । हालसम्म नेपालगञ्जमा दुई हजार आठ सय ई–रिक्सामात्र सूचीकृत भएको उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले बताए । रासस


Author

थप समाचार
x