कर्णाली

सुर्खेत-१ मा चुनाव

खड्कालाई गठबन्धनको साथ, शाहीलाई तगारो

लक्ष्मी भण्डारी |
कात्तिक ७, २०७९ सोमबार १८:१३ बजे

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्दैछन् । राष्ट्रिय राजनीतिमा बलियो प्रभाव बनाएका नेताको रुपमा परिचित छन् खड्का जसका कारण धेरैको ध्यान उनको निर्वाचन क्षेत्रमा छ अहिले । 

चार दशक बढी राजनीतिमा लागेका खड्का २०४८ सालयता यही क्षेत्रबाट छैठौ पटकसम्म  निर्वाचन लडिसकेका छन् । यो अवधिमा पाँचौपटक नै विजयी भएका खड्का अघिल्लो निर्वाचनमा भने गठबन्धनको कारण झिनो मत अन्तरले पराजय बेहोर्नुपर्‍यो ।


कर्णालीबाट भावी प्रधानमन्त्रीको प्रतिनिधित्वको सम्भावनाको रुपमा पनि खड्काको उम्मेदवारीलाई हेरिएको छ । फलस्वरुप खड्काको उम्मेदवारीलाई कर्णालीमै अझ बढी महत्वका साथ हेरिएको छ । २०७४ को निर्वाचनका बेला भन्दा अहिले खड्कालाई निर्वाचन लड्न सहज भएको उनी निकटका नेताहरु बताउँछन् । ‘२०७४ भन्दा अहिले हाम्रो उपसभापतिज्युलाई चुनाव लड्न सहज छ’ नेपाली काँग्रेसका जिल्ला कार्यसम्पादन समितिका सदस्य नवीन सुनार भन्छन्, ‘अहिले गठबन्धनको पनि बलियो साथ छ र पार्टीभित्रको आन्तरिक विवाद पनि नदेखिएकाले चुनाव जित्ने निश्चित नै छ ।’ 

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचन क्षेत्र नं १ मा रहेका ५२ वटा वडाहरुबाट कांग्रेसले ३६ हजार नौ सय २८ मत प्राप्त गरेको थियो भने एमालेले ३४ हजार आठ सय ४३, माओबादीले पाँच हजार ७५, राप्रपाले ६६४, एस  पार्टीले ६३४ मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रमा रहेका गठबन्धनका दलहरुले प्राप्त गरेको जम्मा मत ४२ हजार छ सय ३७ छ भने एमालेको मतमा राप्रपा समेतको समेत मत जोड्दा ३५ हजार पाँच सय पाँच मात्र हुन आउँछ । सात हजारभन्दा बढी फरक हुने भएकाले गठबन्धन बलियो देखिने गठबन्धनका नेताहरुको भनाई छ ।  

खड्कासँगै प्रतिस्पर्धामा रहेका एमाले नेता धुव्रकुमार शाही पनि यस क्षेत्रको बलियो नेताको रुपमा चिनिन्छिन् । लामो समय यस क्षेत्रमा राजनीति गरेका शाही स्थानीय नागरिकसँग निकट मानिन्छन् । 

एमालेले यसै निर्वाचन क्षेत्रको प्रदेश ‘क’बाट माओवादी तर्फबाट निर्वाचित निवर्तमान प्रदेशसभा सदस्य ठम्मर विष्टलाई उम्मेदवार बनाएमा माओवादी तर्फको मत तान्न सक्ने आंकलन गरिएको छ । अर्कोतर्फ भेरी बेल्ट कांग्रेसको पकेट क्षेत्र मानिन्छ, विष्ट यसै क्षेत्रका बासिन्दा हुन् । उनी उमेदवार भएमा गठबन्धनलाई धक्का पुग्ने एमाले नेताहरुको भनाइ छ । 

त्यसैगरी पूर्व शिक्षक डण्डीप्रसाद शर्मा २०६४ सालको निर्वाचनमा हत्या गरिएका ऋषि प्रसाद शर्माकाका भाइ भएका कारण उनलाई पनि बलियो उमेदवारको रुपमा हेरिएको छ । यस्तै गएको बैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचन जस्तो मत परिणाम आएमा सहजै एमालेले जित हात पार्न सक्ने एमालेका नेताहरुको भनाई छ । एमाले सुर्खेतका सचिव कविन्द्र केसीका अनुसार क्षेत्र नम्वर एकमा रहेका पाँच वटा पालिकामध्ये तीन पालिका एमालेले जितेका कारण पनि एमाले यस क्षेत्रमा बलियो रहेको दावी गर्छन् । ‘स्थानीय निकायको निर्वाचनका बेला पनि गठबन्धनसँग एमालेले प्रतिस्पर्धा गर्दा एमाले अगाडी आएको छ’ केसी भन्छन्, ‘हाम्रो अर्काे जित्ने आधार भनेको पूर्व माओवादीबाट एमालेको प्रदेशसभाको उम्मेदवार बनेका ठम्मर विष्टबाट पूर्व माओवादीका मतहरु पनि यता आउने देखिन्छ ।’

यसरी महत्वका साथ हेरिएको सुर्खेत क्षेत्र नम्वर १ को निर्वाचनमा काँग्रेसलाई गठबन्धनको साथ छ भने एमालेलाई गठबन्धनको डर रहेको देखिन्छ । अहिले कसले जित्ने हार्ने विषयमा विभिन्न आंकलन गरिएपनि नतिजा हेर्न निर्वाचन नै कुर्नुपर्छ ।
 


Author

थप समाचार
x