कर्णाली

भेरी नदी किनारमा यसरी बन्दैछ नमुना शहर

लक्ष्मी भण्डारी |
चैत २, २०७९ बिहीबार १७:२३ बजे

तस्वीर : गुर्भाकोटमा नमुना शहर निर्माणको लागि अवलोकन गर्दै सांसद तथा सचिवहरुको टोली

सुर्खेत । नेपाल सरकारले परिकल्पना गरेका नमुना शहरहरु मध्ये भेरीगंगा उपत्यका नमुना शहरको कामले बिस्तारै गति लिन थालेको छ ।  आर्थिक वर्ष २०६७/६८ मा सरकारले मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा १० वटा नयाँ शहर निर्माण गर्ने योजना अघि सारेको थियो ।

सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने भेरीगंगा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाकालाई समेटेर बनाइने भनिएको सहरको नाम ‘भेरीगंगा उपत्यका नमूना आधुनिक शहर’ राखिएको छ । भेरी नदीको दुवै किनारमा शहर बसाउन लागिएको  छ । उक्त क्षेत्रमा तीन वटा नगरपालिका पर्दछन् । प्रस्तावित नमुना सहर आगामी दिनमा सुर्खेत, जाजरकोट, सल्यान र डोल्पाको मुख्य गन्तव्य सहरका रूपमा हेरिएको छ । भेरी उपत्यकामा आधुनिक सहरका रूपमा विकास गर्न नयाँ सहर आयोजना कार्यालय र संघीय आयोजना कार्यान्वयन इकाइले काम थालेका छन् ।


हाल यस क्षेत्रका छिन्चु, रामघाट, दशरथपुर, जहरे, मेहलकुना र बोटेचौरलाई मुख्य बजारको रुपमा लिइएको छ भने अन्य स्थानहरुमा पनि छरिएर रहेका बस्तीहरु छन् । यी बजार क्षेत्रका छरिएका बस्ती आधुनिक संरचना र सुविधामा जोडेर उपत्यकालाई पूर्ण रूपमा आधुनिक सहर बनाउने लागिएको छ ।  

शहर निर्माण अन्र्तगत चालु आर्थिक वर्षमा भेरीगंगा नगरपालिकाको मेहलकुनामा सम्पर्क कार्यालय स्थापना गरिएको छ । भेरीगंगा उपत्यका नमूना आधुनिक सहर सम्पर्क कार्यालयका फोकल पर्सन इञ्जिनियर रामकृष्ण आचार्यका अनुसार कार्यालयमा स्थायी र करारसहित १६ जना कर्मचारी रहने गरी प्रस्ताव गरिएको छ  । जसमा आयोजना प्रमुख, उपप्रमुख, इञ्जिनियर, सबइञ्जिनियर, लेखापाल, कम्प्युटर अपरेटर, खरिदार, सामाजिक परिचालक, कार्यालय सहयोगी लगायत प्रस्ताव गरिएको छ ।

प्रस्तावित शहर चार सय ६० वर्गकिलोमिटरमा भेरीगंगा उपत्यका नमुना आधुनिक सहर बन्नेछ । भेरी नदीमा निर्माण भएका र निर्माणाधीन पुलहरू, उपत्यकाको ठूलो भूगोल, उपयुक्त कृषिभूमि, निर्माण भइसकेका दुई वटा मुख्य राजमार्ग, निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजना, प्रस्तावित क्षेत्रीय विमानस्थल जस्ता पूर्वाधार भेरीगंगा उपत्यकालाई शहरका रूपमा विकास गर्न सकिने मुख्य आधार मानिएका छन् ।

इञ्जिनियर आचार्य प्रस्तावित सहरका लागि सम्भावना पनि प्रशस्तै रहेको बताउँछन् । सहरको सुरक्षित र सन्तुलित विकास, व्यवस्थित बस्ती विकासका लागि चाहिने जमिन, भेरी–बबई आयोजनाको सम्भावित प्रतिफल र कृषि विकासको सम्भावना बलियो छ । ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रको साथै प्रकोपको दृष्टिकोणले उपयुक्त रहेकाले भेरीगंगा उपत्यकालाई आधुनिक सहरका रूपमा विकास गर्न उपयुक्त मानिएको छ ।

भौतिक पूर्वाधारको डिपिआर गर्न आगामी आर्थिक वर्षका लागि आयोजना कार्यालयले पाँच करोड रूपैयाँ बजेट माग गरेको छ । सो रकमबाट उपत्यकाभित्र आवश्यक भित्री सडक, बहुउद्देश्यीय भवन, बसपार्क, हरितपार्क, पर्यटकीय पूर्वाधार, बहुउद्देश्यीय कृषि हाटबजार र कभर्ड हलको डिपिआर गरिने जनाइएको छ। 

दुई साता अघि संघीय सांसद पूर्णबहादुर खड्का र शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यलगायतको टोलीले उक्त क्षेत्रको अनुगमन पनि गरेको थियो । यस क्षेत्रमा आधुनिक तथा नमुना शहरका रुपमा विकास गर्न लागिएको सचिव आचार्यले जनाए । यसलाई नयाँ आवश्यकता र स्थानीय जनप्रतिनिधिको धारणाअनुसार केही संशोधन गर्ने उनले बताऐ, त्यसलाई मन्त्रिपरिषदबाट पारित गरेर विकास साझेदार संस्थाहरूसँग पनि छलफलपछि नयाँ सहरको काम अघि बढाउने आचार्यले बताए ।

भेरीगंगा उपत्यका नयाँ सहर विकासका लागि तीन चरणमा प्रस्ताव गरिएको छ ।  पहिलो पाँच वर्ष अल्पकालीन, त्यसपछिका पाँच–दस वर्ष मध्यकालीन र त्यसपछिको २० वर्षको समय दीर्घकालीन चरणमा राखिएको छ । शहरी विकास मन्त्रालयका सचिव आचार्यका अनुसार पहिलेको गुरूयोजना संशोधनसहित पारित गरेपछिको २० वर्षभित्र भेरीगंगा उपत्यकाले आधुनिक सहरको आकार लिनेछ । नयाँ सहरलाई प्राकृतिक सम्पदाका रूपमा उपत्यकाको बीचबाट बग्ने भेरी नदीले साथ दिएको पनि उनको भनाइ छ । त्यसैगरी भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना भएकाले यसको बाँध बनेपछि ’रिभर टुरिजम’ को बलियो सम्भावना रहने देखिएको छ ।


Author

थप समाचार
x