कर्णाली

सुर्खेतमा १० वर्षेयताकै उच्च तापक्रम

इकागज |
जेठ ३०, २०८० मंगलबार १५:२३ बजे

फाइल तस्बिर

सुर्खेत- एक सातायता सुर्खेतमा तापक्रम ह्वात्तै बढेको छ । बढ्दो गर्मीसँगै यहाँको जनजीवन कष्टकर बनेको छ ।

अघिल्ला वर्षहरूमा खडेरीको समयमा २८ देखि ३० डिग्री औषत तापमान पुग्ने सुर्खेतमा यसपटक ३९ दशमलव चार डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ । यो १० वर्ष यताकै उच्च तापक्रम वृद्धि हो । जेठ १६ गतेदेखि बढ्न थालेको तापक्रम पछिल्लो साता यता भने ह्वात्तै बढेको छ ।


जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार वीरेन्द्रनगरको तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस मापन भएको छ । वीरेन्द्रनगरमा मापन भएको यो तापमान हालसम्मको दोस्रो रेकर्ड हो । २०६९ जेठ ३२ गते वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो ।

पछिल्लो समय गर्मी ह्वात्तै बढ्न थालेपछि वीरेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा हुने प्रचण्ड गर्मीका कारण चल्ने तातो हावाले स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पारिरहेको छ । जलवायु परिवर्तनका कारण सुर्खेतमा बर्सेनि विभिन्न प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ ।

बढ्दो गर्मीसँगै अनियमिति रूपमा विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन थप कष्टकर बनेको छ । सुख्खायामसँगै खानेपानीको समेत समस्या झेल्नुपरेको विरेन्द्रनगरका बासिन्दाहरूको गुनासो छ । माग अनुसारको बिजुली आपूर्ति नहुँदा रातको समयमा पनि सहज सुत्न सकिने अवस्थासमेत वीरेन्द्रनगरमा छैन । 

गर्मी बढेसँगै वीरेन्द्रनगरका शैक्षिक संस्थाहरू बन्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै केही दिन लम्बिने देखिएको छ । विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ । 


Author

थप समाचार
x