कर्णाली

मतदाता खोज्न खेतमा पुगे उम्मेदवारहरु

लक्ष्मी भण्डारी |
कात्तिक १४, २०७९ सोमबार १५:२७ बजे

सुर्खेत । नेपाली कांग्रेसले सुर्खेत क्षेत्र नम्वर एकको प्रदेशसभा (क) बाट खड्क पोख्रेललाई उम्मेदवार बनाएको छ । उनी गठबन्धनका उम्मेदवार हुन् । आगामी हुने निर्वाचनमा मत आफ्नो पक्षमा पार्नको लागि मतदाताको घरघरमा पुग्न भ्याईनभ्याई छ उनलाई । यतिबेला धान काट्नको चटारो छ । 

धान भित्र्याउने सिजन भएकाले गाउँघरतिर प्रायः किसानहरु खेतबारीमै भेटिन्छन् । मतदाता रिझाउन प्रदेशसभाका उम्मेदवार पनि खेतबारीमै पुग्ने गरेका छन् । अहिले प्रायजसो मतदाताहरु खेतबारीमै भेटिने भएकाले पनि त्यही पुगेर भेटघाट गरी भोट माग्ने गरेको कांग्रेस क्षेत्र नम्बर १ का उपसभापति  एवं निर्वाचन परिचालन कमिटीका संयोजक किरण वलीले बताए । 


‘यसरी खेतबारीमै उम्मेदवार पुगेको देख्दा मतदाताहरु पनि खुशी देखिन्छन्’ वलीले भने, ‘कृषकहरुको समय पनि सदुपयोग हुने भएकाले हामीहरु खेतबारीमै पुग्ने गरेका छौ ।’ कतिपय मतदाताहरु भने जनप्रतिनिधिहरुले एजेण्डाअनुसारको काम नगरेको भन्दै मतदाताहरु निरासा व्यक्त गर्ने गरेको वलीले बताए 

पूर्व मन्त्री एवं नेकपा माओवादीका नेता विन्दमान विष्ट सुर्खेत क्षेत्र नम्वर दुई प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् । चुनाव नजिकिंदै गर्दा उनलाई घरदैलो भेटघाटको कार्यक्रममा व्यस्त छन् । धान काट्ने र बाली भित्र्याउने समय यसैबेला परेकाले घरदैलोमा मतदाता भेटाउन भने  उनलाई मुस्किल छ । विष्ट मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँमै पुगिरहेका छन् । ‘धान बाली थन्क्याउने समय भएकाले पनि धेरैजसोलाई घर आँगनमा भेट्न कठिन छ’ चुनावी प्रचारप्रसारको लागि पश्चिम सुर्खेतको लगाममा पुगेका विष्ट भन्छन्, ‘मतदाता खोज्दै बारीमै पुग्नुपर्छ, आजभोली भोट माग्न र आफ्ना एजेन्डा सुनाउन खेतबारीमै आउने गरेका छौ ।’

नेकपा (एमाले) का नेता ताराकेशर गौतम सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ मा चुनावी प्रतिस्पर्धामा छन् । गौतम आफ्नो पक्षमा जनमत पार्न यतिबेला गौतम घरदैलो भेटघाटको अभियानमा छन् । गौतम पनि मत माग्न र आफ्ना चुनावी एजेण्डाहरु सुनाउन खेतबारीमै पुग्ने गरेका छन् । पार्टीका बैठक र भेलाहरूसँगै मतदातामाझ चुनावी प्रतिबद्धता जनाउन र भोट माग्न भ्याइनभ्याइ भएको उनी बताउँछन् 

दैलेख क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका समाजवादीका नेता अम्मरबहादुर थापा पनि चुनावी अभियानमा व्यस्त रहेको बताए । गठबन्धनका तर्फबाट उनी चुनावी प्रतिस्पर्धामा छन् । ‘जता जता मान्छेहरुको भेला हुन्छ त्यही गएर भोट माग्ने गरेको छु’ उनले भने, ‘घरमा भेटिए घरमै र बारीमा भेटिएपछि बारीमै चुनावी एजेण्डाहरु सुनाउने भेटघाट गर्ने गरेको छु ।’ नेपाली काँग्रेसका प्रदेश अध्यक्ष ललितजंग शाही पनि आफ्ना चुनावी एजेन्डा सुनाउन घरदैलो भेटघाटमा व्यस्त छन् । जुम्ला प्रदेशसभा ‘क’ का उम्मेदवार शाही मतदाता रिझाउनको लागि मतदाताको घरदैलो भेटघाटमा छन् । गठबन्धनप्रति मतदाताहरूको सकारात्मक प्रतिक्रिया रहेको उनको भनाइ छ । मार्सी धान भित्र्याउने चटारोमा रहेका मतदातामाझ उनी खेतबारीमै पुगेर मत माग्ने गरेको बताए । 

यतिबेला धान भित्र्याउने चटारोमा कृषकहरु रहेकाले मतदाताको घरदैलोसँगै खेतबारीमै पुगेर मत माग्ने गरेका छन् । उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डाहरु खेतबारीमै पुगेर सुनाउन थालेका छन् । जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचारलाई तीव्रता दिएका उम्मेदवारहरू अगुवा नेता र कार्यकर्ताको घरदैलोदेखि मेलापात गर्ने खेतबारीसम्म पुग्ने गरेका छन् । यसरी घरदैलोमा आउने उम्मेदवारसँग कतिपय मतदाताहरु खुशी देखिन्छन् भने कतिपय मतदाताहरु एजेण्डा अनुसार काम नभएकोमा निरासा पनि व्यक्त गर्ने गर्ने गर्दछन् ।
 


Author

थप समाचार
x