कर्णाली

चाडवाडले छोएन कर्णालीका सुरक्षाकर्मीलाई

जसको ड्युटीमै बित्छ दसैं

लक्ष्मी भण्डारी |
असोज २०, २०७९ बिहीबार १८:४७ बजे

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्का विरलै मात्र दशैं मनाएको अनुभव छ । प्रहरी नायव उपरिक्षक खड्काको सेवा प्रवेश गरेको २७ वर्षको अवधिमा कमै मात्र दशैं मनाउन पाएको अनुभव छ । यसपटकको दशैंमा अझै दौडादौड बितेको उनले सुनाए । ‘दशैंमा हामीले कमै मात्र होला दशैं मनाउन पाएको’ खड्का भन्छन्, ‘चाडबाडको समयमा अझै बढि दौडादौड हुन्छ ।’

यसपालि दशैंको मुखैमा सल्यानको कपुरकोटमा भएको दुर्घटनाका कारण बढी खटिनुपरेको पर्‍यो । दुर्घटनामा परी एउटै गाउँका आठ जनाको ज्यान गएको थियो । त्यसलगत्तै सोही जिल्लामा अर्काे दुर्घटना भयो । जसका कारण सुरक्षाकर्मीहरुलाई  भ्याइनभ्याई भयो । 


दसैं कसरी मनाउनुभयो भन्ने प्रश्नमा खड्का भन्छन् ‘हाम्रो दशैं त घटना र दुर्घटनामै बित्छ ।’ यसपालि दशैंमा अविरल वर्षाका कारण ठाउँ ठाउँमा बाटो बिग्रिएर आवतजावतमा समस्या भएको उनी बताउँछन् । बाटो अवरोधका कारण आवतजावतमा समस्या भएपछि त्यसतर्फ पनि व्यस्त हुनुपरेको उनको भनाइ  छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपि भुवनेश्वर शाहको पनि अधिकांश दशैं ड्युटीमै बित्छ । ‘चाडपर्व आएपछि हाम्रो काम अझै थपिन्छ’ उनी भन्छन्, ‘त्यसैले हाम्रो चाडपर्व ड्युटीमै बित्छन् ।’

चाडपर्व नजिकिदै गर्दा आवतजावत बढ्ने भएका कारण पनि बढी खटिनुपरेको उनको भनाई छ । यसपालि पनि चाडपर्वका समयमा क्षमताभन्दा बढी यात्रु राखेर हिडने सवारीसाधनलाई कडाई गरेपछि दुर्घटनाका घटनाहरुमा कमी आएको उनको भनाइ छ । शाहले राजमार्गमा आफै खटिएर सवारीसाधनमा चेकजाँच गर्दै आएका छन् । 
सल्यान र दैलेखका डिएसपि जस्तै सुर्खेतका डिएसपि सुरज कार्की पनि अहिलेको दशैं ड्युटीमै बितेको छ । ‘चाडबाँडको समयमा ड्युटीमै रहनु पनि स्वाभाविक जस्तै लाग्छ’ उनी भन्छन्, ‘अहिले त चाडबाडमा ड्युटीमै रहनु पनि सामान्य जस्तै लाग्छ ।’ कार्यालयको नजिक हुनेले एकछिन परिवारसँग भेटघाट गरेर ड्युटीमै फर्किने गरेपनि टाढा घर हुनेहरु ड्युटीमै बस्न बाध्य हुनुपरेको उनको भनाई छ । रामेछाप घर भएका कार्की १५ वर्षदेखि प्रहरी सेवामा छन् । उनी यो अवधिमा कमै मात्रै दसैँमा घर गएका छन् ।

बडादसैँ सुरु भएपछि चाड मनाउन सबैजना गाउँघर फर्कनेको चहलपहल छ । दसैँले गाउँदेखि सहरसम्म रौनक ल्याएको छ ।  तर, नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु भने चाडपर्वमा पनि नागरिककै सुरक्षाको लागि दशैं मनाउन पाउँदैनन् । 
चाडपर्व मनाउन धेरैजसो पेसा व्यवसायका मानिसहरू धमाधम आफ्नो मूल घर गइरहेका छन् । तर,  सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु भने चाडवाडको प्रवाह नै नगरि काममै खटिने गरेका छन् । चाडपर्वको समयमा गाउँघर जाने र आफन्त तथा साथीभाइसँग भेटघाट गरी रमाइलोसँग समय बिताउने चाहाना हुँदाहुँदै उनीहरूले पहिलो प्राथमिकता भने पेसालाई दिनुपर्छ । जसले गर्दा उनीहरूको चाडबाडसमेत कार्यकक्षमै बित्छ ।

नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने प्रहरीको जिम्मेवारीका कारण उनीहरूमध्ये धेरैले चाडबाडमा पनि बिदा पाउँदैनन् ।  उनीहरुकोे जिम्मेवारी र दायित्वका कारण चाडपर्वमा पनि आरामले बिदा मनाउन नपाएको उनीहरुको भनाई छ । चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्ने प्रमुख दायित्व प्रहरीको हुन्छ । यसैबेला आपराधिक घटनासमेत बढ्ने हुँदा धेरै प्रहरी परिचालन गर्नुपर्ने हुन्छ । त्यसकारण पनि उनीहरूलाई बिदा पाउन मुस्किल पर्छ । उनीहरुकोे दसैँ कसरी मनाउने भन्दा पनि जिल्लाको शान्ति सुरक्षा कसरी गर्ने भन्नेमा बढी ध्यान जाने गरेको बताउँछन् । 


Author

थप समाचार
x