गण्डकी

केन्‍द्रकै वरिपरि प्रदेशको राजनीति

अनिष भट्टराई |
फागुन २५, २०७७ मंगलबार १४:१४ बजे

पोखरा : संविधानले परिकल्पना गरेअनुरूप प्रदेशहरूले कामै गर्न सकिरहेका छैनन् । प्रदेश जहिले पनि केन्द्रकै राजनीतिसँग जेलिरह्यो । सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरण वैध नभएको फैसला गरेपछि उत्पन्न परिस्थितिमा केन्द्रको राजनीतिले प्रदेशहरूमा पनि असर देखिँदैछ । 

गण्डकी प्रदेशमा पूर्वएमालेबाट चुनाव लडेर जितेका इन्द्रलाल सापकोटा नेकपाको चुलिँदो विवादसँगै दाहाल–नेपाल समूहमा लागेका थिए । अब उनी कि त पूर्वएमालेमै लाग्नुपर्नेछ या आफ्नो सांसद पदलाई तिलाञ्जली दिनुपर्नेछ । जुन दलबाट जितेको हो, त्यसलाई छोड्दा पद पनि गुम्ने कानुनी व्यवस्था छ । 


गण्डकी प्रदेशमा पूर्वएमालेबाट २७ जना निर्वाचित हुँदा पूर्वमाओवादीबाट १२ सांसद निर्वाचित भएका थिए । कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादीका २ र १ स्वतन्त्र सांसद प्रदेश सभामा छन् । 

पूर्वएमालेबाट विजयी ईन्द्रलाल सापकोटा र स्वतन्त्र सांसद दीपक मनाङेलाई आफूसँगै राख्न सके साविक माओवादीले समर्थन फिर्ता गरे पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाउँछ । पूर्वमाओवादीसँगै राजमोबाट पनि गुरुङ सरकारले विश्वासको मत पाएको थियो । माआवादीबाट हरिबहादुर चुमान र लेखबहादुर थापा गुरुङ सरकारमा मन्त्री छन् । अहिलेको अवस्थामा आफू पार्टी एकीकरणकै पक्षमा रहेको सापकोटा बताउँछन् । सांसद पदको आयु लामो नभए पनि पार्टीको आयु लम्बाइनुपर्ने उनको टिप्पणी छ । ‘सांसद पद कहिलेसम्म रहन्छ भन्ने थाहा छैन, अजम्बरी भनेर ल्याएको होइन, म अहिले एकताको पक्षमा छु,’ उनले भने । 

केन्द्रको निर्णय अनुसार अघि बढ्ने माओवादीको योजना, स्वतन्त्र सांसद मनाङेको साथ अहिलेकै सरकारलाई 

दाहाल–नेपाल समूहतिर पनि अब आफू नलाग्ने उनले बताए । पार्टी जोगाइराख्न नाम भन्दा पनि नेताहरूको पहलकदमी अहिले आवश्यकता बनेको सापकोटाको भनाइ छ । ‘अब नेताहरूले बुद्धि पुर्‍याउनुपर्छ, ओली र प्रचण्डले पार्टी जन्माए अहिले फुट्दा उनीहरू नै खुसी देखिन्छन्,’ भन्छन्, ‘सन्तान जन्माएर बाटोमै फाल्नेको पछि किन लाग्ने, बच्चा हुर्काउनेसँग लाग्नुपर्छ ।’ 

पार्टी एकीकरण गरे पनि केपी ओली र पुष्पकमल दाहालले एकीकरणको माया नगर्दा अहिलेको अवस्था सिर्जना भएको उनको टिप्पणी छ । नेकपा एमाले भनेर आफूहरू सक्रिय भइहालेको अवस्थामा पनि अब देश परिवर्तन गर्न सक्ने खुबी हराइसकेको उनको विश्लेषण छ । 

ओली र दाहालले नै एकीकरणको सरप्राइज दिएको, उनीहरूकै पहलमा नेकपा नाम राखिएको र उनीहरूकै कारण पार्टी फुटको संघारमा आएको सापकोटा बताउँछन् । ‘हामी अग्रगामीतिर जाने हो, पश्चगामीतिर होइन, नेताहरूको बुद्धि छ भने कम्युनिस्ट आन्दोलनको इज्जत बचाउनुपर्छ,’ उनले भने । 

सर्वोच्च अदालतले दिएको फैसला मागभन्दा पर गएर दिइएको र जन्मिएको नेकपा नै मारिदिएको उनको तर्क छ । एमाले र माओवादी एकएकतिर जा भनेर अदालतले भन्न नमिल्ने भए पनि अदालतको निर्णयमाथि आफूले प्रश्न नगर्ने उनले बताए । 

नेकपा एमाले संसदीय दल गण्डकीका प्रमुख सचेतक मायानाथ अधिकारी भने इन्द्रलाल सापकोटा सूर्य चिह्नबाट विजयी सांसद भएकाले आफूहरू तिर नै आउनुपर्ने बताउँछन् । अर्को समूहमा नलाग्नु र आफूहरूकै समूहको बैठकमा आउनुपर्ने अधिकारीले बताए । ‘उहाँ हामीतिर नै आउनुपर्छ नत्र संसदीय दलको नियमावली अनुसार कारबाही भोग्न तयार हुनुपर्छ,’ उनले भने । 

अहिलेको सरकारलाई साथ रहन्नँः पूर्वमाओवादी उपनेता 
पूर्वमाओवादीको संसदीय दलका उपनेता रामजी बराल अहिलेको सरकारलाई साथ दिन नसकिने बताउँछन् । आफूहरूलाई अहिले सरकारमा राखेर प्रतिपक्षको व्यवहार गरिएकाले साथ नरहने उनको भनाइ छ । ‘नियुक्तिको कुरा होस् वा ठूला निर्णयको हामीलाई त प्रतिपक्षी जस्तो बनाइएको छ, हाम्रा साथीहरू ब्याक हुनुहुन्छ,’ उनले भने । 

दाहाल–नेपाल समूहले केन्द्रमा समर्थन फिर्ता गरे आफूहरूले पनि यहाँ समर्थन फिर्ता लिने उनको भनाइ छ । माओवादी नेता जनार्दन शर्माले भने केन्द्रमा आफूहरूको समर्थन फिर्ता लिने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्ति पार्टीको औपचारिक निर्णय नभएको र जुनसुकै निर्णय दलले लिए पनि आफूहरूले प्रदेशमा अपनाउने उनले सुनाए । 

स्वतन्त्र सांसद भन्छन्ः सरकार बचाउनुपरे भोट दिन्छु 
स्वतन्त्र चुनाव लडेर निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) आफू एकीकरण र स्थायित्वको पक्षमा रहेको बताउँछन् । आफू नेकपा एमाले वा नेकपा माओवादी केन्द्र दुवैको सांसद नभएको तर विश्वासको मत दिनुपरेको अवस्थामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिने उनले बताए । ‘म कुनै पार्टीको होइन, यिनीहरूबाट मैले केही लिएको नि छैन, एमाले माओवादी कतै जान्नँ, पर्‍या बेला मुख्यमन्त्री गुरुङलाई साथ दिन्छु,’ उनले भने । आफूले पहिला मुख्यमन्त्री गुरुङलाई दिएको वचन राख्न भए पनि उनलाई सहयोग गर्ने मनाङेले बताए । 

तर गण्डकी प्रदेश सरकारको ‘स्ट्यान्डर्ड’ घटिरहेको मनाङेको टिप्पणी छ । प्रदेश सरकारमा ४ जना कामै नगर्नेहरू नै मन्त्री पद ओगटेर बसेको उनले बताए । मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीबाहेक अरुले केही काम गर्न नसकेको उनको भनाइ छ । ‘अरु ४ लाई हटाउनु भनेर मुख्यमन्त्रीलाई पनि भनेको थिएँ, ५ पैसाको काम छैन उनीहरूको त, सब मिलेर लुट्न बसेका रैछन् के,’ उनले भने । 

अहिले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालका कारण कम्युनिस्टको ‘बेइज्जत’ भएको उनको भनाइ छ । विश्वमै कम्युनिस्ट आन्दोलन सिकाउँछौं भन्नेहरूले नै कम्युनिस्टको रूप नदेखाएको उनको भनाइ छ । अब जनताले कम्युनिस्टलाई भोट दिन नहुने उनको तर्क थियो । ‘कम्युनिस्टले आफ्नो भोट छाडेर डेमोक्र्याटलाई लगेर रुल गर भनेर छाडेर हुन्छ ? अब जनताले भोट नदिए हुन्छ,’ उनले भने । 

जनताले चोरलाई चाबी दिए पनि सम्पत्तिको रक्षा हुन नसकेको मनाङेले कटाक्ष गरे । ‘झन् चोरलाई पाले बनाउँदा बच्ला भन्या, डाँकु बने । डाँकुलाई कसरी रोक्ने ?’ उनी भन्छन् ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x