लुम्बिनी

तिलोत्तमाका सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन

इकागज |
असोज २२, २०८० सोमबार १९:९ बजे

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन सुरु गरेको छ । नगरपालिकाले नगरपालिका प्रवेशद्वार रहेको शंखपुर चोकदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीका लागि सोमबारदेखि निःशुल्क अटो सञ्चालनमा ल्याएको हो ।

तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटरभित्र भएकाले सेवाग्राही नगरपालिकामा सेवा लिन आउँदा साधन खोजेर वा रिक्सामा पैसा तिरेर आउनुपर्ने बाध्यता हटाउन अटो रिक्सा सञ्चालन गरिएको नगरप्रमुख रामकृष्ण खाँणले बताए ।


उक्त रुटमा महिला चालकले रिक्सा चलाई सेवाग्राहीलाई पालिकासम्म पुर्‍याउनेछिन् । महिला पनि अवसर पाए जुनसुकै काम गर्न सक्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको उनले बताए । तत्कालका लागि एउटा मात्रै अटो सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार अटोको संख्या बढाउँदै लगिने नगर उनले बताए ।


Author

थप समाचार
x