लुम्बिनी

पानीको मुहान खोज्दै मन्त्री नै जंगल पसेपछि...

विक्रम खड्का |
फागुन ६, २०७८ शुक्रबार १८:४८ बजे

बुटवल– लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी शुक्रबार बिहानै रुपन्देहीको देवदहस्थित खानेपानी आयोजनाको मुहान खोज्न निस्किए । 

उपभोक्ता र स्थानीयले आफूहरुको खानेपानीको मुहान बाढीले बगाईदिएको भन्दै बजेट माग गर्दै आएका थिए । धेरै जनाको गुनासो र माग आएपछि मन्त्री चौधरी आफै सो खानेपानीको मुहान र उपभोक्ताहरुको अवस्था बुझ्न निस्किएका हुन्।


हरेक दिन ‘मर्निङ वाक’ निस्किने मन्त्रीले शुक्रबार त्यसो गरेनन् । आफ्ना सहयोगि लिएर उनि पुर्व तर्फ हानिए । जिल्लाको देवदह नगरपालिकाका मेयर उपमेयरसहितका केही स्थानीयको सामान्य स्वागतपछि उनी उकालो लागे। देवदहकै दाउन्नेसम्म पुगेपछि मन्त्री चौधरीलाई गाडीबाट झर्न भनियो । त्यसपछि  खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई अघि लगाएर मन्त्रीसहितको टोली जंगल पस्यो । 

घाँस, दाउरा गर्न जंगलमा पुगेकाहरु पनि अनुगमन आएछ कि भनेर झस्किए । तर दाँयावाँया नगरी टोली निरन्तर उकालो लागिरहयो । बाटो नभएकाले जंगलका स्याउला र काँडाहरु पन्छ्याउदै मन्त्री झण्डै १ घण्टा उकालो चढे । शुरुमा त आफु दैनिक हिड्ने गरेकोले नथाक्ने बताएका मन्त्री चौधरी १ घण्टापछि भने थाकेको देखिन्थे । तर, उनले थाकेको बताएनन् । 

टोलीमै सहभागी उपमेयर विद्यालक्ष्मी गुरुङ थाकियो भन्दै सुस्केरा हालिरहेकी थिइृन् । पानीको मुहान खोज्न हिँडेको टोलीसँग पिउने पानी हुने कुरै भएन । करिव डेढ घण्टापछि भने मुहान भेटियो। तर मुहानको संरचना केही समयअघि आएको बाढीले क्षतविक्षत बनाएको थियो। देवदहका हजारौं उपभोक्ताहरूले पिउने पानीको मुहान व्यवस्थित गर्ने वचन मन्त्री चौधरीले निरीक्षण पछि बताए । 

प्रदेश सरकारका मन्त्री चौधरीसहितको टोली सो स्थानमा पुगेर मुहान तत्काल मर्मतका लागि बजेटको प्रवन्ध गर्ने बताएपछि स्थानीयलाई राहत मिलेको छ ।

देवदह नगरपालिकाका मेयर हिराबहादुर केसी, उपमेयर विद्यालक्ष्मी गुरुङ, उपभोक्ता समितिका पदाधिकारीहरु, राजनितिक दलका कार्यकर्ताहरुका साथै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख गुणनिधि पोख्रेल समेतको टोली निरीक्षणमा पुगेको थियो ।

सो अवसरमा मन्त्री चौधरीले पहाडको फेदीमा रहेको मुलको पानी उपभोक्ताहरुलाई वितरण गर्न सक्नु निकै महत्वपूर्ण रहेको भन्दै मुहान संरक्षणदेखि खानेपानी प्रवन्धका लागि सरकार कटिवद्ध रहेको बताए। दिनप्रतिदिन पानीका मुहानहरु सुकिरहेको बेला पहाडको फेदीमा रहेको मुलको पानी पाउनु देवदह क्षेत्रका बासिन्दा भाग्यमानी रहेको मन्त्री चौधरीले बताए । अब बाढीले समेत बिगार्न नसक्ने गरि मुहान मर्मतको काम अघि बढाउनका लागि आफूले पहल गर्ने उनको भनाइ थियो । 

नगरपालिकाका मेयर हिराबहादुर केसीले खानेपानीका क्षेत्रमा देवदहकै सबैभन्दा ठूलो आयोजना देवदह खानेपानी रहेको भन्दै यसको मुहान संरक्षण तथा मर्मतका लागि प्रदेश सरकारले काम गरिदिनु पर्ने बताए। उनले पानी वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले सहजीकरण गर्दै आएको बताए। 

खानेपानी कार्यालयका प्रमुख गुणनिधि खनालले सरकारले बनाएको अहिलेको वजेटमा यो योजना नभए पनि नागरिकहरुको पिउने पानी बाढीले बिगारेको विषयमा मन्त्री र मन्त्रालय संवेदनशील भएर आफै स्थलगत निरीक्षणमा आएको भन्दै सबैको सहयोगमा मुहानको संरक्षणको काम गर्नुपर्ने बताए।

 

 


 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x