लुम्बिनी

रुपन्देहीमा ८ महिनामा क्षयरोगबाट २८ को मृत्यु, ९ सय ९२ संक्रमित

विक्रम खड्का |
चैत ११, २०७८ शुक्रबार १२:२६ बजे

बुटवल– रुपन्देहीमा मात्रै पछिल्लो ८ महिनामा क्षयरोगबाट २८ जनाको मृत्यु भएको छ। ये अवधिमा ९ सय ९२ जना नयाँ क्षयरोग संक्रमित भेटिएका छन् । 
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकल प्रसन हुमप्रसाद खनालका अनुसार गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला परेका थिए ।

चालु आर्थिक बर्षको ८ महिनामा ९ सय ९२ नयाँ रोगी भेटिएका हुन् । उनीहरू मध्ये ६ सय ७ जना पुरुष, ३ सय ८५ जना महिला र ५१ जना बालबालिका रहेको उनले बताए।
खनालका अनुसार जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरमा २ सय ३४ जना क्षयरोगी रहेको बताए । त्यस्तै तिलोत्तमा नगरपालिकामा १ सय ३७ सिद्धार्थनगर नगरपालिकामा ९०, देवदहमा ९३, सैनामैनामा ६५ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८७ जना क्षयरोगका बिरामी फेला परेको वताए ।
यस्तै ओमसतिया गाउँपालिकामा ३५, रोहिणी गाउँपालिकामा ३८, कन्चनमा ४१, गैडहवामा ३१, शुद्धोधनमा २५, सियारीमा ३२, मायादेवीमा ४८, सम्मरीमाईमा ३८, मर्चबारीमा २३ र सबै भन्दा कम बिरामी कोटहीमाई गाउँपालिकामा १७ जना फेला परेका छन् ।


क्षयरोगको उपचारको लागि रुपन्देहीमा ९२ वटा डट्स सेन्टर, १४ वटा शहरी डट्स केन्द्र, यस्तै रोग पहिचानका लागि ३२ वटा माईक्रोस्पिक केन्द्र, २ वटा जेनएक्सपर्ट केन्द्र रहेको बताए । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले सीमापारीबाट क्षयरोगका बिरामीहरू उपचारका लागि नेपाली स्वास्थ्य चौकीमा नेपालकै ठेगाना लेखाउने र नियमित औषधी समेत सेवन नगर्दा नियन्त्रणमा कठिनाई भएको बताए । 

उनले समाजमा क्षयरोगबारे जनचेतनामा कमीकोे कारण बिरामीहरु खुलेर जाँचका लागि नआएको बताए । क्षयरोग पहिचानको लागि किड्स भन्ने सेवा प्रदायक संस्थामार्फत रुपन्देहीका १६ वटै पालिकामा पहिचान केन्द्र राखिएको संस्थाले जाँच गरेको मात्र तथ्यांक सार्वजनिक भएको कारण जिल्लामा क्षयरोगीको संख्या अझै बढ्न सक्ने ढकालको भनाइ छ ।

नेपाल सरकारले २०३५ सालसम्ममा प्रति १ लाख जनसंख्यामा १ जना वा सो भन्दा कममा क्षयरोग देखिने र २०५० सम्ममा नेपालबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य राखेको छ । नेपालमा मृत्युको १० प्रमुख कारक मध्ये क्षयरोग सातौंमा रहेको छ ।
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x