कर्णाली

गुर्भाकोटको खटाङ्गमा तीनमुखे झोलुङ्गे पुल बन्ने

इकागज |
असोज १८, २०८० बिहीबार २१:३३ बजे

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित खटाङ्गमा झोलुङ्गे पुल बन्ने भएको छ । गुर्भाकोटको वडा नम्बर ८ मा रहेको धार्मिक तथा ऐतिहासिक खटाङ्ग क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल बन्ने भएको हो ।

गुर्भाकोट नगरपालिकाको वडा नम्बर ८ खटाङ्ग, वडा नं. १० घुमखहरे र वडा नं. १२ दहचौरलाई जोड्ने गरि तीनमुखे झोलुङ्गे पुल बन्न लागेको हो । बुधबार गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुन, स्थानीय पूर्वाधार आयोजनाका कर्मचारी एवं नगरपालिकाका कर्मचारी लगायतले डिजाइनका लागि अनुगमन समेत गरेका छन् ।


नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं सुर्खेत क्षेत्र नम्बर एकका संघीय सांसद पूर्णबहादुर खड्काको विशेष पहलमा उक्त तीनमुखे झोलुङ्गे पुल बन्न लागेको प्रमुख पुनले बताए । ‘यस स्थानमा पुल बन्नका लागि  तयारी गरिएको छ, सम्भवतः दशैंपछिबाट कामको सुरुवातसम्म गर्न सकिन्छ,’ उनले भने, ‘पुल निर्माण भएमा यस क्षेत्रको विकासमा सहयोग पुग्छ ।’ पुल निर्माण हुने स्थान भेरी नदीको बीच टापुमा मन्दिर रहेको छ । यस क्षेत्रमा पर्यटकीयसँगै धार्मिक स्थलको प्रचार हुनुका साथै पर्यटकीय आवागमन बढ्न मद्दत पुग्ने उनको भनाइ छ । 

उनले तीनमुखे झोलुङ्गे पुल निर्माणको लागि दशैंसम्म फाइनल डिजाइनको काम सकिने र आगामी मंसिर महिनाभित्र टेण्डर लगायतको प्रक्रिया सुरु हुने बताए । संघीय सरकारको २५ करोड बजेट लागतमा बन्न लागेको पुलका लागि केही बजेट विनियोजन भइसकेको समेत प्रमुख हस्त पुनले जानकारी दिए । 


Author

थप समाचार
x